भक्तपुर छिर्ने सवारीसाधन डिसइन्फेक्सन गर्न सुरु
भक्तपुर : अरनिको राजमार्गको साँगा र जडिबुटी नाका भइ भक्तपुर प्रवेश गर्ने सवारीसाधनलाई बिहीबारदेखि निसंक्रमण (डिसइन्फेक्सन) गर्न सुरु गरिएको छ । भक्तपुरमा कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न पहिलो चरणमा अरनिको राजमार्गको साँगा र जडिबुटी नाकामा निसंक्रमण गरिएको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले भक्तपुर प्रवेश गर्ने प्रमुख चार नाकामा सवारीसाधन निसंक्रमण गर्ने निर्णय गरिएको थियो । सोही निर्णयानुसार नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले सम्बन्धित नगरपालिकासँग समन्वय गरेर सवारीसाधन निसंक्रमण गर्ने कार्य गरेको छ ।
उक्त कार्यको लागि साँगा र जडिबुटी नाकामा तीनतीनजना स्वयम्सेवक परिचालन गरिएको भक्तपुर रेडक्रसका सभापति मनोजकुमार थापाले जानकारी दिए ।
जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयानुसार भक्तपुर प्रवेश गर्ने अन्य नाका भइ आउने सवारीसाधनसमेत निसंक्रमण गरिने उनको भनाइ थियो ।‘जिल्ला विपद् व्यवस्थापन समितिले सम्बन्धित नगरपालिकाको सहयोगमा रेडक्रसले भक्तपुर प्रवेश गर्ने सवारीसाधन निसंक्रमण गर्ने निर्णय गरेको थियो’, सभापति थापाले भने, ‘सोहीअनुसार बिहीबार साँगा र जडिबुटी नाका भएर भक्तपुर प्रवेश गर्ने सवारीसाधनहरु निसंक्रमण गर्ने कार्य सुरु भएको हो ।’
रेडक्रसका स्वयम्सेवकहरुले साँगा र जडिबुटी नाका भएर आउने सम्पूर्ण सवारीसाधनको भित्र र बाहिर जीवाणुनाशक विषादी स्प्रे गरेर निसंक्रमण गर्ने गरेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिले भक्तपुर प्रवेश गर्ने अरनिको राजमार्ग सडकअन्तर्गत काभ्रेको साँगा र काठमाडौंको जडिबुटी नाका, अरनिको राजमार्गकै बैकल्पिक बाटोअन्तर्गत भक्तपुर–च्याम्हासिंह–नाला सडकको काभ्रेकै नाला तथा भक्तपुर–काठमाडौं पुरानो बाटोको पेप्सीकोला नाका भएर भक्तपुर प्रवेश गर्ने सवारीसाधनलाई मात्रै निसंक्रमण गर्ने निर्णय गरेपछि भक्तपुरवासीले अन्य नाकामा पनि निसंक्रमण गर्ने व्यवस्था गर्न माग गरेका छन् ।
उनीहरुले काठमाडौंको मूलपानी भएर मध्यपुर थिमिको बोडे प्रवेश गर्ने, मूलपानी भएरै चाँगुनारायण नपा १ नेपाल इञ्जिनियरिङ कलेज प्रवेश गर्ने नाकाबाट भक्तपुर आउने सवारीसाधनमा समेत निसंक्रमण गर्ने व्यवस्था गर्न माग गरेका छन् ।
त्यस्तै ललितपुरको टीकाथली, लुभु भई भक्तपुर आउने नाका, काभ्रेको पनौती नगरपालिकाको रयाले, आशापुरी र नगरकोट नाकाबाट आउने सवारीसाधनलाई पनि निसंक्रमण गर्ने व्यवस्था गर्न माग गरिएको छ ।
सम्बन्धित नगरपालिकाले सहयोग गरे बाँकी नाका भई भक्तपुर प्रवेश गर्ने सवारीसाधनलाई निसंक्रमण गर्न सकिने भक्तपुर रेडक्रसले जनाएको छ । भक्तपुर रेडक्रसका सभापति थापाले अहिलेसम्म अन्य नाका भई भक्तपुर प्रवेश गर्ने सवारीसाधनलाई निसंक्रमण गर्नेबारे कुनै पनि नगरपालिकाले समन्वय र सहकार्य नगरेको जानकारी दिए ।