सरसफाइ कर्मचारी आन्दोलित, नगर सफा गर्न मेयर आफैँ सडकमा
मलंगवा : बैशाख सर्लाहीको मलंगवा नगरपालिका सफा गर्दै आएका मेस्तरहरु आन्दोलमा उत्रेपछि नगर फोहर बनेको छ। नगर फोहर भएपछि जनप्रतिनिधिहरु आफैँ फोहर उठाउन थालेका छन्। विभिन्न ५ सुत्रीय माग राखेर नगर सफा गर्ने मेस्तरहरु आन्दोलनमा उत्रिएका हुन्। मेस्तरले सफा गर्न छोडेपछि मेयर निरसल साह लगायत १२ वटै वडाका वडाध्यक्ष कार्यपालिका सदस्य, नगरपालिकाका कर्मचारीहरु नगर सफा गर्न सडकमा उत्रेका हुन्।
कोरोना भाइरस संक्रमण बच्नका लागि सेफ्टी पोशाक दिनुपर्ने, प्रदेश सरकारबाट आएको राहत आफूहरुलाई पनि दिनुपर्ने, सफाइकर्मीको अनिवार्य रुपमा बीमा गरिनुपर्ने, दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारीलाई करारमा नियुक्ति गर्नुपर्ने माग राख्दै उनीहरु आन्दोलनमा उत्रेका छन्।
नगरपालिकाको मूख्य गेटमा जम्मा भएका मेस्तहरु । तस्बिर : सुनिल ठाकुर
आफूहरुले पोशाक, पञ्जा, जुत्ता माग गर्दा जागिरबाट नगरपालिकाले हटाएको सफाइकर्मी सुनिल मेस्तरले गुनासा गरे। पटक-पटक आग्रह गर्दा नगरपालिकाले सुनवाई नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको सुनिलले बताए। ‘कोरोना माहामारी छ, हामीलाई केही भयो भने हाम्रो बालबच्चालाई कसले हेर्छ ?’ सुनिलले भने-‘काम गर्दा सुरक्षाका लागि सेफ्टीका सामान माग्दा जागिरबाट हटाएको छ।’
वर्षाैँदेखि काम गर्दै आएका ४३ जना मेस्तरलाई हटाइएको उनीहरुले बताए। जसरी सुरक्षाकर्मी, स्वास्थ्यकर्मीले काम गरिरहेका छन्, त्यसैगरी आफूहरुले पनि काम गर्दै आएकोले उनीहरुलाई जस्तै आफूहरुलाई पनि थपसेवा सुविधा दिनुपर्ने मेस्तरहरुको माग छ।
फोहर उठाउँदै विभिन्न वडाका वडाध्यक्षहरु। तस्बिर : सुनिल ठाकुर
पटक-पटक आग्रह गर्दा पनि मेस्तरहरुले नगर सफा गर्न नमानेपछि आफूहरु नै सरसफाई गर्न उत्रिएको मेयर निरसल साहले बताए। ‘पञ्जा र जुता दिएकै छौं। फेरी पनि दिन्छु भनेकै थिएँ। तर, केही व्यक्तिको उक्साहटमा उनीहरु आन्दोलनमा उत्रेर नगरको फोहर उठाउन छाडेका छन्। मेयर साहले भने ‘अहिले चिकित्सकलाई त पीपीई सेट छैन्’, मेयर उनीहरुलाई पिपिइ सेट चाहियो। कहाँ बाट दिनु ?’
जब कुनै चाडपर्व आउँछ। विपत्त आउँछ त्यतिबेला मेस्तरहरु विरोधमा उत्रने गरेको मेयर साहले बताए। सम्बन्धित वडा सफा गर्न वडाध्यक्षहरुलाई सफाइकर्मी भर्ना गर्न भनेको अहिले हटाएकालाई कुनै हालतमा नराख्ने साहले बताए।
नगर सफा गर्न निस्केका मेयर लगायतका वडाध्यक्ष, कर्मचारीलाई केही बेर मेस्तरहरुले अबरुद्ध गरेका थिए। मेस्तरहरुले फोहरहरु छर्न थालेपछि मेयर साहले प्रहरी बोलाएर तिनीहरुलाई रोकेका थिए। नगरमा जम्मा भएका फोहरलाई पनि उनीहरुले सडकमा छरेका थिए।