लकडाउन प्रभाव : तरकारीको भाउ अकाशियो
मलंगवा : नेपाल र भारत दुबै देशमा कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरेपछि सीमावर्ती बजारमा तरकारीको भाउ अकाशिएको छ । लकडाउन घोषणापछि भारतबाट तरकारी आउन बन्द भएको छ । भारतबाट तरकारी नआउँदा सर्लाहीका सीमावर्ती बजारहरुमा भाउ अकाशिएको हो ।
उत्तरी क्षेत्रमा बढी तरकारी उत्पादन भए पनि सवारी अवागमन नभएकाले पनि सीमावर्ती क्षेत्रमा तरकारीको भाउ अकाशिएको हो । लकडाउन भएपछि भारतबाट अहिले आलु र प्याज मात्र आयात हुने गरेको छ । हरियो साग सब्जी पूर्णरुपमा बन्द भएकाले बजारमा तरकारीको अभाव भएको व्यापारीले जनाएका छन् । बजारमा तरकारीको अभाव भएकाले चर्को मूल्यमा साग सब्जी किन्नु परेको ग्राहकले गुनासो गरेका छन् ।
बजारमा तरकारी अहिले निकै महंगो भएको मलंगवाका मुकेश यादवले बताएका छन् । '२० रुपैयाँ प्रतिकिलोमा पाउने तरकारी अहिले ६० रुपैयाँ प्रतिकिलो भएको छ । १०० रुपैयाँमा काउली ५ किलो आउँथ्यो। अहिले ६० रुपैयाँ किलो छ । परवल ६० रुपैयाँ प्रतिकिलो थियो । बजारमा अहिले ४० रुपैया पाउ पाइन्छ', उनले भने, 'ताजा साग पाउनै छोड्यो । बोडी १ सय २० रुपैयाँ किलो छ ।'
दोब्बर तेब्बरले तरकारीको भाउ बढेको यादवले गुनासो गरे । उनले भने, 'बजारमा पहिलो जस्तो तरकारी नै हुँदैन । एकदम थोरै मात्रामा हुन्छ । बाध्य भएर मंहगोमा किन्नु पर्छ ।'
सीमावर्ती बजारमा भारतीय तरकारी आउँदा सस्तो हुन्थ्यो । भारतबाट तरकारी आउन छोडेपछि महंगोमा तरकारी किन्नु परेको विष्णु गाउँपालिकाका जगजीत प्रताप पाण्डेले बताए । 'सीमामा घर छ । भारतीय बजार घर भन्दा सय मिटर परको दुरीमा लाग्छ । तर, लकडाउनका कारण किन्न जान सकेका छैनौं । मंहगोमा गाउँमा तरकारी किन्नु परेको छ । आलु प्याज मात्र कति खानु । पहिले भारतबाट तरकारी आउँदा सस्तो हुन्थ्यो । आजभोली लकडाउनले गर्दा तरकारी आउन सकेको छैन् । एकतिर ज्यानको जोगाउन पर्छ । अर्को तिर पेटको सबाल छ । के गर्ने ?', उनले निराश हुँदै भने ।
गाउँघरमा महंगोमा तरकारी किनेर ल्याउँदा महंगोमा बेच्नु परेको एक व्यापारीले बताए । किसानले बढी पैसा लिएर तरकारी बेच्दा बजारमा भाउ बढेको व्यापारीको गुनासो छ ।