जसले तरकारी बेचेर चामल किन्न पाएनन्

जसले तरकारी बेचेर चामल किन्न पाएनन्

इटहरी : विदेश जानुभन्दा गाउँठाउँमै केही काम गर्दा दीर्घकालीन फाइदा हुने सोचेर बराहक्षेत्र ९ का नवीन चन्द्रवंशीले श्रीलंका टापुमा खेती थालेका हुन्। एक वर्षदेखि झन्डै चार बिघा जग्गामा खेती गरिरहेका उनले मनग्ये तरकारी फलाएका छन्।

अहिले नै पनि आलु, भिन्डी, टमाटर गरेर दुई लाखभन्दा बढी आम्दानी बारीले दिएको छ। तर लकडाउनका कारण व्यापारी किन्न नआएपछि बारीमै तरकारी कुहिने चिन्ताले उनलाई सताइरहेको छ।

'किन्ने व्यापारी पहिले घरमै आइपुग्थे, अहिले त आउने गाडी नै छैनन् भन्छन्', उनी भन्छन्, 'टमाटर त कति कुहियो कुहियो, अरु तरकारी पनि कुहिएर जाने अवस्थामा छ।'

व्यापारीलाई बेच्नबाहेक उनी आफैंले पनि फत्तेपुर र रामपुर बजारमा लाने गर्थे। तर अटो, रिक्सालगायतका साधन नै नचलेपछि बजारमा लान नसकिएको उनको गुनासो छ। मलको अभावमा काँक्रा, बोडीको बिउ ल्याएर पनि रोप्न नपाएको गुनासो गर्दै उनी भन्छन्, 'संकटको बेलामा कृषि उत्पादनलाई चाहिँ बढाउने योजना ल्याए हुन्थ्यो।'

तरकारी छ, नुन, तेल, चामल छैन
रुख, बुट्यान र काँसघारीले भरिएको नदी किनारको श्रीलंका टापुमा झन्डै चार हजार परिवार बसोबास गर्छन्। ८० प्रतिशतको मुख्य पेशा खेती र पशुपालन हो। तर टप्पुमा अहिले तरकारी फालाफाल भए पनि दाल, चामल, नुन, तेलको भने अभाव छ।

बारीमा तरकारी कुहिएर जाँदा नुन, तेलको जोहो गर्न समस्या भएको स्थानीय सन्तोषकुमार चन्द्रवंशीको गुनासो छ। टप्पुमा केही दर्जन साना किराना पसल छन्। भएका पसलमा पनि खाद्यान्न सकिँदै गएको छ। उनी भन्छन्, 'या त राहत दिनुपर्यो, या त तरकारी बेच्ने र अरु सामान किनेर खाने वातावरण बनाइदिनुपर्यो।'

डुंगा बन्द, पौडेर वारपार, आफ्नै वडामा जान पनि छिमेकी नगरपालिकाको बाटो
कोशीले घेरिएको श्रीलंका टापुबाट पहिले डुंगा पनि चल्थ्यो। तर अहिले लकडाउनका कारण तीन वडा डुंगाले मानिस ओसारेका छैनन्। आफ्नै सानो डुंगा हुनेहरु र पौडन सक्नेहरु मात्र कोशी वारपार गरिरहेको त्यहाँका हेल्थ असिस्टेन्ट पाण्डव चन्द्रवंशी बताउँछन्।

डुंगा नचल्दा बराहक्षेत्र नगरपालिका वार्ड नम्वर ७ र ९ का जनप्रतिनिधिलाई पनि आफ्नै वडा पुग्न छिमेकी जिल्लाको बेलका नगरपालिका हुँदै जानुपर्ने बाध्यता छ। राहतका लागि तथ्यांक संकलन गर्न बराहक्षेत्र नगरपालिका वडा नं. ९ का जनप्रतिनिधि शुक्रबार बेलका नगरपालिका हुँदै आफ्नो वडामा पुगेका थिए।

बेलका नगरपालिकाको २ र ३ को केही भाग श्रीलंका टप्पुमा पर्छ। बेलकाबाट मात्रै टप्पु सडक सञ्जालसँग जोडिन्छ।

उदयपुर र सप्तरीका बजारसम्म श्रीलंका टापुको तरकारी बिक्री हुन्थ्यो। लकडाउनका कारण यातायात ठप्प हुँदा त्यहाँका किसान बढी मारमा परेका छन्। श्रीलंका टापुमा क्वारेन्टाइन बनाउने निर्णय प्रदेश सरकारले गरेको थियो। मोरंगको टाँडी र श्रीलंका टापुमा बनाउने भने पनि यातायात र अन्य पूर्वाधारको अवस्था बुझेपछि सरकार पछि हटेको थियो। 'यहाँसम्म आउन बाटो र यातायातका साधनकै त समस्या छ,' हेल्थ असिस्टेन्ट पाण्डव भन्छन्, 'त्यसमाथि बिजुली, पानीको समेत अभाव भएको ठाउँमा कसरी बन्ला र क्वारेन्टाइन? '

चामल खोज्दै नगरपालिका
लकडाउनको दुई साता बितिसक्दा पनि श्रीलंका टापुको तथ्यांक संकलन गर्नसमेत वडा र नगरपालिकाले सकेको छैन। शुक्रबार वास्तविक स्थिति बुझ्न र तथ्यांक संकलन गर्न नगरपालिकाको टोली त्यहाँ पुगेको थियो। तथ्यांक संकलन गरिएका ठाउँमा पनि राहत वितरणमा ढिलाइ भइरहेको छ। कृषिको राजधानी भएर पनि बराहक्षेत्रमा चामलको अभावका कारण केही ढिलाइ भएको बताइएको छ।

विपन्नलाई वितरण गर्नका लागि चामल खोजे पनि नगरका राइस मिलमा आवश्यक परिमाणमा चामल नपाएको सूचना अधिकृत पुकार पोख्रेलले जानकारी दिए। 'यहाँ नपाएपछि सार्वजनिक सूचना पनि निकालेका छौं, साथै वरपरका नगरमा खोज्दैछौं', उनले भने, 'जहाँ जति पायो, त्यती लिँदैछौं।' उनका अनुसार नगरभर पाँच हजार बढी घरधुरीलाई राहत बाँड्ने योजना छ। तीमध्ये पाँचवटा वडामा २५० जनाका दरले अति विपन्नलाई पहिलो चरणमा राहत दिने काम भइरहेको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.