रुकुमपश्चिमका दुई जनामा कोरोनाको आंशका
सुर्खेत : रुकुमपश्चिमका दुई जनामा कोरोना संक्रमणको आशंका गरिएको छ। केही साताअघि भारतबाट आएका उनीहरुको नमुना थप परीक्षणका लागि काठमाडौं पठाइएको छ। कैलालीको आरटी-पीसीआर प्रयोगशालामा नमुना परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएको हो।
कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता भण्डारीका अनुसार रिपोर्ट शंकास्पद आएपछि थप परीक्षणका लागि केन्द्रिय प्रयोगशाला काठमाडौं पठाइएको छ।
‘आरटी-पीसीआर परीक्षण गर्दा रिपोर्टशंकास्पद देखिएको छ’ सामाजिक विकास मन्त्री दल रावलले भने,‘यही रिपोर्टलाई अन्तिम मान्न सकिन्न, हामीले थप परीक्षणका लागि नमूना केन्द्रीय प्रयोगशालामा काठमाडौं पठाएका छौँ।’
केन्द्रीय प्रयोगशालाको रिपोर्ट आएपछि मात्रै उनीहरुमा कोरोना भए/नभएको पुष्टि हुने सामाजिक विकास मन्त्रालयलको भनाइ छ। शंकास्पद रिपोर्ट देखिएका दुवैजना केही समयअघि भारतबाट फर्केका हुन्।
उनीहरुलाई रुकुमपश्चिमको चौरजहारी सामुदायिक अस्पतालमा रहेको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ। सुर्खेतमा स्थापना भएको प्रयोगशालाको कोरोना परीक्षण गर्ने क्षमता न्यून भएपछि गत सोमबार कर्णालीका ९९ नमुना परीक्षणका लागि कैलालीमा रहेको प्रयोगशालामा पठाइएको थियो।