सीमाबाट जोखिम, कहाँ छन् ५२ हजार ?

सीमाबाट जोखिम, कहाँ छन् ५२ हजार ?

जनकपुरधाम : कोराना भाइरस (कोभिड—१९) का चार जना संक्रमित भेटिएपछि प्रदेश २ मा जोखिमको स्तर उच्च छ। वीरगञ्जको छपकैयास्थित जामे मस्जिदमा लुकेर बसेका भारतबाट नेपाल आएका ३ जना भारतीय मुस्लिम जमाती (धर्म प्रचारक) कोरोना संक्रमित भेटिए। त्यसको भोलिपल्ट नै रौतहटको इशनाथ नगरपालिका—५ मोतीपुरका १९ वर्षीय किशोरमा पनि यो भाइरस रहेको पुष्टी भयो।

१६ दिनअघि दिल्लीबाट फर्किएका ती युवक एक दिन घरमै बसेका थिए। त्यसको भोलिपल्ट स्थानीयले क्वारेन्टाइनमा बस्न दबाब दिएपछि उनी औरैयास्थित विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसे।

उनको परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ। संक्रमित युवाको घरमा आमाबुवा, दुई भाइ, एक बहिनी छन्। उनी अन्य कतिजनाको सम्पर्कमा आए भन्ने यकिन हुन सकेको छैन।

प्रदेश २ मा कोरोना संक्रमणका यी घटनाले सीमाको सुरक्षा व्यवस्थामाथि प्रश्न चिह्न खडा गरेको छ। दिल्लीको नजामुद्दिन मरकजमा तबलिगी जमातमा सहभागी भएका जमातीहरू सीमा नाकामा लगाइएको प्रतिबन्द्वलाई छिचोलेक कसरी नेपाल छिरे भन्ने प्रश्न उठेको छ।

पर्सामा भेटिएका तीनजना जमाती नेपालमा आएर पछिल्लो ९-१० दिनसम्म मस्जिदमा बसेका थिए। उनीहरूसँगै मस्जिदमा २४ जना भारतीय मुस्लिम जमाती बस्दै आएका थिए। घटनापछि छपकैयाको मस्जिद र नजिकैको घुसुकपुर मस्जिदबाट २६ जनालाई नियन्त्रणमा लिइए पनि यिनीहरू नेपालको मस्जिदमा लकडाउनको सबै नियम तोडेर बस्नु नै चुनौतिपूर्ण बनेको छ।

लकडाउनमा प्रदेश २ छिर्नेहरू

४३१ किलोमिटर भन्दा बढी खुल्ला सीमा क्षेत्र रहेको यो प्रदेशमा कहीँकतैबाट प्रहरीलाई झुक्याएर सर्वसाधारणले पस्न पाउने सम्भावना प्रबल छ। पर्सा जिल्लामा १०७ किलोमिटर खुल्ला सीमा क्षेत्र छ। वीरगन्ज, भिस्वा, ठोरी नाकाबाट नेपाल छिर्ने क्रम लकडाउनको बेला पनि रुकेको थिएन्। चैत्र महिना भित्र मात्रै भारतबाट ३३९ जना नेपाली र २९ जना भारतीय जिल्ला छिरेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए। यी २९ जना भारतीयमध्ये नै ३ जना संक्रमित हुन्।

त्यसैगरी रौतहट जिल्लामा लकडाउन सुरु भएदेखि हालसम्ममा ५१ हजार २ सय जना भारत हुँदै नेपाल छिरेका छन्। धनुषामा भने यो संख्या ७३९ रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भक्तबहादुर राई बताउँछन्।

महोत्तरीको नाका भइ ९६ जना मात्रै नेपाल छिरेको तथ्यांक जिल्ला प्रशासन कार्यालयको छ।नेपाल छिरेका सबैलाई हाल क्वारेन्टाइनमा राखिएको सीडीओ सूर्यबहादुर खत्रीले बताए।

बारामा १२५ जना भारतीय नाका हुँदै जिल्ला छिरेका छन् भने सर्लाहीमा यो संख्या ६१ छ। सिरहामा भने लकडाउन अवधिभर कसैलाई पनि नाकाबाट छिर्न नदिइएको र चोरबाटो भएर नेपाल प्रवेश गर्नेको पनि जानकारी नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

हालसम्म सिरहामा ३ जना मात्रै यो अवधिमा भारतबाट नेपाल प्रवेश गरेको जनाइएको छ। सप्तरीमा भने नाकाबाट छिर्नेको कुनै रेकर्ड नरहेको प्रमुख जिल्ला अधिकारी सुनील खनालले बताएका छन््। पालिकाहरूबाट रेकर्ड माग्दा नदिएपछि आफूहरूसँग कुनै तथ्यांक नरहेको खनालले बताए।

५२ हजार भन्दा बढीको संख्यामा भारत र अन्य मुलुकबाट लकडाउन अवधिमा प्रदेश २ छिरे पनि हाल १ हजार २० जना मात्रै क्वारेन्टाइनमा बसेका छन्। प्रदेशभर १६० क्वारेन्टाइनमा ३२८५ बेड क्षमता छ। तर, यसको एक चौथाई पनि क्वारेन्टाइनमा बसेका छैनन्।

३२९ वटा थप चेकपोस्ट

नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी जम्मा ३२९ वटा थप चेकपोस्टहरू नाकामा बनाइए पनि चोरबाटोबाट नेपाल छिर्नेहरूलाई रोक्न सकिएको छैन।

‘सीमाबाट हुनसक्ने जोखिमको आँकलन गर्दै दुवै देशका सुरक्षाकर्मीसँग समन्वय गरी थप निगरानी बढाएका छौं’, प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले भने, ‘सीमा क्षेत्रका गाउँहरूमा ७ सय जति नागरिक निगरानी समिति पनि गठन गरिएको छ।’

स्थानीय स्तरमा जनप्रतिनिधिहरूको संलग्नता र नागरिक समाजको सहभागितामा प्रहरी सम्मिलित निगरानी समितिहरूले नाकाबाट लुकिछिपी गाउँ छिर्नेहरूको जानकारी प्रहरीलाई गराउने छ। गाउँ आएका नयाँ व्यक्तिलाई तत्काल क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बस्ने बन्दोबस्त पनि यो समितिले मिलाउने जनाइएको छ।

पर्याप्त छैनन् परीक्षण

प्रदेश २ मा एकठाउँबाट मात्रै हाल कोरोना संक्रमण परीक्षण कार्य भइरहेको छ। जनकपुरको प्रादेशिक अस्पतालमा सिमित स्रोत साधन र दक्ष जनशक्ति अभावका बीच परीक्षण कार्य भइरहेको छ। तर, यो परीक्षण नत पर्याप्त छ नत पूर्णनै।

प्रदेश सरकारको माग अनुसार वीरगन्जको नारायणी अस्पतालमा पनि पीसीआर मेसिन पठाइएको हो। तर, त्यहाँ हालसम्म परीक्षण कार्य सुरु हुन सकेको छैन। प्रदेशमा गरिने परीक्षणहरू पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमै पठाउनु पर्ने बाध्यता छ।

आठवटै जिल्लामा सञ्चालित ३२८५ बेड क्षमता भएको १६० वटा क्वारेन्टाइनमा बसेका सम्भावित संक्रमितबाट नमुना संकलन गरी ल्याउनु पर्ने हुन्छ। चैत्र २१ गतेबाट प्रादेशिक अस्पताल जनकपुरका भाइरोलोजिस्ट मनमोहन मि श्रको नेतृत्वमा परीक्षण सुरु गरिएको हो। उनीसँगै माइक्रो बायोलोजिस्ट जीतेन्द्र साह र मेडिकल ल्याब टेक्निसियन रोहन पण्डितले परीक्षण गर्ने गर्छन्।

प्रादेशिक अस्पतालमा जडान गरिएको पीसीआर मेसिनबाट एकदिनमा ६ देखि ७ वटासम्म मात्र नमुना परीक्षण भइरहेको छ। ‘सानो क्षमताको मेसिन भएको हुँदा थप संकलित नमुना राष्ट्रिय प्रयोगशालानै पठाउनु पर्ने बाध्यता छ’, प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरे भन्छन्, ‘हामीले ठूलो मेसिन मागेका छौं। खरिद गर्ने प्रयास पनि गरिरहेका छौं।’

सोमबारसम्म प्रदेशभर जम्मा ३७७ स्वाब संकलन गरी परीक्षण गरिएको थियो। तीमध्ये २३५ को नतिजा आउँदा ४ वटा कोरोना पोजेटिभ केस बाहिर आएका हुन्।

अन्य नतिजा सार्वजनिक हुन बाँकी

प्रदेशभर १६० क्वारेन्टाइनमा ३२८५ बेड क्षमता छ। तर, हाल १०२० जना मात्रै क्वारेन्टाइनमा बसिरहेका छन्। संक्रमित मुलुकबाट लुकिछिपी आएकाहरू पनि क्वारेन्टाइनमा बस्न नमान्दा संक्रमणको सम्भावित जोखिम बढाएको छ।

कहाली लाग्दो आइसोलेसन कक्ष

कोरोना संक्रमणका सम्भावित बिरामीलाई राख्न प्रदेश २ मा तयार गरिएका आइसोलेसन वार्डको अवस्था कहाली लाग्दो छ। प्रादेशिक अस्पताल जनकपुरमा १२ शैयाको आइसोलेसन वार्ड बनाइएको छ। तर, यहाँ न्यूनतम उपचार सामग्रीलगायत, झुल, खानेपानी, र व्यवस्थित शौचालय समेत उपलब्ध छैन।

एक बिरामीबाट अर्कोमा संक्रमण नसरोस् त्यसका लागि आइसोलेसन वार्डमा विशेष सर्तकता अपनाउनु पर्ने हो। तर, प्रादेशिक अस्पतालमा भने एउटै कक्षमा सातवडा बेड राखेर बिरामी राख्ने गरिएको छ। चैत ७ गते कतारबाट फर्केका नासिर राईन कोरोना संक्रमण भए-नभएको जाँच गराउन प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए। कोरोना संक्रमणको रिपोर्ट निगेटिभ आएपछि आइसोलेसन वार्डबाट फर्केर आएका राईन भन्छन् त्यहाँ बस्नु सजायझैं भएको थियो। ‘बेडमा झुल, सफा तन्ना, सिरानी केही पनि थिएन’, राईनले भने, ‘कुनै कुराको माग गर्दा चिकित्सले नराम्रो व्यवहार गर्थे।’

प्रदेश २ का आठै जिल्लमा २०८ वटा आइसोलेसन कक्षहरू बनाइएका छन्। जसमा हाल २५ जना उपचाररत छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.