विद्यार्थीलाई ‘हेडमास्टर’को कविताबाट सन्देश
रामेछाप : सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरेपछि अहिले विद्यालय बन्द रहेका छन्। लकडाउनका कारण समयमा कोर्स सक्न कठिन हुने भएपछि कतिपय कलेजहरूले भने अनलाइन माध्यम पनि रोजेका छन्।
तर ग्रामीण क्षेत्रमा सबै विद्यार्थीको पहुँचमा इन्टरनेट एवं प्रविधिको समस्या हुँदा अनलाइन कक्षा संचालन हुने अवस्था छैन। लामो समयसम्म विद्यालय नखुल्दा विद्यार्थीहरु कहिलेबाट विद्यालय खुल्ने हो भन्ने अन्योलमा छन्। एसईईको एक दिन अगाडि परीक्षा स्थगित भएर घरमै बसेका विद्यार्थी झनै चिन्तित देखिन्छन्। संक्रमण त्रासकै कारण विश्वविद्यालय तहका पनि थुप्रै परीक्षा स्थगन गरिएका छन्।
यसैबीच रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका-२ सैपुमा रहेको चण्डेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक ध्रुवकुमार पौडेलले सामाजिक संजाल फेसबुकमार्फत नै विद्यार्थीलाई सन्देश प्रवाह गरेका छन्। नियमित रुपमा विभिन्न घटनासँग सम्बन्धित रहेर कविता लेखिरहने उनले ‘विद्यार्थीहरूलाई’ शीर्षकमार्फत घर नछाडि पुस्तक अध्ययन गर्न सुझाव दिएका छन्। पौडेलले कहिले आउनुपर्छ स्कूल भनेर सोधिरहने विद्यार्थीलाई माथिल्लो तहका दाजु दिदी वा घरतिरै सोधेर पढ्न आग्रह गरेका छन्। उक्त विद्यालयमा १२ कक्षासम्मको पढाई हुने गरेको छ।
कविता :
‘विद्यार्थीहरूलाई’
कैले खुल्दछ पाठशाला भनी के गर्छौ तिमी कर्कर।
संसार बन्द छ, छैन क्यै चिज खुला, स्कूल कहाँ खुल्छ र।
डुल्नु फिर्नु हुँदैन गाउँघरमा नछाड आफ्नै घर।
पुस्तकहरू छदैँछ तिमीसित नै घोकेर पढ्ने गर।
माथिल्लो तह जान इच्छुक भए दाजु दिदी छन् घर।
पुस्तक छन् उनीहरू सित तिनै मागेर पढ्ने गर।
सबै पास भयौ, पढेपछि पनि को चाहिँ फेल हुन्छर।
काम लाग्ला पछि फेरि जीवित रहे सम्झेर पढ्ने गर।
रोकिईकन जाँच अल्मल हुने नानीहरू छौ घर।
भोलिपर्सी हुनेछ जाँच नभुली सम्झेर पढ्ने गर।
कहिले आउनुपर्छ स्कुल भनी सोध्दै नसोध्ने गर।
बा आमा दिदी दाजु छन् घरतिरै सोधेर पढ्ने गर।
यसैगरी बन्दाबन्दीले शहरमा अलपत्र परेको र रोगको संक्रमण नभएको भए गाउँमै आउन आग्रह गरेका छन्। उनले कवितामार्फत डाक्टर नर्स र औषधि गाउँमा पर्याप्त नभएपनि हजारौं जडिबुटी भएकाले त्यसकै भर पर्ने बताउछन्।
कोचाकोच छ क्यार त्यो सहरमा तिमी हुने ठाउँमा।
कोलाहल छ असाध्य भीड छ भने आउ बरु गाउँमा।
बन्दाबन्दी छ, छैन साधन कुनै टाढा छ ठाउँ तर।
सारा कष्टहरू सहीकन पनि हिंडेर आउ घर।
कोठाभित्र लुकेर बस्नु कति दिन खानु पनि के छर।
आँगनमा घुमी स्वच्छवायु पिउँला फर्केर आउ घर।
चाहिंदैन बजारका झिलिमिली सम्झेर के गर्नु र।
ढिडो सिस्नु उमाली खाई बसुँला लौ आउ चाँडो घर।
डाक्टर नर्स र औषधिहरु यहाँ पर्याप्त छैनन् तर।
हज्जारौं जडिबुटी छन् यहीँतिरै तिनकै परौंला भर।
किन्ने ठाउँ अभावमा छ अहिले गाह्रो छ त्यतातिर।
बाँझोबारी खनेर पेट भरुँला आउन गाउँ तिर।
गाडी,पास, बिदा हुँदैन र पनि गर्नु त्यहाँ के छर।
शंका छैन बिषाणुको यदि भने भागेर आउ घर।
- सैपु,रामेछाप