भक्तपुर छिर्ने सवारीसाधन डिसइन्फेक्सन गरिने

भक्तपुर छिर्ने सवारीसाधन डिसइन्फेक्सन गरिने

भक्तपुर : कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न भक्तपुर प्रवेश गर्ने सवारीसाधन डिसइन्फेक्सन गरिने भएको छ। भक्तपुर प्रवेश गर्ने मुख्य चारवटा नाकाबाट छिर्ने सवारीसाधनको बिहीबारदेखि डिसइन्फेक्सन गरिने भएको हो।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बुधबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो। 

जसअनुसार भक्तपुर प्रवेश गर्ने प्रमुख नाकामा अरनिको राजमार्ग सडकअन्तर्गत काभ्रेको साँगा र काठमाडौंको जडिबुटी नाका, अरनिको राजमार्गकै बैकल्पिक बाटोअन्तर्गत भक्तपुर–च्याम्हासिंह–नाला सडकको काभ्रेकै नाला तथा भक्तपुर–काठमाडौं पुरानो बाटोको पेप्सीकोला नाका भएर भक्तपुर प्रवेश गर्ने सवारीसाधनलाई डिसइन्फेक्सन गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिइन्। उनका अनुसार ती नाकामा सम्बन्धित नगरपालिकाले डिसइन्फेक्सन गर्ने व्यवस्था गर्नेछन्।

बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउनेसमेत निर्णय गरेको उनले बताइन्।

१० हजारलाई पुग्ने फुड बैंक स्थापना
त्यस्तै भक्तपुरमा करिब दस हजारजनालाई पुग्ने खाद्यान्न भण्डार (फुड बैंक) समेत स्थापना गरिने भएको छ। कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले घोषणा गरेको लकडाउन लामो समय जाने सम्भावनालाई ध्यानमा राखेर उक्त फुड बैंक स्थापना गर्न लागिएको हो।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार उक्त फुड बैंकमा यहाँ चारवटै नगरपालिकाहरुले बराबर योगदान दिने भएका छन्।

बुधबार भएको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा उपस्थित यहाँका चारवटै नपाका प्रमुखहरुले उक्त फुड बैंकमा दामासाहीले बराबर योगदान गर्ने वचन दिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन्।

उनका अनुसार जिल्लाको मध्यपुर थिमि नगरपालिका ९ राधेराधेमा खाली रहेको १४ तले भवनमा उक्त फुड बैंक स्थापना गरिनेछ।

‘भक्तपुरका चारवटै नपाले दामासाहीले फुड बैंकमा योगदान गर्ने सहमति गरेका छन्’, प्रजिअ पाण्डेले भनिन्, ‘करिब १० हजार जनालाई पुग्ने उक्त फुड बैंकको व्यवस्थापन तथा सञ्चालन नेपाली सेनाले गर्नेछ।’

फुड बैंक स्थापनाको लागि नेपाली सेनाले उक्त ठाउँमा आवश्यक व्यवस्थापन गरिरहेको छ। हाल नगरपालिकाहरुले वडा तहमा दैनिक ज्याला गरी खानुपर्ने गरिब तथा विपन्न मजदुर परिवारलाई आवश्यक खाद्यान्न राहत वितरण गर्दै आएका छन्।

राहत वितरण वडा कार्यालयमार्फत एकद्वार प्रणालीमा निरन्तरता दिनेसमेत बैठकले निर्णय गरेको छ।

पहिलोपटक चार नगरपालिकाका प्रमुख एकठाउँ
भक्तपुरमा पहिलोपटक यहाँका चारवटा नपाका चार प्रमुख एकठाउँ उभिएका छन्। स्थानीय तहको निर्वाचन भएर करिब तीन वर्ष बित्न लाग्दा पनि यहाँका चार नगर प्रमुख एकठाउँ उपस्थित भएका छैनन्। यहाँका चारनपामध्ये भक्तपुरमा नेमकिपाको तर्फबाट सुनिल प्रजापति प्रमुखमा निर्वाचित भएका थिए। बाँकी तीन नपाहरु चाँगुनारायण, सूर्यविनायक र मध्यपुरमा नेकपाको तर्फबाट क्रमशः सोमप्रसाद मिश्र, वासुदेव थापा र मदनसुन्दर श्रेष्ठ निर्वाचित भएका थिए। त्यस्तै जिल्ला समन्वय समितिका नेकपाको तर्फबाट नवराज गेलाल निर्वाचित भएका थिए।

यसरी नेकपाबाट निर्वाचित तीन प्रमुख एकठाउँ भए पनि नेमकिपाको तर्फबाट निर्वाचित नगर प्रमुख प्रजापति अरु नपाका प्रमुखहरु हुने कार्यक्रममा हत्तपत्ती जाने गर्दैन थिए। जसले गर्दा हालसम्म उनी जिल्ला समन्वय समितिको बैठकमा सहभागी भएको रेकर्ड छैन। त्यस्तै उनी प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने बैठकमा समेत उपस्थित हुने गर्दैन थिए।

तर देशमा कोरोना भाइरसको महामारी नियन्त्रण सम्बन्धमा बुधबार प्रमुख जिल्ला अधिकारी पाण्डेले बोलाएको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा भक्तपुर नगरका प्रमुख प्रजापति उपस्थित भए।

जिल्ला विपद् व्यवस्थापन समितिमा प्रमुख प्रजापतिको उपस्थितिलाई भक्तपुरमा कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा व्यवस्थापनमा उल्लेखनीय उपलब्धि भएको समितिका अन्य सदस्यहरुले बताएका छन्।

‘भक्तपुरका अन्य नपाका प्रमुखहरु उपस्थित भएको बैठकमा भक्तपुर नगर प्रमुख प्रजापतिको उपस्थिति कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापनमा महत्वपूर्ण उपलब्धि हो’, ती सदस्यले भने।

बुधबारको बैठकमा चारवटै नगर प्रमुखहरुको उपस्थिति भक्तपुरमा कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सबै उत्तिकै सचेत, जिम्मेवार र उत्तरदायी छन् भन्ने पुष्टि हुने उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.