सभामुखदेखि पूर्वमन्त्रीसम्म कारबाहीमा
काठमाडौं : अपराध अनुसन्धानमा ०७६ प्रहरीका लागि प्रभावकारी बन्यो । बहालवाला सभामुखदेखि पूर्वमन्त्रीसम्मलाई प्रहरीले कारबाहीको दायरामा ल्यायो। असोजमा संसद् सचिवालयकै कर्मचारीले आफूलाई सभामुख कृष्णबहादुर महराले बलात्कार गरेको आरोप र जाहेरीसँगै प्रहरीले महरालाई पक्राउ गर्यो ।
जिल्ला अदालत काठमाडौंमा महराविरुद्ध जबर्जस्ती करणीमा मुद्दा चल्यो । पुर्पक्षमा महरा जेल चलान पनि भए । तर, पीडितले पछि बयान फेरेपछि तात्कालिक प्रमाणका आधारमा महरा दोषी सावित नभएपछि जिल्लाले महरालाई निर्दोष सावित गर्दै सफाइ दियो । यो प्रकरणले नेकपाको छविलाई केही धमिल तुल्यायो । स्वयं महराको समेत राजनीतिक छवि उकास्न सकस बन्यो ।
महरा केस सेलाउँदै थियो । अर्को ठूलो काण्ड प्रहरीसामु आइलाग्यो । पूर्वमन्त्री एवं सांसद मोहम्मद अफताव आलमको फाइल खुल्यो । ०६४ चैत २७ गते राति रौतहटको राजापुरमा इँटाभट्टामा दुई जनालाई जिउँदै जलाएको घटनामा आलम जोगिँदै आएका थिए । सरकार, राजनीतिक दल र स्थानीय रूपमा समेत राम्रो पकड जमाउँदै आएका आलमलाई पक्राउ गर्नु त्यति सहज थिएन । निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको जोडबलमा आलमलाई पक्राउ गरियो । उनी अहिले पुर्पक्षका लागि जेलमा छन् ।
नेपालमा पर्यटक भिसामा बसेर वित्तीय ठगी गर्दै आएका ठूलो संख्यामा चिनियाँ नागरिक पनि ०७६ मै पक्राउ परे । पुसमा प्रहरीले स्वीप अपरेसन चलाएरै चीनकै वित्तीय लगानीमा असर पर्ने गरी ठगी गर्दै आएका १ सय २२ जना चिनियाँ नागरिकलाई प्रहरीले घर रेड नै गरेर नियन्त्रणमा लिन सफल भयो । पक्राउ परेकाले नेपालमा कुनै कसुर गरेको फेला नपरेपछि सरकारले सबैलाई चीनमै डिपोट गरिदियो । विदेशीविरुद्ध यो घटना अहिलेसम्मकै ठूलो अपरेसनमा गणना भयो।
चिनियाँ नागरिक संलग्न अर्को अपराधको पनि पर्दाफास भयो । ०७६ साउनमा ४ किलो र मंसिरमा ८ किलो सुनसहित ४ चिनियाँ नागरिक पक्राउ गर्न प्रहरी सफल भयो । कृषि बैंकको सर्वर ह्याक गरेर ५ अर्ब ठगी गर्न लागेका चिनियाँ गिरोहलाई पनि प्रहरी पक्राउ गर्न सफल भयो । पिटर जोन नामका व्यक्तिले नेपालमा चिनियाँ, फ्रान्सेली र नेपाली नागरिकलाई परिचालन गरेर ठूलै रकम हत्याउने योजना प्रहरीले विफल बनायो ।
चिनियाँकै अर्को गिरोहले एटीएमबाट पैसा चोरेर भाग्न लागेको अवस्थामा प्रहरीले १ करोड ६७ लाख रुपैयाँ बराबरको रकमसहित पक्राउ गर्यो । प्रहरीले नेपालमा चिनियाँ ह्याकरदेखि आपराधिक गिरोह सक्रिय रहेको घटना पनि पर्दाफास गरेको थियो । ०७६ विशेषगरी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा समूहतर्फ प्रहरीको अपरेसन बढी लक्षित देखियो ।
चन्दा आतंकदेखि बम विस्फोट गराएर ज्यान लिनेसम्मका घटनामा संलग्न विप्लव समूहलाई पक्राउ गर्न प्रहरीलाई प्रधानमन्त्री ओलीदेखि गृहमन्त्री रामबहादुर थापाको स्पष्ट निर्देशन थियो । प्रहरी प्रधान कार्यालयका अनुसार ०७५ फागुनमा ललितपुरस्थित एनसेलको मुख्य कार्यालयमा बम विस्फोट गराएको घटनाका अधिकांश अभियुक्त ०७६ मा पक्राउ परे । विप्लव समूहको मध्य क्षेत्रीय कमान्ड इन्चार्ज सुदर्शन भन्ने हेमन्त प्रकाश ओली वर्षको सुरुवात वैशाख १० गते पक्राउ परे । उनीसँगै विप्लवका केन्द्रीय नेतादेखि कार्यकर्तासम्म गरी १ हजार ४१ जना पक्राउ परे ।
बीभत्स सामूहिक हत्याको पर्दाफास
पाँचथरको आरुबोटेमा नौ जनाको सामूहिक हत्या अनुसन्धान प्रहरीले सफल तुल्यायो । जेठ ७ गते राति दुई परिवारका नौ जनाको बीभत्स हत्याले गाउँ नै त्रसित बनेपछि केन्द्रबाटै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका तत्कालीन एसपी उमा चतुर्वेदीको कमान्डमा खटिएको टोलीले अनुसन्धानलाई पूर्णता दियो।
स्थानीय मानबहादुर माखिमले पत्नीसँग सम्बन्धविच्छेद गर्नुपरेकै कारण ससुराली र साढुदाइको परिवारका नौ सदस्यको हत्या गरेको रहस्य खुलेको थियो । मानबहादुरले पनि आत्महत्या गरेपछि घटना अनुसन्धान पेचिलो बन्यो । तर, घटनासँग मिल्ने प्रमाण जुटेपछि उनैले हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको थियो ।
गृहमन्त्रीका भाइ गिरफ्तार
सत्तामा रहेका बखत सकेसम्म आसेपासे र आफन्तलाई जोगाउने प्रवृत्ति यसपटक भने केही हदसम्म रोकियो । प्रहरी प्रशासनलाई नै निर्देश गर्ने गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश गिरफ्तार भए । कारण, कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका कैदी समीरमानसिंह बस्न्यातसँगको सम्बन्ध । तत्कालीन प्रहरी नेतृत्व सर्वेन्द्र खनालले गृहमन्त्रीकै भाइ पक्राउ गर्नुपर्ने अवस्था आएपछि थापालाई भेटेका थिए ।
अपराधमा जोसुकै भए पनि नछाड्ने निर्देशन दिएका थापाले भाइ नरेशको गिरफ्तारीमा लालमोहर त लगाए तर प्रहरी नेतृत्वसँग उनको चरम असन्तुष्टि देखा पर्यो । धम्की दिएर चन्दा असुली गर्ने गिरोहसँग नरेशको फोन सम्पर्कदेखि भेटघाटसम्मको रहस्य खुलेपछि उनी अहिले पुर्पक्षमा छन् ।
सुई आतंकको पर्दाफास
युवतीलाई सुई हानेर आतंकित पारेको घटनाले राजधानी आक्रोशित बन्यो । छोरीलाई घरबाहिर पठाउन अभिभावकसमेत डराएका थिए । शृंखलाबद्ध घटना हुन थालेपछि प्रहरीले घटनाको सूक्ष्म विश्लेषण गरेर अनुसन्धान थाल्यो । अनुसन्धानकै क्रममा असार १३ गते सिरिन्ज आक्रमणमा संलग्न रामेछापका सन्तोष कार्की पक्राउ परे । कार्कीले रमाइलोकै लागि आफूले उक्त हर्कत गरेको बयान प्रहरीलाई दिएका थिए ।
पौडेल इन्काउन्टरको प्रश्न अझै अनुत्तरित
असार ५ गते सर्लाही लालबन्दीमा विप्लवका सर्लाही इन्चार्ज कुमार पौडेलको प्रहरी मुठभेडका क्रममा गोली लागेर मृत्यु भयो । तर, विप्लव समूहले भने प्रहरीको यो दाबालाई झुटो दाबी गर्यो । संसद्मा समेत आवाज उठेपछि प्रहरी दाबीमाथि शंका गर्दै मानवअधिकार आयोगले घटनास्थलमा गएर छानबिन गर्दा प्रहरीको दाबी झुटो मान्दै केही प्रहरी अधिकारीमाथि कारबाही गर्न सरकारलाई प्रतिवेदन बुझायो । प्रतिवेदनको कार्यान्वयन भने अझै भएको छैन ।
तुलनात्मक रूपमा अपराध कम
गत आर्थिक वर्षभन्दा यस वर्षको फागुनसम्म तुलनात्मक रूपमा आपराधिक घटना कम भएको देखिन्छ । अपराध अनुसन्धान विभागका अनुसार देशभर प्रहरीमा दर्ता भएका अपराधको संख्या हेर्दा ०७५÷७६ मा ४३ हजार ५१ वटा घटना भएका थिए ।
यो आर्थिक वर्षको फागुनसम्मको तथ्यांकअनुसार ३१ हजार २ सय ८५ वटा मात्रै घटना प्रहरीमा दर्ता भएको देखिन्छ । ज्यानसम्बन्धी घटना, आत्महत्यासम्बन्धी, चोरीसम्बन्धी, संगठित तथा आर्थिकसम्बन्धी, सामाजिक अपराध, महिला बालबालिकासम्बन्धी अपराधमा गत आर्थिक वर्षभन्दा यो वर्ष उल्लेख कमी देखिन्छ ।
निर्मलाको हत्या रहस्यमै
०७५ साउनमा कञ्चनपुर भीमदत्त नगरपालिकाकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानले भने अहिलेसम्म पूर्णता पाउन सकेन । घटनामा संलग्न भएको आशंकामा दिलीपसिंह विष्टलाई पक्राउ गरिए पनि डीएनए नमिलेपछि उनी छुटे । घटना अनुसन्धानमा प्रहरीले १ हजार ५ सयभन्दा बढीको फोनको कल लोकेसन हेरेको थियो । अहिले पनि कैलालीका प्रहरी प्रमुख डिल्लीराज विष्ट बर्खास्तीमा छन् ।
सरकारले छानबिन समिति नै बनायो । समितिले किटानसाथ हत्या आरोपी पत्ता लगाउन सकेन । बरु प्रहरी कर्मचारीमाथि नै कारबाहीको सिफारिस गर्यो । घटनास्थलमा अनुसन्धान गर्न पुगेका डीएसपी अंगुर जीसीसहित केही प्रहरी कर्मचारीलाइ निलम्बन गरियो । तर, अनुसन्धानले पूर्णता पाएको छैन । प्रहरी अझै निर्मलाको हत्या कसले गर्यो भन्नेमा अनुत्तरित छ ।
अपराध अनुसन्धानमा प्रहरी अब्बल
केन्द्रीय प्रहरी प्रवक्ता, एसएसपी उमेशराज जोशी
एकाध घटनालाई छाडेर समष्टिगत रूपमा हेर्ने हो भने यो ०७६ अपराध अनुसन्धान र आपराधिक घटना न्यूनीकरणमा प्रहरीको अहं भूमिका रह्यो । प्रहरीले ठूला घटना, हाइप्रोफाइलमा संलग्न अपराधका घटनाको अनुसन्धानसँगै अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउन सफल भएको छ । खासगरी प्रहरीको समुदाय साझेदारी कार्यक्रमले पनि अपराध अनुसन्धान र प्रहरीको कारबाही प्रक्रियालाई धेरै मलजल गरेको छ । सोसल मिडियाले पनि अहिले लुकेका अपराधबाहिर खुल्न थालेका छन् ।
सीमित स्रोत साधनका बाबजुत पनि प्रहरीले आफूलाई अब्बल राखेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई सुरक्षा निकायले विवादरहित ढंगले सफल बनायो । यसले नेपाल प्रहरीसँगै सुरक्षा निकायको छविलाई उच्च बनाएकै हो । अहिले ठगीका अपराध बढ्न थालेका छन् । त्यसलाई पनि हामीले कसरी नियन्त्रणमा ल्याउने भनेर कार्यविधि बनाउँदै छौं ।