लकडाउनमा मजदुरको यात्राः टेकेको लठ्ठी खिइएको छ, शरीर कति गलेको होला ?

लकडाउनमा मजदुरको यात्राः टेकेको लठ्ठी खिइएको छ, शरीर कति गलेको होला ?

लोकगायक कृष्ण रेउले बिहीबार बिहान काठमाडौंबाट बाइक चढेर सल्यानका लागि हिँडे। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय प्रशासनिक सचिव गायक रेउले अरु बेला भए बाइक यात्रामा एक दिनमै सल्यान घर पुग्थे, तर राति अबेरसम्म पनि उनी दाङको भालुबाङ मात्र पुगे। कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनको सास्तीमा परेका रेउलेले मजदुरको दर्दनाक पीडा सडकभरी देखेँ। सात/दस दिनदेखि पैदल हिँडेका मजदुरका पीडा देखेका कृष्ण रेउलेसँग विमल आचार्यले गरेको कुराकानी :

बाटो खाली खाली थियो होला, जाम पनि थिएन। भालुबाङमै बास बस्नुभएछ त ?

हो, बाटो त खाली नै थियो। तर, बाटाभरि गरिब नेपाली दाजुभाइ, आमाबा, दिदीबहिनी, बच्चाबच्चीको लस्करले बाटो स्वयं रोइरहेको थियो। म हिजो नराम्ररी बिथोलिएँ। पहिलो चोटि मलाई आफू र आफ्नो देशप्रति माया भन्ने कि घृणा भन्ने दया, एकदम दया लागेर आयो। 

यात्रामा कृष्ण रेउले । तस्बिर : रेउलेको फेसबुकबाट

तपाईं यस्तो बेला यात्रामा किन निस्किनुभएको ?

मेरो आफन्ती बुबा मेन्टल बिरामी हुनुहुन्छ। नियमित औषधि खानुपर्ने हुन्छ। मलाई औषधि लिएर जसरी पनि घर आउनुपर्ने भयो। म औषधी लिएर हिजै सल्यान पुग्नुपर्ने थियो। पास एक दिनको मात्र थियो। अब अहिले (शुक्रबार बिहान ९:२४ बजे) भालुबाङबाट हिँड्ने तयारी गर्दैछु। 

औषधि सजिलै पाउनुभयो त काठमाडौंमा ?

तीनवटा अस्पताल चाहरेपछि बल्लतल्ल पाइयो। 

यात्रामा तपाईंलाई कुनै गाह्रो भयो कि ?

आफैँलाई खास गाह्रो त भएन तर मानसिक बिरामीको औषधि बोकेर हिँडेको मै आफू पागल भए जस्तो भाछु। बीचबीचमा सुरक्षाकर्मीले मेरो पास चेक गर्नुभयो, आफ्नो मोबाइलमार्फत। कोठाबाट बिहानै एक्लै निस्केको म। बाटोभरि एक्लै भइनँ। मबाहेक थप दुई जनासम्म हालेर अलि वरवरसम्म ल्याएँ। साना बच्चा बोकेका महिला मजदुरलाई बाइक चढाएँ। धेरै टाढा लगिदिऊँ भने उहाँहरुको समूह छुट्ने। समूहसितै उहाँहरुको केही खानकी पनि छुट्ने। उहाँहरुलाई झार्ने फेरि अर्को चढाउने गरेँ। 

चप्पल खिइएर कुर्कुच्चा भुइँ छुने भएका छन्। खुट्टामा फोका उठेर, फुटेर हिँड्नै नसक्ने अवस्थामा पनि देखेँ। कति त चर्को घाममा पिच सडकमा खाली खुट्टै हिँडेका छन्। बच्चा रोइरहेका छन्। उत्तिखेरै चर्को घाम लाग्छ, दर्के पानी पर्छ। उनीहरु बिरामी पनि छन्।

चन्द्रौटा क्रस गरेपछि निर्जन जंगलमा एक आमा र बच्चा हिँडिरहेको देखेँ। मेरो आँखा रसाए। उहाँहरुलाई भालुबाङसम्म ल्याइदिएँ। मैले धेरै पैसा बोकेको पनि थिइनँ। अलिकतिभएको पैसाले चाउचाउ, बिस्कुट, जुस किनेर बाँडेँ। यात्रामा मैले पूर्वबाट पश्चिम गइरहेका मजदुर धेरै देखेँ। रोल्पा, रुकुम, सल्यान, दाङ, बर्दिया, बाँकेतिरका बढी। कर्णाली र सुदूरपश्चिम प्रदेशका बढी। उहाँहरु धेरैजसो काठमाडौँ उपत्यकाभित्र इटाभट्टामा काम गर्ने। ज्याला मजदूरी गर्नेहरु हुनुहुन्थ्यो।

मजदुर कति दिनदेखि हिँडिरहेको पाउनुभयो ?

हिजो मैले सोध्दा आठ दिनदेखि हिँडिरहेको भन्नुभयो। उहाँहरु कपिलवस्तुबाट दाङ छुँदै गरेको अवस्थामा हुनुहुन्थ्यो। धेरैजसो त रातिराति पनि हिँड्नी। जो राति राति हिँड्छन्, ती पाँच दिनमा चन्द्रौटा आइपुगेका। आठ दिनमा पनि चन्द्रौटा। धेरै उमेर भएका, महिला, बच्चाहरु जो राति केही बेर रेस्ट गर्छन्, ती आठ दिनमा आइपुगेको देखेँ। 

यो सब देखेर तपाईंलाई कस्तो महसुस भयो ?
म पनि संघर्ष गरिरहेको यस्तै पृष्ठभूमिको मान्छे हुँ। गीत संगीततिर लागेर मैले अलिकति नाम र दाम त कमाएँ तर यो मै हुँ। यी मेरै आमा हुन् र त्यो काखको बच्चा मै हुँ भन्ने भयो मलाई। खासमा म हो पनि म यस्तै। मैले केही गर्न सकिनँ। पाँच हजार रुपैयाँ जति खर्च गरेँ मैले। भोक, प्यासको पीडा देख्न नसकेर चाउचाउ, बिस्कुट, जुस, पानी किनेर अलिकति भए पनि मन शान्त पारेँ। आफूसित पनि धेरै पैसा थिएन। म कुनै वरिष्ठ समाजसेवी भएर यसो गरेको होइन, पीडा सहन नसकेर गरेँ। हुन त यो भन्न पनि नहुने यो मैले, यसो गरेँ, उसो गरेँ भनेर। 

बटुवा कस्तो अवस्थामा हिँडिरहनुभएको थियो ?
मजदुरहरुले टेकेको मोटो लठ्ठी नै खिइएको देखेँ। जब लठ्ठी नै खिइएको छ भने उहाँहरुको मन कति भासिएको, शरीर कति खिइएको–गलेको होला ? उहाँहरुले लगाएको चप्पल पनि खिइएर कुर्कुच्चा भुइँ छुने भएका छन्। खुट्टामा फोका उठेर, फुटेर हिँड्नै नसक्ने अवस्थामा पनि देखेँ। कति त चर्को घाममा पिच सडकमा खाली खुट्टै हिँडेका छन्। बच्चा रोइरहेका छन्। उत्तिखेरै चर्को घाम लाग्छ, दर्के पानी पर्छ। उनीहरु बिरामी पनि छन्। 

बटुवालाई राज्यबाट केही सहयोग भएको देख्नु भयो कि ?

राज्यले, स्थानीय सरकारका प्रतिनिधिले, नेतागिरी गर्नेले उहाँहरुलाई सहयोग गरेको मैले देखिनँ। उहाँहरुले आफ्नै वडाका, आफ्नै नगरका बासिन्दालाई मात्र कहीँकहीँ केही खानेकुरा बाँडेको देखेँ। राजनीति र मानवता आफ्ना मतदातामा संकुचित भएको देखेर मलाई दिक्दार लागेर आयो। केही ठाउँमा बटुवालाई स्थानीय मनकारी समुदाय, साना पसले, आमा समूह, क्लबले सक्दो सहयोग गरेको पनि देखेँ। तरकारी, दूधका खाली गाडी रोकेर, केही खर्चपर्च दिएर चढाइदिएको देखेँ, दाङमा। हुन त यस्तो भन्न नहुने हो कि तर देखेको कुरा भन्नैपर्छ जस्तो लाग्छ। नारायणगढ बुटबल पूर्वभन्दा पश्चिमतिरको बाटोमा मैले अलि बढी सहयोग गरेको देखेँ। बटुवाहरुलाई बाटोमा पानी राखिदिएको देखेँ। कपिलवस्तुमा खिर पकाएर बटुवाहरुलाई खुवाएको पनि देखेँ। राजनीति गर्नेले केही नगरेको, धनीले भन्दा गरिबले नै बढी सहयोग गरेको वा गर्न खोजेको वा पैसा नभएर सहयोग गर्न नपाउँदा मन दुखाएको देखेँ। ठूलो डेक्चीमा खिचडी जस्तो पकाएर बाटोमा राखिदिएको खुवाएको देखेँ। 

तपाईंलाई धन्यवाद। 
पख्नुहोस् पख्नुहोस् अन्तिममा म एउटा कुरा भन्छु। यो त मैले हिजो मात्र देखेको एक दिनको कुरा भयो। हिँड्ने क्रम पहिले भन्दा यो त धेरै कम हो भन्थे। २५औं दिनसम्म यसरी हिँडिरहेका छन्। यो गर्मीमा बच्चाबच्चीसहित यसरी हप्तौँ भोकै हिँड्नुपर्ने गरी उहाँहरुले के गल्ती गर्नुभएको थियो र यसरी सजाय दिइरहनुभएको भन्न चाहन्छु। 


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.