द्रुत परीक्षणमा पोजिटिभ भेटिएको क्षेत्र शिल
राजविराज : भारतको दिल्लीस्थित निजामुद्दीनको मरकजबाट फर्किएका दुईजना नेपालीको र्यापिड डाइग्नोस्टिक (द्रुत परीक्षण) परीक्षणमा पोजिटिभ फेला परेपछि उनीहरू बसोबास गरिएको दुई वडा बुधबारदेखि शिल गरिएको छ ।
भारतको दिल्लीबाट फर्केर क्वारेन्टाइनमा नगइ तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठी र खडग नगरपालिका ११ बनौलीस्थित घरमा बसेका उनीहरुको घरसहित सो क्षेत्र शिल गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
तब्लिगी जमातद्वारा आयोजित निजामुद्दीनस्थित मरकजबाट आएका खडग नगरपालिकाका तीन, सुरुङ्गा नगरपालिका, तिलाठी कोइलाडी, अग्नीसाइर कृष्ण सवरण र बिष्णुपुर गाउँपालिकाका एक-एक जना गरी सात जनाको मङ्गलबार राति आरडिटीबाट द्रुत परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजिटिभ आएको थियो ।
दुई जना जमातीको र्यापिड डाइग्नोस्टिक (द्रुत परीक्षण) किटबाट कोरोना परीक्षण गर्दा पोजिटिभ फेला परेपछि जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले उनीहरु बसोबास गरेको घरसहित आसपासको क्षेत्रलाई शिल गर्ने निर्णय गरिएको हो । सो क्षेत्रमा अब मानिसहरु प्रवेश गर्न र घरबाट बाहिरिन नपाउने भएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत आनन्द ठाकुरले अति आवश्यक काम परेमा प्रशासनसँग अनुमति लिएर सुरक्षाकर्मीको सहयोगमा मात्र घरबाहिर निस्कन पाउने बताए ।
रिपोर्ट पोजिटिभ आएका दुई जनालाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेशनमा राखिएको छ । रिपोर्ट नेगेटिभ आएकाहरुलाई निगरानीमा बस्न खडग नगरपालिकास्थित क्वारेन्टाइनमा पठाइएको छ । सुरक्षा समितिको बैठकले सम्भावित संक्रमितको कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने निर्णय भएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका अनुसार एन्टीबडी पोजेटिभ आएकाहरुको पारिवारका सदस्यको पनि बुधबार द्रुत परीक्षण किटबाट कोरोना परीक्षण गरिने छ । निर्णयअनुसार स्वास्थ्यकर्मीको टोली रिपोर्ट पोजिटिभ आएकाहरुको घरमा साँझ पुगेका छन् । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले रिपोर्ट पोजिटिभ आएकाहरुको परिवारका सदस्य र सम्पर्कमा आएकाहरुको पनि र्यापिड डाइग्नोस्टिक (द्रुत परीक्षण) गरिने बताए ।
रिपोर्ट पोजिटिभ आएका तिलाठी कोइलाडीका जमातीलाई मोटरसाइलमा ल्याउने चालक र दिल्लीको निजामुद्दीनबाट आएका राजविराज नगरपालिका–१० बिरौलका एक जमातीसहित आठ जनाको बुधबार गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन डा. रणजित झाले जानकारी दिए । पोजेटिभ र नेगेटिभ रिपोर्ट आएका आठ जना जमातीको स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
सशस्त्र प्रहरी बल ६ नम्बर गणका गणपति उद्धव न्यौपानेले लकडाउन र शिलको नीतिअनुरूप रपिोर्ट पोजिटिभ आएकाहरुको घर र आसपास क्षेत्रको प्रवेशमा रोक लगाएको बताए ।