दीर्घरोगीलाई घरघरमै औषधि वितरण
बेंसीहर : कोभिड-१९ संक्रमण रोक्न जारी लकडाउनका कारण मर्कामा परेका दीर्घरोगी तथा जेष्ठ नागरिकलाई घरघरमै पुगेर सेवा दिन थालिएको छ । जिल्लाका ८ स्थानीय तहमध्ये मध्यनेपाल नगरपालिका र मस्र्याङ्दी गाउँपालिकाले घरघरमै पुगेर दीर्घरोगी र जेष्ठनागरिकलाई औषधि उपलब्ध गराउन सुरु गरेका हुन् ।
बेंसीसहर नगरपालिकाले पनि लकडाउनका बेला जेष्ठ नागरिकहरुको स्वास्थ्यजाँच घरमै गएर गर्ने व्यवस्था मिलाएको छ । दीर्घ रोगीका लागि आबश्यक औषधिबारे जानकारी दिन सूचना आब्हान गरेको छ ।नियमित औषधि सेवन गर्दै आएका दिर्घरोगका बिरामीलाई औषधि खोज्न टाढा जान नपरोस भनेर घरमै पुर्याउने व्यवस्था मिलाइएको मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश पाण्डेले जानकारी दिए ।
नगरपालिकाले स्वास्थ्य सहसंयोजक सूर्य पौडेललाई औषधि वितरणको जिम्मा दिएको छ । नगरपालिकाको चालू आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रमको विभिन्न शीर्षकमा रहेको रकम रकमान्तर गरी कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषको रकमान्तर गरेको छ । नगरप्रमूख युवा स्वरोजगार अनुदान कार्यक्रम अन्तर्गत ३० लाख रुपैयाँ, नगरप्रमूख महिला स्वरोजगार अनुदान कार्यक्रम अन्तर्गतको ३० लाख रुपैयाँ र नगरप्रमूख विपद व्यवस्थापन कार्यक्रमको ८ लाख रुपैयाँ गरी ६८ लाख रुपैया कोरना कोषमा रकमान्तर गरिएको छ ।
मस्र्याङ्दी गाउँपालिकाबाट लकडाउनको अबधीमा ३५ जना दीर्घरोगीलाई औषधि उपलब्ध गराइसकिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । पालिकाले स्वास्थ्यकर्मी मोनिका गुरुङलाई दीर्घरोगीका औषधि लिनका लागि सम्पर्क व्यक्ति तोकेको छ । ‘बेंसीसहर, पोखरा, काठमाण्डौ, चितवनलगायतका सहरमा पुगेर औषधि खाने दीर्घरोगीहरुलाई घरघरै औषधि पुर्याएका छौं,' अध्यक्ष गुरुङले भने ।
गाउँपालिकाले ५० लाखको कोरना विपद् कोष स्थापना गरेको छ । निशुल्क एम्बुलेन्स सेवा, स्वास्थ्यकर्मीको २० लाखको विमा गर्नुको साथै ८ सय जना मजदुरलाई राहात वितरण गरेको छ ।