सर्लाहीमा ५२ जनाको र्यापिड टेस्ट : सबैको रिपोर्ट निगेटिभ
मलंगवा :भारत तथा तेस्रो मुलुकबाट आएर सर्लाहीका विभिन्न क्वारेन्टाइनमा राखिएका ५२ जनाको र्यापिड टेस्ट गरिएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा रहेका ५२ जनाको र्यापिड टेस्ट गरिएको विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिएका छन् ।
टेस्ट गरिएका सबैजनाको रिपोर्ट निगेटिभ रहेको प्रजिअ जिसीले बताए । ‘चन्द्रनगर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ५० जना र हरिपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका २ जना गरि ५२ जनाको र्यापिड टेस्ट गरिएको छ’, प्रजिअ जिसीले भने, ‘सबैजनाको रिपोर्ट निगेटिभ आएको छ ।’
सोमबार दिउँसो मात्र र्यापिड टेस्ट गर्ने किट जिल्ला ल्याइएको जिसीले बताए । प्राप्त किटबाट सोमबार र मंगलबार हरिपुर नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका दुईजना र चन्द्रनगर गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका ५० जनाको कोरोना संक्रमण टेस्ट गरिएको हो ।
जिल्लाका अन्य क्वारेन्टाइनमा रहेका सबैको क्रमश कोरोना परीक्षण गरिनेछ । सर्लाहीमा भारत तथा तेस्रो मुलुकबाट फर्किएकालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी जिल्लाको २० स्थानीय तहले ३७ स्थानमा तीन सय ८३ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । मलंगवास्थित जिल्ला अस्पतालमा १५ शैयाको आसोलेटेड बेडसमेत तयारी गरि राखिएको प्रजिअले जिसीले बताए ।