दिल्लीको निजामुद्दीनबाट आएका दुईमा र्यापिड टेस्ट रिपोर्ट पोजिटिभ
राजविराज : भारत दिल्लीको निजामुद्दिनस्थित मरकजमा सहभागी भई घर फर्केका दुई नेपालीको कोरोना परीक्षण गर्दा पोजिटिभ आएको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार राति र्यापिड डाइग्नोस्टिक (द्रुत परिक्षण) किटबाट कोरोना परीक्षण गर्दा खडग नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका दुई जमातीको रिपोर्ट पोजिटिभ आएको हो।
तब्लिगी जमातद्वारा आयोजित निजामुद्दीनस्थित मरकजबाट आएका खडग नगरपालिकाका तीन, सुरुङ्गा नगरपालिका, तिलाठी कोइलाडी, अग्नीसाइर कृष्ण सवरण र बिष्णुपुर गाउँपालिकाका एक÷एक जना गरी सात जनाको मङ्गलबार राति आरडिटीबाट द्रुत परिक्षण गरिएको अस्पतालले जनाएको छ।
परिक्षणका लागि आठ जना आउनु पर्नेमा राजविराज नगरपालिका–१ डुमरीका एक जना जमाती परिक्षणका लागि नआएको सप्तरी प्रहरीले जनाएको छ। परीक्षणका लागि दिनभरी पर्खिएका चिकित्सकले उनीहरु राति अबेला आएपछि राति नै परीक्षण गरेका हुन्। जसमध्ये खडग नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक÷एक जनाको रिपोर्ट पोजिटिभ आएको अस्पतालका सिनियर कन्सल्टेन्ट जनरल फिजिसियन डा. रणजित झाले जानकारी दिए।
उनीहरुले आफूहरु दिल्लीको निजामुद्दीन मरकजमा सहभागी भएर फर्किएको ३२ दिन बितेको भनेपनि स्थानीयले भने चैत ११ गते मात्र उनीहरु फर्किएको बताएका छन्। सप्तरी फर्किएका उनीहरु क्वारेन्टाइनमा नबसी घरमै बसेको स्थानीय प्रशासनले जानकारी पाएपछि अस्पताल आई परीक्षण गराउन भनिएको थियो।
रिपोर्ट पोजिटिभ आएपछि दुई जनालाई राजविराजस्थित अस्पतालमा आइसोलेशनमा राखिएको छ। अस्पतालले सात जनाकै स्वाब परीक्षणका लागि राति नै धरानस्थित बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ। अन्य पाँच जनालाई खडग नगरपालिकास्थित क्वारेन्टाइनमा पठाइएको छ।