लकडाउनले रोकिए महाकालीपारि : घरमा आमाको मृत्यु, भारतीय क्वारेन्टाइनमै किरिया

लकडाउनले रोकिए महाकालीपारि : घरमा आमाको मृत्यु, भारतीय क्वारेन्टाइनमै किरिया

दार्चुला : जिल्लाको शैल्यशिखर नगरपालिकास्थित जोगेडाका ३५ वर्षीय बासुदेब भट्ट विगत तीन-चार वर्षदेखि भारत पिथौरागढमा काम गर्थे । घरको आर्थिक अवस्था निकै कमजोर भएको कारण अतिरिक्त आयको लागि ओभरटाइम गर्थे । तर कोरोनाभाइरस प्रकोप सुरुपछि उनको काम अवरुद्ध भयो । 

नेपाल फर्कने क्रममा सिमाना बन्द भएपछि उनी महाकालीपारि बालुवाकोटमा विगत दूई सातादेखि क्वारेन्टाइनमा बसेका थिए । मंगलबार साँझ उनको ६५ वर्षीया आमा गौमती भट्ट घरमा बितेको खबर आयो । यस्तो विपदमा पनि घर जान नपाएपछि उनी शिविरमै किरिया बसे।

पाँच महिनाअघि भारतको पिथौरानगढमा मजदुरी गर्न गएका भट्ट लकडाउनपछि घर फर्कँदा धारचुलाको बलुवाकोटमा रोकिएका थिए । ‘घरका मान्छेका लागि एकसरो कपडा र एक छाक पुर्याउनका लागि भारतको काला पहाड चढियो तर अहिले आमा बित्दा पनि घर पुग्न सकिएन,’ बासुदेब भट्टले भने । 
  

हिन्दु संस्कार अनुसार काजकिरिया जन्मथलो अर्थात दिवंगत हुनु भएकै ठाउँमा १३ दिनसम्म सेतो कपडा ओढेर गर्नु पर्ने भए पनि दार्चुलाका बासुदेव भट्टलाई भने परदेशमा आमाको किरिया गर्नुपरेको छ । आफ्नै जन्मभूमि जाने प्रवेशद्वारमा ताल्चा लागेपछि उनी आमाको दाहसंस्कारमा त उपस्थित हुन पाएन्। काजकिरियाका लागि पनि नेपाल प्रवेशको अनुमति नपाएपछि उनी क्वारेन्टाइनमै किरिया बसेका छन् ।
  
‘सयौं नेपालीसँगै भट्ट पनि धारचुला पुगेका थिए । तीन दिनसम्म आफ्नो देश आउन नाराबाजीसमेत गर्यौं,’ भट्टले दुखेसो गर्दै भने, ‘तर महाकालीमाथिको पुलमा बसेका सुरक्षाकर्मीले गेट खोल्दै खोलेनन् । पाँच दिन भारतीय गौसालामा बास भयो ।’ कालीमा पौडी खेल्न सक्ने हाम फालेर नेपाल आए । तर पौडी खेल्न नसक्ने भट्ट धारचुलाबाट बलुवाकोटको क्वारेन्टाइनमा आएर बस्नु पर्‍यो ।
  
चार दिन अगाडि मात्र आमासँग फोनमा कुरा भएको प्रसङ सुनाउँदै भट्टले भने, ‘सन्चो बिसन्चो बताए पनि मैले आमालाई भारतमै क्वारेन्टाइमा बसेको पीडा सुनाइनँ । आमाले केही बिसन्चो भएको बताउनु भएको थियो । त्यस्तोमा पीडामाथि पीडा थप्यो भने आमालाई अप्ठयारो हुन्छ भनेर मैले कुरा लुकाएँ । आमा मेरै चिन्ताले पनि बित्नु भएको होकी जस्तो लाग्छ ।’ 

परिवारमा रोजगारीका लागि भारत पसेका बासुदेव एक्ला होइन । उनका भाइ लोकेन्द्र भट्ट भारतकै बेंगलोरमा छन् भने अर्का भाइ माधव भट्ट दिल्लीका छन् । भाइ पनि गाउँ पुगेका छैनन् । घरमा एक जना छन् । आमाको मृत्युपछि घर आउँछु भन्दै स्थानीयलाई फोन गरे पनि बासुदेव घर आउन सकेनन् । अन्तत उनी साथीभाइको सहयोगमा क्वारेन्टाइनमा सेतो लूगा लगाएर किरिया बस्न बाध्य छन् । 
 
शैल्य शिखर नगरपालिकाको वडा नम्बर १ का वडाध्यक्ष भरतबहादुर खडायतले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गर्दै मृत्युपछि गरिने कार्यको लागि आवश्यक समन्वय गरिदिन आग्रह गरिएको बताए । उनले बताए अनुसार अहिले बासुदेवका घरमा कान्छो भाई र बृद्ध बुवा छन् । कमाई गर्ने छोराहरु घर नपुगेकोमा वृद्ध वाबु पनि चिन्तित छन् । ‘हामीले सिडियो सापसँग फोन गरेर पहल गर्न आग्रह गरेका छौ । हाम्रो हातबाट हुने सहयोग गरेका छौं । बाँकी प्रशासनको हातमा छ,’ खडायतले भने ।
  
दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले शैल्यशिखर नगरपालिका वडा नम्बर १ कार्यालयबाट आएको पत्रको आधारमा भारतीय प्रशासनसँग आवश्यक सहयोगको लागि आग्रह गरेको बताए । ‘हामीले आवश्यक समन्वयको लागि भारत सरकारलाई पत्र पठाएका छौं । पारिबाटै सहजीकरण भयो भने घर आउने बाटो खुल्छ । हामीले यो बिषयमा केहि गर्न सक्दैनौँ ,’ पौडेलले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.