कोइला नियन्त्रणमा लिएको भन्दै इँटा व्यवसायी आक्रोशित
भक्तपुर : सरकारको निर्णयानुसार इँटा उद्योग सञ्चालन गर्न ल्याइएको कोइला प्रहरीले नियन्त्रणमा लिएको भन्दै यहाँका इँटा उद्योगी व्यवसायीहरुले आपत्ति व्यक्त गरेका छन् । भक्तपुरका इँटा उद्योगी व्यवसायीले कोइला ल्याएको नौवटा गाडी प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरु आक्रोशित भएका हुन् ।
मन्त्रिपरिषद्ले गएको चैत २० गते राष्ट्रिय गौरवका योजना, ठूला उद्योग तथा इँटा उद्योग सञ्चालन गर्ने गराउने निर्णय गरेको थियो । सोही निर्णयानुसार वीरगञ्जबाट ल्याइएको कोइलाका गाडी भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्बाले जानकारी दिए ।
उनका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका ८ र ९ वडामा सञ्चालित इँटा उद्योगले नौवटा १२ चक्के गाडीमा कोइला ल्याएका थिए । जुन गाडी इँटाभट्टा पुग्न नपाउँदै प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएका गाडीमध्ये चारवटा महानगरीय प्रहरी प्रभाव सुडालमा र बाँकी महानगरीय प्रहरी वृत्त जगातीमा रहेका छन् ।
संघका अध्यक्ष ह्योम्बाले कोइला अभावमा इँटाभट्टाको आगो नै निभ्न लागेपछि यहाँका व्यवसायीहरुले सरकारी निर्णयानुसार कोइला झिकाएको स्पष्ट पारे । कोइला नभएर यहाँका सातआठ वटा इँटा उद्योगले काँचो इँटा बाँकी छँदै आगो निभाइसकेको उनको भनाइ थियो ।
‘काँचो इँटा धेरै बाँकी भएका इँटाभट्टाले भुस बालेर भए पनि आगो निभ्न दिएनन्, 'अध्यक्ष ह्योम्बाले भने, 'यसैबीच सरकारले इँटाभट्टा चलाउन दिने निर्णय गरेपछि वीरगञ्जबाट कोइला झिकाएका हुन् ।' इँटा उद्योग व्यवसायीहरुले स्थानीयले हल्ला गरेजस्तो कोइला भारतबाट नल्याइएको बताएका छन् । उनीहरुका अनुसार गाडीका चालक तथा सहचालकसमेत भारतीय होइनन् ।
'कोइला नभएर इँटाभट्टाको आगो बचाउन हम्मे हम्मे भइसक्यो, एक व्यवसायीले भने, 'यही बीचमा सरकारी निर्णयानुसार कोइला ल्यायौं तर प्रहरीले गाडी समाउँदा आगो निभाउनुपर्ने बाध्यता आइलाग्यो ।'
ल्याएको कोइलामात्रै प्रयोग गर्न पाए बाँकी भएको काँचो इँटा पोलेर यस वर्षको सिजन अन्त्य गर्न पाउने उनको भनाइ थियो ।व्यवसायीहरुका अनुसार कोइला नपाएर धेरै इँटा उद्योगमा करिब ३० प्रतिशत काँचो इँटा त्यत्तिकै रहेको छ । यस वर्ष पटकपटक पानी पर्दा तथा कोरोना भाइरसको कारण फागुनमै मजदुरहरुलाई घर फर्काउनु परेकाले गत वर्षको तुलनामा आधामात्रै काँचो इँटा उत्पादन गर्न पाएको उनीहरु बताउँछन् । त्यसमाथि ३० प्रतिशत इँटा पोल्नै बाँकी भएपछि यस वर्ष इँटा उद्योगी व्यवसायीहरुले नोक्सानी व्यहोर्नुपरेको व्यवसायी दावी गर्छन् ।
कोरोना भाइरस संक्रमण नियन्त्रणको कारण यस वर्ष व्यवसायीहरुले चैतपछि इँटा उत्पादन गर्न पाएनन् । अघिल्ला वर्षहरुमा बैशाख जेठसम्म इँटा उत्पादन भइरहन्थ्यो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले भक्तपुरको प्रहरी प्रशासनलाई जानकारी नै नदिई ल्याइएको नौवटा कोइला बोकेका गाडी नियन्त्रणमा लिएको पुष्टि गरे ।
कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको देशव्यापी लकडाउनकै बीच ल्याइएकाले ती गाडी नियन्त्रणमा ल्याइएको उनको भनाइ थियो । वीरगञ्जबाट ल्याइएका कोइला गाडी र त्यसका चालक तथा सहचालक भक्तपुरका इँटाभट्टा पुगेपछि स्थानीय त्रसित भएका थिए । वीरगञ्जमा कोरोना भाइरसका संक्रमित देखिएलगत्तै यहाँका इँटाभट्टामा त्यहींका चालक तथा सहचालक कोइला लिएर भक्तपुर पुगेपछि उनीहरुले प्रहरीमा उजुरी गरेका थिए । सोही उजुरीको आधारमा प्रहरीले कोइला गाडी नियन्त्रणमा लिएको थियो ।
तर प्रहरीले गाडी नियन्त्रणमा लिए पनि त्यसका चालक तथा सहचालक निस्फिक्री इँटाभट्टा क्षेत्रमा घुमफिर गरेपछि स्थानीयमा कोरोना भाइरसको संक्रमण फैलिने डर हटेको छैन ।