सुरक्षाकर्मी, उद्योगी व्यवसायी र नपालाई मास्क सहयोग
भक्तपुर : भक्तपुर उद्योग वाणिज्य संघले यहाँका सुरक्षाकर्मी, उद्योगी व्यवसायी तथा नगरपालिकालाई मेडिकल मास्क सहयोग गरेको छ । संघले महानगरीय प्रहरी वृत्त जगाती र महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरलाई ६००-६०० थान मेडिकल मास्क हस्तान्तरण गरेको हो ।
संघका अध्यक्ष प्रदीप श्रेष्ठले महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रराज जोशी र महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुमन न्यौपानेलाई उक्त मास्क हस्तान्तरण गरेका थिए।
त्यस्तै संघमा आवद्ध नौवटा वस्तुगत संघलाई प्रतिसंघ दुईसय पचास थान मेकिडल मास्क वितरण गरेको छ । संघका अध्यक्ष श्रेष्ठले वस्तुगत संघका सदस्यलाई वितरण गर्न प्रत्येक संघलाई उक्त परिमाणको मास्क वितरण गरिएको जानकारी दिए ।
वस्तुगत संघतर्फ भक्तपुर मुद्रण संघ, भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर जु जु धौ व्यवसायी संघ, भक्तपुर ट्रक व्यवसायी संघ, भक्तपुर इँटा उद्योग व्यवसायी संघ, भक्तपुर खुद्रा व्यवसायी संघ, भक्तपुर औषधि व्यवसायी संघ, भक्तपुर वाटर बोटल व्यवसायी संघ र भक्तपुर कुखुरापालक व्यवसायी संघलाई उक्त मास्क वितरण गरिएको भक्तपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
त्यस्तै संघले भक्तपुरका चारवटा नगरपालिकामध्ये चाँगुनारायण नगरपालिकालाई एक हजार थान मेडिकल मास्क हस्तान्तरण गरेको छ । संघका अध्यक्ष श्रेष्ठले चाँगुनारायण नपाका प्रमुख सोमप्रसाद मिश्रलाई उक्त मास्क प्रदान गरेका हुन् ।
अध्यक्ष श्रेष्ठका अनुसार जिल्लाका सुरक्षाकर्मी, वस्तुगत संघ तथा नगरपालिकालाई मेकिडल मास्क वितरण गर्न त्रिनेत्र बचत तथा ऋण सहकारी संघ र भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी संघले सहयोगस्वरुप उपलब्ध गराएका थिए ।