पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराउने तीन थुनामा, एक रिहा
भक्तपुर : पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराइएको आरोपमा पक्राउ परेका तीनजनालाई पुर्पक्षका थुनामा पठाइएको छ। एकजना भने घटनामा संलग्न नदेखिएको भन्दै तारेखमा छुटेका छन्।
महानगरीय प्रहरी वृत्त ठिमीका अनुसार गएको चैत ३० गते भक्तपुर जिल्ला अदालतले उनीहरुलाई काठमाडौंको डिल्लीबजारस्थित कारागारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
यसरी थुनामा जानेहरुमा कैलालीको टीकापुर नपा २ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ३१ वर्षीय लक्ष्मण सेठ्ठी, कैलालीकै भजनी नपा ४ घर भई हाल चितवन भरतपुर बस्ने ३२ वर्षीय अमृतबहादुर कुमाल र कालीकोट शान्ति त्रिवेणी गापा ८ घर भई काठमाडांै बसुन्धरा बस्ने २७ वर्षीय अभिषेक भन्ने टेकबहादुर विक रहेका छन्।
विस्फोट भएकै दिन भक्तपुर मनहराबाटै पक्राउ परेका लमजुङ घर भई हाल काठमाडौंको जडिबुटी बस्दै आएका नेकपा भक्तपुर जिल्ला सदस्य देव गुरुङ भने तारेखमा रिहा भएका छन्। उनीहरु चारैजना प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले उनीहरुलाई आवश्यक अनुसन्धान कार्य समाप्तपश्चात जिल्ला अदालत भक्तपुरमा पेश गरिएको बताए। जसअनुसार जिल्ला अदालतले पुर्पक्षमा थुनामा राख्न आदेश दिएको उनले जानकारी दिए।
तर घटनामा संलग्न नदेखिएकाले गुरुङ भने तारेखमा रिहा भएको प्रहरी नायब उपरीक्षक कोइरालाले बताए।पूर्वमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा गएको फागुन २८ गते रिमोट कन्ट्रोलमार्फत कुकर बम विस्फोट गराइएको थियो। बम विस्फोटमा पूर्वमन्त्री बाँस्कोटाको बन्दै गरेको घरको पूर्वतर्फको पर्खालमा क्षति पुगेको थियो। त्यस्तै झ्याल ढोकाका सीसा फुटेका थिए। विस्फोटनले पूर्वमन्त्री बाँस्कोटाका छिमेकीहरु कपिलदेव घिमिरे, कुवेर केसी र नृपसिंह खत्रीको घरमा समेत क्षति पु¥याएको थियो। त्यस्तै बाटोमा पार्किङ गरिराखेको बा १९ च ४७८१ नम्बरको भ्यानमा पनि क्षति पुगेको थियो।
प्रहरीले विस्फोटननजिकै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चासमेत बरामद गरेको थियो। जसमा ‘भ्रष्टाचारी गोकुल बाँस्कोटामाथि कारबाही किन ?’ भन्ने शीर्षकमा १० वटा कारण उल्लेख गरिएको थियो।