बारीमा सड्दै उब्जनी
जोशीपुर/टीकापुर : लहलहाउँदो केराबारी, बोटमै लटरम्म पाक्न थालेका केरा। कैलालीको जोशीपुर गाउँपालिका–४ का अनीलजंग कुँवर पाक्न थालेका केराका घरी वरिपरी डुल्छन्, फर्कन्छन् अनि बारीतिरै भौतारिन्छन्। घरीमै पाक्न थालेको केरा देखेर उनको मन चसक्क हुन्छ। एक महिना अघि नै, अनीलको ८ बिघाको पुरै केरा बजारमा पठाउने गरी तयार भइसेकेको थियो। तर कोरोना भाइसरका कारण अहिले उनले केरा बजारमा लैजान सकेका छैनन्।
केरा पाक्ने अवस्थामा पुगेपछि काटेर खात बनाउने गरिन्छ तर सुरुमा गरिएको खातको केरा बजारमा जान नपाएपछि अहिले उनले घरी काट्न पनि बन्द गरिसकेका छन्। ‘बजारमा जाँदैन, काटेर के गर्नु ? सुरुमा काटेर खात बनाएका चार सय घरी कुहिन थालेपछि, नदीमा मिल्काए’ अनीलले भने।
वनगाउँको बारीमा सुक्दै गरेको टमाटर । तस्बिर : परमानन्द पाण्डे
अनीलले ८ बिघाको त्यो प्लटमा २२ हजार केराका बोट रोपेका छन्। एक बिघामा पाँच लाख भन्दा बढी लगानी हुन्छ। ‘मैले २ हजार घरी पनि बेच्न पाएको थिएन, लकडाउन भइहाल्यो’, अनीलले भने, ‘४० लाखको केरा बारीमा कुहिएको हेर्नुको विकल्प रहेन।’
अहिलेको केराको अफ सिजन हो। अहिले केरा किसानले, अरू समयको नोक्सानको पनि पूर्ति गर्ने अपेक्षा राखेका हुन्छन्। ‘हिउँदको केरा भन्दा गर्मीमा केराको राम्रो मूल्य र बजार हुन्छ, तर कोरोनाका कारण यस्तो भइदियो’, अनीलले भने।
अनीलको यो ८ बिघाको बारी त पुरै फलेको बारी मात्रै हो। उनले अरु ३२ बिघामा पनि केराखेती गरेका छन्। ‘तीन महिनापछि त्यो पनि पाक्न सुरु हुन्छ’, उनले भने, ‘त्यसपछि पनि अवस्था यस्तै रह्यो भने नराम्ररी डुबिन्छ।’
अनील मात्रै होइन, जोशीपुर गाउँपालिकाको वडानम्बर ४ झबहीका नेपबहादुर चौधरीको पनि उस्तै अवस्था छ। १३ बिघामा केरा खेती गरेका उनका ३० प्रतिशत केरा बारीमै कुहिन थालेका छन्। ‘७० प्रतिशत त बिक्री भइसके। बारीमा कुहिन लागेको खात देखाउँदै उनले भने।
चौधरीले झण्डै १५ लाखको केरा कुहिन लागेको बताए। ‘९ बिघाजतिको केरा बजारमा पठाएको हुँला, ५ बिघाको त्यसै अड्किएको छ, १५ लाख भन्दा बढीको नोक्सान हुन्छ’, उनले भने।
चौधरी नेकपाका सुदूरपश्चिम प्रदेशसचिव हुन् भने उनकी श्रीमती रुपा चौधरी २०६४ मा कैलाली १ बाट निर्वाचित पूर्वसभासद् हुन्।
‘राजनीतिले खान लाउन त पुग्दैन, त्यसैले उद्यम गरेको। यसपाली कोरोनाले कृषिकर्म पनि घाटामा जाने निश्चित भइसक्यो’, पूर्वसभासद् चौधरीले भनिन। केरा बारीमै कुहिन थालेपछि क्वारेन्टाइनमा निःशुल्क दिएको उनले सुनाइन्।
‘हामीले कैलालीको पूर्वी क्षेत्रका स्थानीय तहलाई एकमुष्ट केरा दिएका छौं, कुहिनु भन्दा क्वारेन्टाइनमा बसेका मानिसहरू, त्यहाँ खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले खाउन भनेर दिएको’, उनले भनिन्।
कैलालीको जोशीपुरका किसान अनीलजंग कँुवरको बारीमा घरीमै पाकेका केरा । तस्बिर : शिवराज भट्ट
कैलाली केरामा आत्मनिर्भर जिल्ला हो। यहाँ किसानले ८ सय बिघामा केराखेती गरेका छन्। धनगढीको बजारमा भारतीय केरा १२० देखि १४० रुपैयाँ बिक्री भइरहेको छ। तर कैलालीको केरा भने बजारमा आउन पाएको छैन। ‘बल्ल तल्ल बजारमा केरा पाएको, सानो कोसा छ त्यो पनि १३० रुपैयाँ दर्जनका दरले किनेर ल्याए’, धनगढी ४ उत्तरबेहडीका हर्कराज पाण्डेले भने।
कोरोनाका कारण कैलालीका सबै बजार पूर्णरूपमा बन्द छन्। भन्नका लागि किसानका उपज बजारसम्म ल्याउन दिने भनिए पनि, बजारमा तरकारी र फलफुलका ठेला पनि लगाउन नदिएपछि, किसानको उपजले बजार पनि नपाएको हो।
‘पुरै बजारका फलफुल पसल नखोले पनि टोल टोलमा ठेला मार्फत केरा, तरकारी दिनभर बिक्री गर्न दियो भने मात्रै किसान बाच्छन्, हैन भने धेरै किसान घाटामा जान्छन् र उनीहरूका कृषि कर्मप्रति निरासा आउन सक्छ’, उनले भनिन्।
बारीमै सड्यो तरकारी
टीकापुरका किसानले उत्पादन गरेको बेमौसमी तरकारी बारीमै सडेको छ। टीकापुर नगरपालिका वडा नं. ३ को कटानपुरका किसानले विगत १५ वर्षदेखि बेमौसमी तरकारी खेती गर्दै आएका छन्।
काँक्रा, लौका, काउली, बन्दागोभी, टमाटर, खुर्सानीलगायतका बेमौसमी तरकारी गर्दै आएका उनीहरू देशभर जारी लकडाउनका कारण तरकारी बारीमै सड्न थालेपछि चिन्तित बनेका हुन्।
टीकापुर बजारमा काँक्रा प्रतिकेजी ५० रुपैयाँ पर्छ। बजारमा महंगोमा बिक्री हुने भए पनि किसानको बारीमा भने काँक्रा सडेका छन्। सामूहिक रूपमा तरकारी खेती गर्दै आएका कटानपुरका २७ कृषकहरूको बारीमा बेमौसमी तरकारी पर्याप्त छ।
विगतका वर्षमा टीकापुर, लम्की, धनगढी, नेपालगञ्जलगायतका ठाउँबाट ब्यापारीहरू बारीमै तरकारी खरिद गर्न आउने गरेका थिए। उनीहरूले १६ बिघा जमिनमा काँक्रा मात्रै लगाएका छन्। बारीमै १० रुपैयाँ प्रतिकिलोमा समेत काँक्रा बिक्री नभएको किसानले दुःखेसो गरे।
‘बिक्री गर्नका लागि बाहिर जान सकिन्न, बारीमै १० रुपैयाँमा बिक्री गर्दा समेत बिक्री छैन’, कृषक देशरानी चौधरीले भनिन्। काँक्रा मात्रै बिक्री गरेर उनीहरूले मासिक प्रतिकट्ठा ३० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको तर लकडाउनका कारण तरकारी बारीमै सडेपछि लगानी डुब्ने अवस्था आएको कटानपुरका किसान प्रेमचन्द चौधरीले बताए।
‘केही आम्दानी हुन्छ भन्दै हामी गहुँ खेती नगरेर तरकारी गर्दै आएका थियौं’, उनले भने। ‘यस वर्ष हाम्रा लागि निकै खराब भयो, सबै तरकारी बारीमै सडेको छ।’ व्यावसायिक तरकारी खेती गर्ने किसानहरू लकडाउनले निकै समस्यामा परेको उनले बताए।
बिक्री नभएपछि सड्दै गरेको बेमौसमी काँक्रा । तस्बिर : परमानन्द पाण्डे
टीकापुर नगरपालिका वडा नं. ८ को बनगाउँ बेमौसमी तरकारीका लागि प्रसिद्ध छ। त्यहाँका अधिकांश किसानले बेमौसमी तरकारी खेती गर्दै आएका छन्। काँक्रा, लौका, करेला, गोभी, खुर्सानी जस्ता बेमौसमी तरकारी गर्ने किसानहरू बिक्री हुन छोडपछि निराश बनेका छन्।
बनगाउँका किसान धर्मबहादुर चौधरीले एक बिघा खेतमा बेमौसमी तरकारी लगाएका छन्। उनको बारीमा लटरम्म फलेका टमाटर छन्। फल्दै गरेको टमाटार देखाउँदै उनले भने ‘यस्तो राम्रो फलेको छ, तर बिक्री गर्ने ठाउँ छैन, बाहिर जाने गर्दथ्यो, लकडाउनले सबै बर्बाद भयो।’
वनगाउँकै अर्का किसान रामकृष्ण चौधरीले भने ‘एकातिर बारीमा तरकारी सडकेको छ, बिक्री गर्न सकिएको छैन’ उनले भने, ‘बाहिरको व्यापार बारीमै आउने गरेका थिए, अब आम्दानी नै नभएपछि के खाने ? कसरी परिवार धान्ने भन्ने चिन्तामा छौं।’
टीकापुर क्षेत्रमा जानकी गाउँपालिकाको अमरावती, पथरैया, टीकापुरको वनगाउँ, कटानपुर, बाघमारा र भर्तापुर बेमौसमी तरकारी खेतीका लागि चर्चित छन्। टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले कृषकको उत्पादनलाई स्थानीय स्तरमै खपत हुने गरी व्यवस्थापन भैरहेको बताए।