काभ्रेका दुई युवामा कोरोनासँग मिल्ने लक्षण : बुधबार स्वाब परीक्षण हुने
बनेपा : काभ्रेको मण्डनदेउपुर नगरपालिका र बेथान्चोक गाउँपालिकामा एक-एक जनामा र्यापिड टेष्ट परीक्षणमा कोरोनासँग मिल्ने लक्षण भेटिएको छ। नगरपालिका भित्र स्वास्थ्यकर्मीको टोलीले र्यापिड टेष्ट गर्दा कोरोना मिल्ने लक्ष्ण देखिएको हो।
कोरोनाको लक्षण देखिएका युवालाई अहिले धुलिखेल अस्पतालको आइसोलेसनमा वार्डमा पठाइएको मन्डनदेउपुर नगरपालिकाको मेयर टोकबहादुर वाइवाले जानकारी दिए। मण्डन देउपुर नगरपालिमा ३ नयाँगाउँका २३ वर्षीय युवामा मंगलबार भएको परीक्षणमा कोरोना देखिएको हो। उनी चैत्र ७ गते दुबईबाट नेपाल फर्केका हुन्।
बेथान्थोक गाउँपालिका ५ च्याल्टीका २८ वर्षीय अर्का युवामा पनि कोरोनासँग मिल्ने लक्षण देखिएको हो। उनी चैत्र ९ गते भारतबाट नेपाल फर्किएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले जानकारी दिए। उनलाई पनि धुलिखेल अस्पताल पठाउने तयारी भइरहेको अध्यक्ष तिमल्सिनाले बताए ।
आज बेथानचोक र मण्डनदेउपुरमा कोरोनासँग मिल्ने लक्षण देखिएका युवाको स्वाब परीक्षणपछि कोरोना भए नभएको पुष्टि हुने धुलिखेल अस्पतालका डा. सुमन ताम्राकारले जानकारी दिए।
विभिन्न देशबाट आएका मण्डनदेउपुर नगरपालिका भित्र ३८ जना नगरपालिकाको सम्पर्कमा आएका थिए। बेथानचोक गाउँपालिका भित्र विदेशबाट आएका २२ जना गाउँपालिकाको सम्पर्कम आएका थिए।