कोरोनाबारे अफवाह फैलाउनेको सूची तयार गर्दै रुपन्देही प्रहरी
भैरहवा : विश्वमा फैलिएको महामारी कोरोना भाइरसबाट मुलुकमा संक्रमितको संख्या बढ्दै गएको छ। कोरोना नियन्त्रण गर्न सबै पक्ष लागेको अवस्थामा केही व्यक्तिले संक्रमण सम्बन्धी अफवाह फैलाइरहेका छन्।
सामाजिक संजालमा जातजाति, सामुदाय, वर्ग र धर्म विशेषसँग सम्बन्धित केही व्यक्तिले संक्रमण फैलाएको आरोपसहित लान्छना लगाएर अफवाह फैलाइएको पाइएपछि रुपन्देही प्रहरीले त्यस्ता व्यक्तिको सूची तयार पार्न थालेको छ।
रुपन्देही प्रहरीले एक सूचना जारी गर्दै माहामारीको समयमा समेत सामाजिक मान मर्यादा विपरित गैरकानुनी तरिका समाजिक संजालमार्फत साइबार अपराधजन्य क्रियाकलाप गरेको पाइए कडा कारवाही हुने जनाएको छ।
'सामाजिक संजालमा निगरानी गर्दै अफवाह फैलाउने व्यक्तिको सूची बनाइरहेका छौँ’ 'रुपन्देहीका प्रहरी प्रमुख एसपी हेमकुमार थापाले भने, 'यस्तो समयमा अफवाह फैलाउने जो सुकै भएपनि कारवाही गरेरै छाड्छौँ, छुट हुदैन।'
अफवाह फैलाउने व्यक्तिहरुको निगरानी र पक्राउ गर्नका लागि जिल्लाको क्राइम एक्सन प्लान (क्याप) को टोली सक्रिय छ । रुपन्देही प्रहरीले अफवाह फैलाइएका केही आइडी÷पेज÷ग्रुपलाई अनुसन्धानको घेरामा राखी संचालन गर्ने व्यक्ति, आइपी ठेगानालाई ट्रेस गरेर सम्बन्धित आइडी÷पेज÷ग्रुपबाट गरिएको सम्पूर्ण क्रियाकलापको विवरण माग गर्दै साइबर ब्युरोलाई पत्राचार गरेको बुझिएको छ ।
यदि कसैले समाजिक संजालको स्ट्याटस, कमेन्ट, शेयर, च्याट म्यासेन्जर मार्फत समेत कसैले अफवाह फैलाएर ‘डिलिट’ गरेपनि त्यो पत्ता लाग्छ । अफवाह फैलाइएको व्यक्ति उपर अनुसन्धान भएमा उसले चलाउने आइडी÷पेज÷ग्रुप संचालनमा आएदेखि हालसम्म त्यसबाट के-कस्ता साम्रगी पोस्ट भए, को सगँ कस्तो कुराकानी भयो (डिलिट गरेपनि) लगायत सबै विषय खुल्छ ।
साइबर अपराध गर्नेहरुको मुद्दा जिल्लाबाट चल्दैन । प्रहरीले त्यस्ता व्यक्तिलाई पक्राउ गरी काठमाडौं पठाउने गर्दछ । र, त्यहीबाट आवश्यक कारवाही प्रक्रिया अघि बढ्ने गरेको छ । प्रहरीले सामाजिक दुरी कायम गरी एक आपसमा समन्वय, सद्भाव बढाउँदै लकडाउनको पूर्ण पालना गर्न समेत आग्रह गरेको छ ।