लकडाउनमा मर्चवारवासीको विजोग : भन्छन् - 'सरकार ! कि जहर खुवाएर मारिदे कि बाँच्न दे' (भिडियाे)
भैरहवा : रुपन्देहीको मर्चवार क्षेत्र । विकट र पिछडिएको छ । तीनवटा गाउँपालिका छन् । यहाँका बासिन्दाको मुख्य आय स्रोत कृषि, वैदेशिक रोजगार र ज्याला मजदुरी हो । जनसंख्या लाख बढी छ । विपन्न वर्ग अधिक छन् । लकडाउनका कारण सबै ठप्प छ । यस वर्ष गहुँको उत्पादन पनि राम्रो भएन । किसान चिन्तित छन् । लकडाउनलाई प्रभावकारी बनाउन प्रहरीले कडाइ गरेको छ । स्थानीय सरकारले समयमा प्रयाप्त राहत नपुर्याउँदा विपन्न परिवारको अवस्था बेहाल हुँदै गएको छ । यस क्षेत्रको जुन बस्तीमा पुगे पनि सरकारप्रति विपन्न परिवारको गुनासो चाङ छ ।
कोटहीमाई गाउँपालिका तुनिहवाकी जरिना पठानको परिवार विगतमा जसोतसो परिवार चलाउँदै आएपनि लकडाउनसँगै अहिले उनको परिवारलाई एक छाँक टार्न धौ धौ परेको छ । निर्वाचित जनप्रतिनिधिहरु आफूहरुको समस्याप्रति खासै चासो नदिएको उनको गुनासो छ । मर्चवारको तीनवटै स्थानीय तहमा १५ दिनअघि नाम मात्रको राहत बाँडिएको थियो । त्यसयता केही दिइएको छैन ।
कोटहीमाई गाउँपालिकाले राहतको नाममा १५ दिन अघि ५ केजी चामल, एक किलो दाल र दुईवटा साबुन दिएको थियो । अन्य दुई तहले पनि लगभग यही अनुसारको नाम मात्रको राहत बाँडेका थिए ।
'१५ दिनअघि नाम मात्र बाँडिएको राहतले कति दिनसम्म चल्छ र ? मर्चवारका स्थानीयले प्रश्न गर्दै भने, 'लकडाउनले हामी मर्यौं की बाचेका छौँ, कसैलाई केही मतलबै छैन ।' यहाँका अधिकांश भैरहवामा मजदुरी गर्न आउन्थे । मजदुरीले उनीहरुको परिवार चल्थ्यो । तर, अहिले उनीहरु बन्दाबन्दीमा परेका छन् । जोगाएर राखेको दुई चार पैसा पनि सकिएको छ ।
'श्रीमानले भैरहवामा मजदुरी गरेर तेल नुन किनेर ल्याएपछि त्यही खान्थ्यौँ, जरिना गुनासो पोख्दै भनिन्, 'तर, अब सरकारले मजदुरी गर्न रोक लगाएपछि कसरी खाने ? स्थानीय सरकारलाई हाम्रो केही चासो नै छैन ।'
परिवार बिरामी भएको अवस्थामा आर्थिक अभाव झेलिरहेका ज्यालादारी मजदुरलाई औषधि उपचार गराउन निकै मुस्किल परेको छ । चुनावको बेला मध्यरातमा गाडीका गाडी लिएर नेताहरु घरमै आउने गरेपनि अहिले वास्तै नगरेको मर्चवारवासीको गुनासो छ ।
'छिमेकी मुलुक भारत सरकारले आफ्नो नागरिकको हेरचाह गरिरहेको छ तर नेपाल सरकार चुपचाप बसेको छ,' परिवारको भोको पेटबारे पीडा पोख्दै उनले भनिन्, 'सबैभन्दा राम्रो जहर खुवाएर मारिदिए, त्यही सन्तोष छ ।'
लकडाउनका कारण घरमा बसेका विपन्न वर्गलाई सरकारले समयमा राहत नपुर्याउँदा कतिले त दिनमा एक छाक अन्न खान छाडेका छन् । खानेले पनि आधा पेटमा खाइरहेका छन् । नुन र भात खाएर पनि जीवन कटाउनेहरु मर्चवारमा छन् ।
'पहिला जसरी दाल, भात र तरकारी खान्थ्यौँ, अहिले त्यसरी खान सकेका छैनौं,' मर्चवारी गाउँपालिका-५ का सुन्दर विश्वकर्माले भने, 'अहिले भोकले ज्यान बचाउनका लागि नुन र भात खाएर पनि बसिरहेका छौँ।'
ग्रामीण क्षेत्र मर्चवारमा अशिक्षित बढी छन् । स्थानीय सरकारले समयमा प्रयाप्त राहत नदिँदा त्यसको विरोध गरे 'पावर' मा रहेका जनप्रतिनिधिहरुले अनावश्यक रुपमा कुनै मुद्दा मामिलामा फसाइ दिने त्रासको मानसिकता समेत रहेको पाइएको छ । र, जनप्रतिनिधिसमक्ष राहत माग्न जाँदा बेइज्जत गरेर पठाउँदा स्थानीय राहत माग्ने इच्छा जाहेर गर्न सकेका छैनन् । जसकारण मर्चवार क्षेत्रका विपन्न परिवार घरमा खाद्यान्न नभएपनि जसो तसो नुन र भात खाएर भएपनि जीवन काटिरहेका छन् ।