गाउँ, सहरबाट टाढाको दैनिकी, गोठालालाई कोरोनाको पीर छैन

गाउँ, सहरबाट टाढाको दैनिकी, गोठालालाई कोरोनाको पीर छैन

बेनी  ः विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरना) भाइरसको त्रास र रोकथामका लागि चैत ११ गतेदेखि गरिएको लकडाउनका कारण सहर–बजार ठप्प छन्।  पहाडी क्षेत्रका कृषकहरु लकडाउनको असहज अवस्थाकाबीच सावधानी अपनाउदै गहुँ, जौ, तोरी, भित्र्याउने, खेतबारीमा मल हाल्ने, सुन्तला, स्याउ, किबीका बगैँचा सरसफाई गर्ने, मकै, सिमी, चैते धान लगाउने गरिरहेका छन्। 

गाँउ र सहरबाट टाढा जंगलमा फिरन्ते शैलीमा भेडाबाख्रा र गाईभैसी पाल्दै आएका गोठालाहरुको दैनिकिमा लकडाउन र कोरोनाको त्रासले कुनै असर गरेको छैन। गोठालाहरुको दैनिकी यथावत छ। 

भेडागोठमै जीवन बित्यो 

५३ वर्षदेखि भेडाबाख्रा पाल्दै आएका रघुगंगा गाउपालिका–२ भगवतीका ६५ वर्षीय जगतबहादुर भण्डारीले छोरा गोपालका साथ भेडा गोठमै बस्छन् । उनिहरुको गोठ अहिले रघुगंगा गाउपालिकाको रुइसे भेडिओडारमा छ । ‘हामीलाई कोरोनाको त्रास र लकडाउनको चिन्ता छैन,’ गोपालले भने ‘गाउँका मान्छेसँग सम्पर्क नहुने भएकाले ढुक्क छौँ । जंगलमा भेडाबाख्रा चराउन रोकिएको छैन ।’ उनीहरुसँग ३५० भन्दा बढी भेडाबाख्रा छन् ।

भेडा बाख्रा चराउने उनीहरु हिउँदमा बेंसीका फाँट गर्मीयाममा हिमालको काखका बुकीमा पुग्छन् । चाडपर्व, झरी, बादल, हिमपात जस्तो अवस्थामा पनि उनीहरु भेडाबाख्राकै साथमा हुन्छन् ।
 
रुइसे, भेडीओढार, दग्नाम, भुजेलगडी, वाखेत, देउराली, भकुण्डे, फलामेडाडा, हम्पाल, धौलागिरि हिमालको फेदीका बुकी हुँदै मुस्ताङ लेतेको सिमानामा पर्ने कालीदह म्म भेडाबाख्रा चराउन लैजान्छन् उनीहरु। 

वरपरका जंगलमा घास सकिएपछि गोठ सार्छन् । भकारी र त्रिपालले छाएको गोठ बनाएर बस्छन् । उनीहरुका लागि घरबाट आफन्तले एक–दुई महिना पुग्ने खाद्यान्न पु¥याइदिन्छन् । भेडाको दूध, मकैको आटो, ढिडो, जंगलमा पाइने च्याउ, निगालाका टुसा, निउरोको तरकारी उनीहरुको भोजन हो । भेडाको ऊनले बुनेको काम्लो ओड्ने र ओछ्याउने गर्छन् । दिनभरको थकानका कारण बिस्तारा अप्ठ्यारो भएपनि सहजै निन्द्रा पर्ने उनहिरु बताउछन्। 

न्यानो बनाउन ठूला मुडा जोडेर कोठमा आगो बाल्छन् । छिटो छिटो सार्नु पर्ने भएकाले गोठ व्वस्थित हुँदैन् । एक ठाउमा दश दिनसम्म बस्छन् । पानी नजिकै भएको फराकिलो ठाउँमा गोठ राखिन्छ । दिनभर चरनमा जाने भेडाबाख्रा साँझ खर्कमा जम्ममा हुन्छन् । आहराको खोजीमा पाँच किलोमिटर टाढाको जंगलसम्म भेडाबाख्रा पुग्छन्। 

कुकुरको सुरक्षा 

भगवतीकै ६३ वर्षीय नन्दबहादुर भण्डारीका परिवारले चार पुस्तादेखि भेडापालन गर्दै आएका छन् । बाजे महावीरले सुरु गरेको भेडापालनलाई नन्दबहादुरका छोरा रामकृष्णले पनि निरन्तरता दिएका छन्। 

उनीहरुका गोठमा ३०० भन्दा बढी भेडाबाख्रा छन् । दुःख भएपनि आम्दानी राम्रो हुने भएकाले पेशालाई निरन्तरता दिएको नन्दबहादुर बताउछन् । कालीगण्डकी भेडापालन स्रोत केन्द्रका अध्यक्ष समेत रहेका उनले चरन क्षेत्रमा घाँसको कमी र वन्यजन्तुको आतंक चुनौति रहेको गुनासो गरे। 

‘भेडाबाख्रालाई जंगली जनावरको आक्रमणबाट जोगाउन सुरक्षाका लागि चारवटा भोटे जातका कुकुर पालेको छु,’ उनले भने ‘दुई वटाले गोठ कुर्छन र दुई वटा जंगलमा भेडासँगै जान्छन्।’ 

बलिया र अग्ला हुने भोटेकुकुर भेडा गोठालाका सुरक्षा सहयोगी हुन् । जंगली जनावर वरपर आएपछि कुकुरले भुकेर संकेत गर्छन् । कुकुरले चितुवा, स्याल र भालुलाई भगाउन सहयोग गर्ने गोठाला धनबहादुर विश्वकर्माले बताए। 

आकर्षक आम्दानी 

परम्परागत भेडा पालनलाई व्यवसायिक बनाएर कृषकले आकर्षक आम्दानी गर्ने गरेका छन्। एक सय वटा भेडा पाल्दा वार्षिक चारदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ । पुजाआजामा प्रयोग हुने एक वर्ष पालेको भेडाको साँढको मूल्य पन्ध्र हजार रुपैयाँसम्म पर्छ ।  

जनैपुर्णिमा, भूमे पुजा, कुल पुजा, दशैतिहार लगायत अन्य चाडपर्वमा ग्राहकहरु भेडा किन्न गोठमै आउने अन्नपूर्ण गाउपालिका–५ पाउद्धारका भेडापालक सुकबहादुर तिलीजाले बताए । तिलीजाले वर्षमा ४० वटासम्म साढँ बिक्री गर्छन्। 

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार शिख, नारच्याङ, दाना, दोवा, भुरुङ तातोपानी, बेग, भगवती, चिमखोला, कुइनेमंगले, मल्कवाङ, पाखापानी, मुदी, लुलाङ, गुर्जामा १९३ जनाले व्यवसायिक रुपमा भेडापालन गरेका छन् । एउटा गोठमा कम्तिमा दुई जनाले रोजगारी पाएका छन्। 

जिल्लाभर बरुवाल र भ्याङलुङ जातका १४ हजार भेडा पालिएको केन्द्रका प्रमुख नारायण कुशुम बताउछन् । कृषकलाई समूहमा संगठित गरी आन्तरिक तथा बाह्य परजीवि विरुद्धका औषधि र उन काट्ने मेसीन लगायतका सामाग्री सहयोग गरिएको उनले बताए ।  व्यवसायिक सिपको अभिवृद्धी गराउने, चरन क्षेत्रमा बहुबर्खे भुई तथा डालेघाँस खेती विस्तार गर्ने र बजारीकरणमा जोड दिनुपर्ने माग गुर्जाका कृषक रेशम छन्त्यालको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.