बिक्री नभएपछि बारीमै छिप्पियो तरकारी
फिदिम : लकडाउनका कारण बजार अभाव भएपछि किसानले लगाएको तरकारी बारीमै छिप्पिएको छ । उत्पादनको मुख्य सिजनमै बिक्री नलागेपछि खानै नमिल्ने गरी हरियो तरकारी बारीमै छिप्पिएको हो ।
‘बिक्रीका लागि बजार लगे पनि तरकारी बिक्दैन,’ बारीमै फुलेको मूला देखाउँदै फिदिम २ अर्खौलेका नन्दकुमार ढुंगानाले भने, ‘बिक्री नभएपछि मूला यसरी फुलेर गयो । मूला फुलेपछि खानै नमिल्ने गरी फोस्रो हुन्छ ।’ नजिकैको फिदिम बजारमा लैजाँदा पनि बिक्री नभएको उनले सुनाए ।
लडाउपछि फिदिम बजार सुनसान छ । गाँउबाट आएर बजारमा बसोबास गर्ने अधिकांश मानिस गाँउ फर्किएका छन् । कृषिउपजका कारोबार हुने शनिबारे हटिया पनि बन्द छ । तुलनात्क रुपमा अहिले बजारका उपभोक्ताहरु घटेका छन् । उभोक्ताहरु घटेपछि फिदिम आसपासमा व्यवसायिक रुपमा उत्पादन गरिएको तरकारीले बजार नपाएको हो ।
‘अहिले टाढाको बजारमा तरकारी बेच्न सक्ने स्थिति छैन,’ तालखर्कका नारायण पौडेलले भने, ‘बन्दका कारण फिदिम बजारमा तरकारी खपत हुनै छाडेपछि लाखौँको तरकारी कुहिन थालेको छ ।’ बजारका सबै होटलहरु बन्द छन् । होटल सञ्चालन नभएपछि तरकारीको खपत ह्वात्तै खटेको हो । बजारमा तरकारीको खपत कम भएपछि साम्दिन, लालिखर्क, अर्खौले, ढाडे, तालखर्क लागायतका किसानहरुले तरकारी बेच्न नपाएका हुन् ।
बन्दकोभी, फुलकोभी, रायोसाग, धनिया, मुला, मटरकोसा, च्याउ जस्ता तरकारीले बजार नपाएपछि बारीमै छिप्पिएका हुन् । ‘भण्डारण गर्न मिल्ने तरकारी भण्डारण गरेका छौँ,’ साम्दिनका चुडामणि काफ्लेले भने, ‘भण्डारण गर्न नमिल्ने हरियो सागसब्जी बिक्री नै लागेन ।’ हरियो सागसब्जिको मूख्य सिजनमै लकडाउन भएपछि दैनिक सात हजारसम्म घाटा भएको काफ्लेको बताए ।
बारीमा भएको रायो साग डुकु पलाएर फुल्न थालेका छन् । मूला फुलेर फोस्रो भएका छन् । धनिया छिप्पिएर खानै नमिल्ने भएका हुन् । बन्दाकोभी सुक्न थाले। फुलकोभी फक्रिएर बिग्रिएको छ । बारीभरीका सबै तरकारी बिगिएपछि एक महिनामा ३० हजार घाटा हुने ढुंगानाले सुनाए । ‘अब काँक्रा, फर्सी उत्पादन सुरु हुन लागेको छ,’ उनले भने ‘लकडाउनको समय थपिएकाले पछिल्लो उत्पादनले पनि बजार नपाउने भयो ।’
फिदिम आसपासका किसानले लकडाउनको सुरुवाती चरणमा बजारबासिलाई निसुल्क तरकारी उपलब्ध गराएका थिए । व्यापारीलाई उधारोमा समेत तरकारी दिएका थिए । लकडानको समय बढ्दै गएपछि बजारमा तरकारीको खपत घट्दै गएको छ । ‘अब त तरकारी बिक्ने सम्भावना नै देखिँदैन,’ ढुंगानाले भने ।