महामारीमा खाने के, गर्ने के ?
चिन्ता, तनाव, रिस, क्रोध, अहंकार, महत्वाकांक्षा, प्रतिस्पर्धा जस्ता कुराबाट सधैं टाढा रहनुपर्छ। महामारी र प्राकृतिक विपत्तिका बेला मानिसहरूमा मानसिक समस्या बढेर जाने गरेको विभिन्न अध्ययनले देखाएको छ।
अहिले विश्व समुदाय कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ। दुई सय बढी मुलुकमा फैलिएको कोरोना भाइरसबाट संक्रमण हुने र मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दो छ। भाइरसबाट बच्न साबुन पानीले हात धुने, सेनिटाइजर लगाउने, शारिरिक दुरी कायम गर्ने आदि सुरक्षाका उपाय हामी सबैले अपनाएकै छौं। अब यसभन्दा अगाडि बढेर सोच्ने बेला आएको छ।
हामीले भाइरसजन्य रोगबाट बच्न शरीरभित्रको रोग प्रतिरोधात्मक क्षमता अर्थात् जीवनी शक्ति बढाउन आवश्यक हुन्छ। हाम्रो शरीरले जोगाएर राखेको क्षमता हामीआफैंले जोगाएनौं भने शरीर स्वस्थ रहन सक्दैन। भाइरसजन्य रोगको औषधी नगन्य हुन्छ अर्थात् छैन भने पनि हुन्छ। यसबाट बच्ने उपाय भनेको खोपहो। खोप पनि जुनसुकै अवस्थामा सफल हुन्छ भन्न सकिँदैन। भाइरसले आफ्नो स्वरूप, जीवनचक्र परिवर्तन गरिरहेको हुन्छ। अहिले काम गरेको भ्याक्सिनले केही समयपछि काम नगर्न सक्छ।
भाइरस अर्धजीवित हुन्छ, एक्लै केही गर्न सक्दैन। भाइरसमा आरएनए प्रोटिन, फ्याट मलिक्युल्स हुन्छ। यसलाई चिल्लोको तहले बाँधेर राखेको हुन्छ। यो शरीरभित्र प्रवेश गरेपछि मात्रै सक्रिय हुन्छ। त्यसकारण भाइरसलाई आफ्नो नजिक आउन नदिन ध्यान पुर्याउनुपर्छ।
बितेका तीनसय वर्षमा संसारमा विज्ञान र प्रविधिले धेरै फड्को मारेको छ। मानिसले नसोचेका अनेकौंचमत्कारमानिसले नै सम्भव तुल्याएको छ। तर यो विकास रसायन र यन्त्रको क्षेत्रमा मात्रै सीमित भयो। विज्ञानले रैथाने ज्ञान, प्रकृतिबारेधेरै ध्यान दिएन। प्रकृति र मानव अन्तरसम्बन्धबारेअध्ययन गर्न पनि उचित ठानेन। हिजोको ज्ञान, आजको विज्ञान र भोलिको भविष्यलाई बुझेर अघि नबढ्ने हो भने विश्वमा समस्याको चाङ लाग्न सक्छ।
प्रकृतिलाई तीन किसिमले बुझ्न सकिन्छ। पहिलो, बाहिरी प्रकृति अर्थात् हावा, पानी, माटो, घाम, आकाश। हामी सास नफेरी एक मिनेटभन्दा बढी बाँच्न सक्दैनौं। पानीबिना केही दिन पनि बाँच्न सक्दैनौं। त्यसकारण यी कुरा सफा नभएसम्म शरीर स्वस्थ हुँदैन। रोगसँग लड्ने हाम्रो प्रतिरोधी क्षमता घटेर जान्छकिनभने हामीले खाने सबै कुरा यिनै पाँच चिजबाट उत्पादन भएका हुन्छन्।
दोस्रो शरीर रचना र क्रियाविज्ञान एवं त्यसमा महत्वपूर्ण कार्य गर्ने जैव रसायनको अनुकूल जीवन जिउनु पर्छ। यसलाई जीवनी शक्ति अर्थात् रोगसँग लड्ने क्षमता पनि भनिन्छ।तेस्रो, मनको रचना र क्रिया विज्ञान एवं त्यसमा महत्वपूर्ण काम गर्ने चेतना अनुकूल जीवन जिउनु पर्छ। जुन हाम्रो जीवन पद्धतिसँग सम्बन्धित छ। यहाँ हामीले प्रकृतिसँगको सहकार्यले नै मानव जीवन यहाँसम्म आएको हो भन्ने कुरा भुल्नु हुँदैन।
मानिसको मनले सधैं माया, आनन्द, शान्ति, प्रेम खाजिरहेको हुन्छ। तर हामीले मनलाई ठीक विपरीत क्रोध, रिस, राग, घृणा, अहंकार थोपरेका छौं। शरीरमा मनको प्रत्यक्ष प्रभाव हुन्छ। त्यसकारण मनलाई स्वस्थ राख्नुपर्छ, अनावश्यक कुरामा अलमल गर्नु हुँदैन।
कोरोना भाइरसको महामारीले धनी र सुविधासम्पन्न मुलुकलाई पनि सोच्न बाध्य गराएको छ। वर्षौं लगाएर गरिएका वैज्ञानिक खोजपनि यतिबेला हार खाएका छन्।यसो भनिरहँदा मैले विज्ञान र प्रविधिको क्षेत्रमा भएको खोजलाई कम आँक्न खोजेको होइन। हरेक सय वर्षमा आउने यस्ता ठूला महामारी र त्यसको असर भुल्नु हुँदैन। यतिबेला सचेतना जरुरी छ। आगामी दिनमा कोरोना भाइरसले नेपालमा पनि विकराल रूप लिन सक्नेतर्फ ध्यान दिन आवश्यकछ।
बितेका तीन सय वर्षमा औषधोपचारकोक्षेत्रमा पनि व्यापक प्रगति भयो। यसले मान्छेलाई प्रकृतिलाई पनि जित्न सकिन्छ भन्ने भ्रम पैदा गर्यो। तर औषधी विज्ञानको क्षेत्रमा भएको विकास प्रकृतिमैत्री छैन। मानव समुदायले आफ्नो स्वास्थ्यलाई केवल पैसासँग दाँजेर हेर्न थाल्यो। वरिष्ठ चिकित्सक, सुविधा सम्पन्न अस्पताल र औषधीलाई खरिद गर्न पैसा भयो भने स्वस्थ भइन्छ भन्ने भ्रम पैदा भयो। व्यक्तिगत स्वास्थ्यको कुरासमेत डाक्टरको जिम्मामा दिन खोजियो। मानिसलाई स्वस्थ एवं दीर्घ जीवनका लागि सोच्ने फुर्सद भएन। प्राकृतिक जीवनबाट टाढा भएकाले यसले हामी दिनानुदिन रोगी हुँदै गयौं।
प्राकृतिक खाना र व्यायामबाट टाढा भएकैले हामी कमजोर हुँदै गयौं। अहिले भाइरसजन्य महामारीबाट आत्तिनुपर्ने बेला आएको छ। हाम्रो शरीरभित्र रहेको जीवनी शक्तिलाई बचाएर राख्न हाम्रो दैनन्दिनीले मुख्य भूमिका खेल्ने गरेको हुन्छ। त्यसका लागि मुख्य तीन कुरामा ध्यान दिन जरुरी छ।
पहिलो, भोजन व्यवस्थापन। यसमा पाक कलादेखि उत्पादन कलासम्म पर्छ। खानेकुराले जीवनी शक्ति बढाउँछ। त्यसैले प्राकतिक खानामा जोडदिनुपर्छ। फास्ट फुड, बोतलबन्द पेय, जाँड, रक्सी र तमाखुमा शरीरलाई बाधा गर्ने रसायन हुन्छ। यसले जीवनी शक्ति नष्ट गर्छ।
नेपाली खानपान हर किसिमले ठीक छ भनी दाबा गर्न सकिन्छ। गहुँ, चामल जस्ता एकदलीय अनाजमा कार्बोहाइडेट्स पाइन्छ। दाल गेडागुडी जस्ता दुई दलिय अनाजमा प्रोटिन पाइन्छ। हरियो साग पातबाट खनिज, भिटामिन पाइन्छ।। हामीले दिनहुँ खाने चटनीमा सूक्ष्म पोषक तत्व हुन्छ। हजुरआमाका पालासम्म हाम्रो भान्सामा ५० भन्दा बढी मसला थिए। अहिले बेसार, जिरा, धनियाँमा सीमित भएको छ। पिसेर हालिने मसला सुपर फुड हुन् त्यसमा रोगसँग लड्ने क्षमता हुन्छ। घरेलु मसला काँचो लसुन, अदुवा, मरहठी, जिम्बु, पिपला, बेसार, ल्वाङ, सुकमेल अलैंची, चक्रफूल (स्टार अनिस), मेथी, टिम्बुर, दालचिनी आदिलाई फेरिहाम्रा भान्सामा ल्याउनु पर्छ।
करेला, सैजुन, शितलचिनी (सैजन), भेडेखुर्सानी कुरिलो, च्याउ, तामा, गुन्द्रक, छ्यापीमा पनि प्राकृतिक गुण हुन्छ। तील, आलस, भाङ, सिलाम, फिलुंगे आदिबाट बनाइने चटनीले भाइरससँग लड्ने क्षमता विकास गर्छ। जेठी मधु, तुलसी, चिराइतो, कुड्की, गुर्जो, द्रोण पुष्प (गुमपाती), लोठ सल्लो, चुथ्राको बोक्रा, असुरोले रोग प्रतिरोधी क्षमता बढाउँछ। पाँचऔले, शताबरी, यार्सा, अमला, काउछोको बीज, अश्वगन्धा, नरिवल, डाले चुक आदि पोषक जडी हुन्। कोदो गरिबले मात्रै खाने चीज हो भनेर चामल खान प्रेरित गर्ने र सखरखण्ड, गिठ्ठा, भ्यागुर, तरुल खानेहरूलाई आलुको विकल्प दिनेहरूले सोच्ने बेला आएको छ।यी खानेकुरामा जीवाणु र विषाणुरोधक गुण हुन्छ।
दोस्रो,व्यायाम। शरीरलाईसक्रियता चाहिन्छ। योग, प्राणायाम वैज्ञानिक छ भन्ने कुरा विश्वमा प्रमाणित भइसकेको छ। शरीर चलायमान भएन भने रोगसँग लड्ने क्षमतामा ह्रास आउँछ। योगले शरीरलाई सक्रिय राख्छ। यस्तो बेलामा तपाईंले,जसरी योग सिक्नुभएको छ त्यसरी नै निरन्तरता दिनु राम्रो हुन्छ।
हामी अहिले लकडाउनमा छौं। घर बाहिर निस्कन पाएका छैनौं। जसले योग सिक्नुभएको छैन उहाँहरूले सूक्ष्म व्यायाम गर्न आवश्यक छ। अंग व्यायाम (जोर्नीहरू चलाउने), पिटी खेल्ने गर्नुपर्छ। डोरी नाघ्ने अभ्यास उपयोगी हुन्छ।विगतमा भन्दा व्यायाम गर्ने बानी बसाल्नु पर्छ। यसलाई लागि युटुब हेरेर पनि सिक्न सकिन्छ। सूर्य नमस्कार, कपालभाँती प्राणायाम, नाडी सोधन प्राणायाम आदिमा जोड दिनु उपयुक्त हुन्छ। ध्यान विधि यहाँ सामान्यरूपमा बताएर सिकिँदैन। तपाईंले सिकेको ध्यान विधिलाई निरन्तरता दिँदा राम्रो हुन्छ।
तेस्रो, तनाव व्यवस्थापन। यो सबैखाले मानसिक समस्याका लागि आवश्यक छ। चिन्ता, तनाव, रिस, क्रोध, अहंकार, महत्वाकांक्षा, प्रतिस्पर्धा जस्ता कुराबाट सधैं टाढा रहनुपर्छ। महामारी र प्राकृतिक विपत्तिका बेला मानिसहरूमा मानसिक समस्या बढेर जाने गरेको विभिन्न अध्ययनले देखाएको छ। पाँच वर्षअघि भूकम्पपछिकोअवस्था उदाहरणीय छ। त्यसबेला नेपालीहरूमा मानसिक समस्या बढेर गएको अध्ययनले देखाएको छ। यद्यपि त्यसबेला मानिसहरूचौरमा भेला भएर, आपसमा नजिकिएर विपद्सँग जुधेका थिए। समूहमा बसेरमनोरञ्जन गरेका थिए। आफ्ना भावना साटासाट गर्न पाएका थिए।
अहिलेको अवस्था ठीक विपरीत छ। कोठाभित्र, घरभित्र कैद हुनुपरेको छ।यो कहिलेसम्म बढेर जाने हो त्यसको उत्तर पनि कसैसँग छैन। कसैलाई व्यवसायको चिन्ता छ, कसैलाई आफन्तजनको चिन्ता छ। शारीरिक दूरी कायम गर्नुपर्ने भएकाले कसैसँग भेटघाट हुन पाएको छैन। यसले पनि मानसिक असर बढाउन सक्छ। यसको दीर्घकालीन असर पर्छ।
यस्तो बेलामा पढ्ने, लेख्ने, संगीत सुन्ने बानी बसालेर समय व्यतीत गर्न सकिन्छ।बूढापाका खुला पुस्तकालय हुन्। उहाँहरूबाट जीवनका अनुभव सिक्न सकिन्छ। बालबालिकालाई नयाँ काम सिकाउन सकिन्छ। हामीले यतिबेला घर बस्ने समय पाएकामासौभाग्य सम्झिनु पर्छ। यसलाई नयाँ काम सिक्ने र आफूमा भएको क्षमता प्रष्फुटन गर्ने मौकाकारूपमा लिनुपर्छ।
विगतका महामारीभन्दा कोरोना भाइरस फरक छ। कोरोना भाइरस लागेका मानिसको मृृत्युदर भने ३-४ प्रतिशत मात्रै छ। यसकारण पनि जीवनी शक्ति बढाउन महत्वपूर्ण छ। यो भाइरस हावाबाट सर्दैन। त्यसका लागि ४ देखि६फिटको दूरी कायम गर्न सुझाव दिइएको छ। थुक र र्यालबाट मात्रै सर्नेभएकाले सावधानी अपनाउन जरुरी छ।
(नेपाल संस्कृत विश्वविद्यालयको योग तथा प्राकृतिक चिकित्सा विषय समितिका अध्यक्ष पोखरेलसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित।)