काभ्रेका आरडीटी पोजिटिभ आएकाको स्वाब परीक्षणमा नेगेटिभ
काभ्रे : काभ्रेको मण्डनदेउपुर नगरपालिका र बेथान्चोक गाउँपालिकामा एक एक जनामा आरडीटी परीक्षणमा कोरोनासँग मिल्ने लक्षण भेटिए पनि स्वाब परीक्षणमा नेगेटिभ देखिएको छ । धुलिखेल अस्पतालमा बुधबार गरिएको दुई जनाको स्वाब परीक्षण नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले जानकारी दिए ।
मंगलबार उनीहरूको आरडीटी परीक्षणमा पोजिटिभ देखिए पनि धुलिखेल अस्पतालमा स्वाब पीसीआर विधिबाट पुनः परीक्षण गर्दा बुधबार रिपोर्ट नेगेटिभ आएको डा. झाले बताए । दुई जनासँगै सनसीटी अपार्टमेन्टबाट धुलिखेल आएर बसेका एक जनाको स्वाब परीक्षणमासमेत नेगेटिभ रिर्पोट आएको डा झाले जानकारी दिए ।
यसैगरी काभ्रे जिल्लामा विभिन्न देशबाट आएका २ सय ६३ जनाको आरडीटी किटबाट परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको डा झाले जानकारी दिए ।
त्यसैगरी मण्डनदेउपुर नगरपालिकामा विभिन्न देशबाट आएका २३ जनाको आरडीटी किटबाट परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । पाँचखाल नगरपालिका २७ जना, नमोबुद्ध नगरपालिकामा १९ जना, बेथानचोक गाउँपालिकामा २१ जनाको आरडीटी किटबाट परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको सबैभन्दा कम आरडीटी किटबाट परीक्षण गर्दा महाभारतमा ५ जना, चौरीमा ५ जना र खानीखोलामा २ जनाको मात्र परीक्षण हुँदा सबैको रिर्पोट नेगेटिभ आएको छ । काभ्रेको भुम्लु गाउँपालिकामा आरडीटी किटबाट परीक्षण सुरु हुन सकेको छैन ।