दुबईबाट फर्किएका युवाको एन्टिबडी पोजिटिभ
झापा : (आरडीटी) र्यापिड डायग्नोष्टिक टेष्टका क्रममा झापाका एक युवकमा एन्टिबडी पोजिटिभ देखिएको छ। हल्दिबारी गाउँपालिकामा बुधबार भएको आरडीटी परीक्षणका क्रममा २९ वर्षीय युवकमा एन्टिबडी पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिएका छन्।
जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मीको संयुक्त टोलीले गाँपालिकास्थित होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरेको थियो। परिक्षणमा ६१ जनाको परीक्षण गरिएकामा अन्यमा नेगेटिभ रिपोर्ट आएको थियो।
आरडीटी पोजिटिभ देखिएका युवक चैत ५ गते दुबईबाट घर फर्किएको बुझिएको छ। उनमा कोभिड-१९ को लक्षण भने नदेखिएको चम्लागाईले बताए। आरडीटी पोजिटिभ देखिए पनि उनलाई हाल हल्दिबारीस्थित क्वारेन्टाइनमै राखिएको छ। चम्लागाईले भने, 'युवकमा आरडीटी पोजिटिभ देखिए लगत्तै उनका परिवारका ७ जना र उनीसँगै आएका केही साथीहरुको पनि आरडीटी परीक्षण गरिएको थियो। उनीहरुको आरडीटी भने नेगेटिभ देखिएको छ। यद्यपि उनका परिवार र उनका साथीभाई गरी २१ जनाको स्वाब परीक्षणका लागि बुधबार कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको चम्लागाईले जानकारी दिए।
पछिल्ला दिनमा जिल्लाका क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको आरडीटी परीक्षण गर्ने काम तीव्र पारिएको छ। हालसम्म परीक्षण गरिएकामध्ये २ सय ३२ जनाको आरडीटी रिपोर्ट नेगेटिभ देखिएको छ।