१२ दिनमै क्वारेन्टाइनबाट छाडिएको थियो संक्रमित महिलालाई
टीकापुर : कैलालीको लम्की चुहा नगरपालिका भुरुवाकी ५३ वर्षीया कोरोना संक्रमित महिलाको परिवारलाई १२ दिनमै क्वारेन्टाइनबाट छोडिएको खुलेको छ। चैत्र १७ गते पर्साको वीरगञ्जबाट बसमा आएका संक्रमिति र उनका आफन्तहरु, चैत्र १८ गते दिउँसो मात्रै कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा पुगेका थिए। तर उनीहरुलाई, क्वारेन्टाइन बसेको १२ दिनमै चैत २९ गते नै छाडिएको खुलेको छ। मन्त्रिपरिषदले पारित गरेको कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ मा क्वारेन्टाइनमा कम्तीमा १४ दिन राख्नुपर्ने उल्लेख छ।
लम्की चुहा नगरपालिका र स्वास्थ्य शाखाले, क्वारेन्टाइनमा गरेको लापरवाहीको आलोचना समेत भएको छ। मन्त्रिपरिषदले पारित गरेको मापदण्ड विपरित क्वारेन्टाइनबाट संक्रमित महिलासहित उनको परिवार १७ जनालाई १२ दिनमै क्वारेन्टाइनबाट छोडिएछि त्यो क्षेत्र अझ जोखिममा परेको छ।संक्रमित महिलाका छिमेकी भुरुवाका स्थानीय एक व्यक्तिले पनि उनीहरु, चैतको १८ गते दिउँसो क्वारेन्टाइनमा गएको बताए। ‘चैत्र १८ गते उनीहरु शुरुमा छिमेकमै रहेका आफन्तकोमा आएका थिए, हामीले पटक–पटक आग्रह गरेपछि मात्रै उनीहरुलाई क्वारेन्टाइन लगिएको थियो’ ती छिमेकीले भने। ‘चैत्र २९ गते नै उनीहरुलाई क्वारेन्टाइनबाट छोडेर स्थानीयको जीवनमाथि खेलवाड गरियो।’ कोरोना संक्रमित पुष्टि भएपछि स्थानीयहरु त्रासमा छन्। संक्रमित महिलाका छोरा कृष्णले पनि आफूहरु चैत्र १७ गते वीरगञ्जबाट बसमा आएको र आएर १८ गतेमात्रै क्वारेन्टाइनमा बसेको बताए। उनले भने ‘चैत्र १८ गते क्वारेन्टाइन आएका हौं, २९ गते हामीलाई घर पठाइ दियो।’
लम्की चुहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले भने संक्रमित महिलाको परिवार चैत्र १६ गते वीरगञ्जबाट हिँडेर चैत्र १७ गते क्वारेन्टाइनमा बसेको दाबी गरिन्।
मापदण्डमा क्वारेन्टाइनमा बसेको मितिदेखि कम्तीमा १४ दिनसम्म अलग्गै बस्नुपर्ने व्यवस्था छ। स्वास्थ्य शाखा प्रमुख बिसीको भनाईलाई आधार मान्ने हो भने पनि चैत १७ गतेदेखि २९ गतेसम्म १३ दिनमात्रै हुन आउँछ।
उनको परिवारलाई १२ दिनमै क्वारेन्टाइनबाट छोडेपछि स्थानीयहरुले जनप्रतिनिधिलाई पुनः खबरदारी गरेका थिए। लम्कीचुहा नगरपालिका वडा नं. १ का अध्यक्ष जनकबहादुर बमले पहिलो र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ आएपछि चैत्र २९ गते नै घर पठाइएको स्वीकारे।
संक्रमित महिला क्वारेन्टाइनबाट घर फर्किएपछि कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो। संक्रमित परिवारका १६ जना र ती महिलाको सम्पर्कमा रहेका ३६ जना गरी ५२ जनालाई सोमवारदेखि पुनः क्वारेन्टाइनमा राखिएको छ।