८० दिने आइसोलेसनको याद
म त्रिवि केन्द्रीय विभागमा भौतिकशास्त्र प्राध्यापन गर्छु। हाल कोरोना भाइरसले गर्दा मसहित संसारका झन्डै तीन चौथाइ मानिस क्वारेन्टिनमा बसेको देख्दा मलाई आफू जर्मनीमा विद्यावारिधि अध्ययनरत हुँदा ८० दिन आइसोलेसनमा बस्नुपरेको समय याद आइरहेको छ । त्यो समय तुलना गर्दै बसिरहेको भएर हो कि आज त्यति असजिलो महसुस भएको छैन।
८० दिनको आइसोलेसनपछि म पूर्ण स्वस्थ भएर काम गर्नसकें। तर, म कोरोनाभाइरसका कारण नभई अर्कै रोगका कारण आइसोलेसनमा बस्नुपरेको थियो। त्यो रोग त्यहाँ मैले ‘नेपालबाट लिएर गएको रोग’ भनेर चिनिएको थियो। म सन् १९९८ अक्टोबरको अन्त्यतिर जर्मनीको मार्टिन लुथर विश्वविद्यालयमा भौतिकशास्त्रमा विद्यावारिधिमा भर्ना भएको थिएँ। जर्मन भाषा तथा आफ्नो विषयको पढाइ गर्दै थिएँ। त्यत्तिकैमा घरमा बुबा बिरामी हुनु भएकाले अध्यनन बिग्रने गरी छोटो समयका लागि नेपाल आउन आग्रह गरिएको दाइको चिठी आयो।
क्रिसमसको बिदा पारेर डिसेम्बरको तेस्रो साता म नेपाल आएँ। बुबाको अपरेसन सकिएपछि तीन सातापछि जर्मनी फर्केँ । फर्केको दुई सातापछि मलाई सन्चो नभएको अनुभव भयो। ज्वरो बढ्न थालेको थियो। म डाक्टरकहाँ गएँ। त्यहाँको नियमअनुसार पहिले आफ्नो डाक्टर (जसलाई हाउस आर्च भनिन्छ)लाई भेटेँ। म एउटा अपार्टमेन्टमा एक्लै बस्थेँ। नजिकै मेरो डाक्टर हुनुहुन्थ्यो, उहाँलाई भेटेँ। उहाँले सामान्य ज्वरो भनेर प्यारासिटामल दिनुभयो। एक साताजति बितुन्जेलमलाई सन्चो भएन। सो हप्ता डाक्टरलाई दुई पटक भेटेँ। त्यही प्यारासिटामोलको डोज बढाइयो तर सन्चो भएन, उल्टो ज्वरो १०४ डिग्री पुग्यो। अरु बिमार जस्तै खाना नरुच्ने, टाउको दुख्ने, आलस्य बढ्ने क्रम थपिँदै गयो।
असाध्यै कमजोर भएर बाँच्ने आत्मबल नै घट्न थाल्यो। विश्वविद्यालय गएर अध्ययन गर्न गाह्रो हुँदै थियो। मलाई बढी तनाव आफ्नो स्वास्थ्यको हुनथाल्यो। मसँग अरु केही उपाय नभएकाले म फेरि आफ्नो डाक्टरलाई नै भेट्न गएँ। मलाई उहाँको कुरा फेरिएला अथवा अर्को औषधि पाउँछु जस्तो लागेको थिएन। किनकि, यो भन्दा पहिलाको भेटमा उहाँ मलाई देखेर आत्तिए जस्तो अथवा दिक्क माने जस्तो हुनुभएको थियो। त्यसैले म अलि डराउँदै केही नयाँ औषधि अथवा परीक्षण भएमा वा उहाँले अरु केही नयाँ रोग पहिचान गरिदिनुहुन्छ कि भन्ने आशमा उहाँकोमा पुगेँ। त्यो क्लिनिक म बस्ने ठाउँबाट एक किलोमिटर पनि थिएन। तर, मलाई त्यत्ति हिँड्न पनि निकै नै गाह्रो भएको थियो।
ढल्छु कि जस्तो लाग्थ्यो। म जेनतेन उहाँको क्लिनिकसम्म पुगेँ। मेरो पालो आएपछि पहिलो कुराकानीमा नै उहाँले भन्नुभयो ‘तपाईंले आफ्नो देशबाट कुनै रोग लिएर आउनुभएको छ जस्तो लाग्यो, तपाईं ल्याप्जिगको अस्पतालमा जानुहोस् म फोनमा कुरा गर्छु।’ तुरुन्तै फोन गर्नुभयो। आफ्नो सेक्रेटरीलाई चिठी लेखिदिन अह्राउनुभयो। म त्यो चिठी लिएर त्यहाँबाट कोठामा पुगेँ। तर, मलाई एक्लै पुग्न सक्छु जस्तो लागेको थिएन। साथी पनि कोही थिएन। भएका साथीहरू सबै आफ्नो कार्यालयको काममा व्यस्त थिए, सहयोग माग्ने आँटै आएन। एकैछिन कोठामा नै आराम गरेर निस्केँ। २५ मिनेट ट्राम चढेर म बल्ल रेल स्टेसन पुगेँ। ४५ मिनेट जति रेलमा हिँडेपछि म ल्याप्जिगको रेल स्टेसन पुगेँ। त्यसपछि ट्याक्सी चढेर ल्याप्जिग अस्पताल पुगेँ।
त्यहाँ पुगेर चिठी दिन नपाउँदै मलाई वार्डमा लैजान स्ट्रेचर लिएर दुईजना नर्स आउनुभयो। किनकि, मेरो डाक्टरले फोन गरिदिनुभएकाले त्यहाँ पहिला नै खबर पुगिसकेको थियो। अस्पतालमा भीड थिएन, बिरामी निकै कम थिए। मलाई एउटा सिंगल कोठामा पठाइयो। अट्याच बाथरूमकोसमेत व्यवस्था भएको कोठा थियो त्यो। मलाई त्यहाँ पुग्ने बेलासम्म भर्ना भएर अस्पताल बस्ने हो वा चेकअप गरी फेरि साँझ फर्कने थाहा थिएन। त्यसैले, रेलको टिकट फर्कने पनि लिएको थिएँ। तर, मलाई भर्ना गरी त्यहीँ राखियो।
म असाध्यै शिथिल भएकाले बस्न पाउँदा खुसी पनि भएँ। त्यसको केही समयमा एक जना आउनुभयो र कसले यहाँ ल्याइदियो तपाईंको परिवार पनि यहीँ भर्ना गर्नुपर्छ, फोन गरेर बोलाउनुहोस् भन्नुभयो। मैले म एक्लै बस्छु मेरा परिवार नेपालमा नै छन् भनेँ तर पत्याउनु भएन। यस्तो अवस्थाको मानिस कसरी एक्लै त्यहाँबाट आएको भन्नुभयो। म धेरै बोल्न सक्ने अवस्थामा पनि थिइनँ। त्यहाँ म अंग्रेजी मात्र बोल्छु भन्ने थाहा भएकाले अंग्रेजी बोल्न जान्ने नर्स र डाक्टरमात्र आएर कुरा गर्थे। साँझमा डाक्टर आएर आफ्नो परिचय दिएर म तपाईंकै डाक्टर हुँ, नआत्तिनू भनेर सम्झाउनु भयो। मेरा लागि समय समयमा खाना आउँथ्यो।
दोस्रो र तेस्रो दिन बित्यो। तर, मेरा लागि खास उपचार सुरु भए जस्तो लागेन। अनि, डाक्टरलाई सोधेको इन्भेस्टिगेसन हुँदैछ मात्र भन्नुभयो। चौथो दिन डाक्टरले भन्नुभयो, ‘तपाईंलाई सारै खतरनाक ब्याक्टेरियाले आक्रमण गरेको रहेछ। हामी उपचार गर्दैछौं।’ त्यसपछि मेरो उपचार सुरु भयो। झोलिलो पदार्थ धेरै खान दिने अनि थेरापी भनेर एउटा ट्याब्लेट दिने गरिन्थ्यो। दिनमा धेरै पटक नर्स आउँथे भने डाक्टर तीनपटक। मेरो आत्मबल बढ्दै गयो। डाक्टरहरूले बचाउनेछन्
जस्तो लाग्न थाल्यो। दुई÷चार दिनमा नै मेरो शरीरमा फूर्ति बढे जस्तो लाग्यो। त्यहाँ आउने नर्स तथा डाक्टरहरू असाध्यै दयालु हुनुहुन्थ्यो। मलाई त्यति धेरै दयालु मानिसहरू हुन्छन् जस्तो लागेको थिएन। उहाँहरू आफ्नो कर्तव्यबाट मात्र नभएर सेवाको भावनाबाट त्यहाँ काम गर्नुहुन्थ्यो जस्तो लाग्थ्यो। मलाई त्यहाँको खानपिन तथा थेरापीको उपचारले निको भएको र घर जानसक्ने अवस्था जस्तो लाग्न थाल्यो। म ३ फेब्रुअरीमा भर्ना भएको, उपचार सुरु भएको तीन÷चार दिनमा ७ फेबु्रअरीसम्म नै ममा धेरै परिवर्तन आयो। म कहिले डिस्चार्ज हुन्छु भनेर सोध्न थालेँ। किनकि, २२ फेबु्रअरीमा विश्वविद्यालयमा मेरो आफ्नो अध्ययनको प्रगति विवरण बुझाउनुपर्ने थियो। सिकेका सबै कुरा समेटेर एउटा सेमिनार दिनुपर्ने थियो। मैले एकदिन बिहानै डाक्टरलाई दुईवटा कुरा सोधेँ। पहिलो त के रोग हो बुझ्न मन लागेको थियो।
उहाँले आत्तिन्छ भनेर होला सायद के भएको भन्दा असाध्यै खतरनाक ब्याक्टेरियाले आक्रमण गरेकोबाहेक अरु कुरा गर्नुहुँदैनथ्यो। मेरो दोस्रो प्रश्न स्वाभाविक रूपमा कहिले डिस्चार्ज हुन्छु भन्ने नै हो। किनकि, म त्यहाँ आइसोलेसनमा थिएँ। उहाँले जवाफ दिनुभएन तर मलाई सुधार भएको छ वा छैन भन्ने कुरामा बढी ध्यानदिनुभयो। त्यही दिन दिउँसो एक जना नर्सले मेरो कोठामा टेलिभिजन ल्याएर जोड्नुभयो। पहिलो कुरा त मलाई अस्पतालमा त्यसरी बस्दा टेलिभिजन हेर्ने पनि व्यवस्था हुन्छ भन्ने थाहा थिएन। यो खुसीको कुरा थियो कि मेरो अस्पतालको बसाइ धेरै नै सजिलो हुनेभयो। मैले धेरै नै सन्चो अनुभव पनि गरेको र अब बस्दा टेलिभिजन हेरेर समय कटाउन सजिलो हुनेछ भनेर खुसी भएँ।
तर, अब मेरो अस्पताल बसाइ लामो हुने त हैन भनी अलि डर पनि लाग्यो। मैले सकारात्मक नै सोँचे, एक÷दुई दिन भए पनि झ्याउ नलागोस् भनेर टेलिभिजन ल्याएका होलान् जस्तो लाग्यो। म त्यहाँ पुगेको दिनबाट नै मेरो कोठामै एउटा टेलिफोन जोडेका थिए। मलाई डाक्टरले भन्नुभयो, फोनको पैसा तपाईंले तिर्नुपर्छ अरु अस्पतालको उपचारको खर्च इन्स्योरेन्स कम्पनी आओकाले तिर्छ। पहिलो दिन त म केही गर्न नसक्ने थिएँ। दोस्रो दिनबाट फोन गरेर नेपालमा आफन्त तथा त्यहाँ रहेका केही साथी र आफ्नो सुपरभाइजरलाई आफू बिरामी भएर अस्पताल भर्ना भएको जनकारी दिन सकेको थिएँ।
डाक्टरसँग भोलिपल्ट अघिल्लो दिनकै दुईवटा प्रश्न सोधेँ, पहिलो- मलाई आक्रमण गर्ने ब्याक्टेरियाको नाम सल्मोनेल्ला (टाइफाइड गराउने जीवाणु) हो ? उहाँले टाउको हल्लाउँदै हो भन्नुभयो। मैले नेपालमा भएको भए केही एन्टिबायोटिक खाएर आफ्नो काम गर्ने थिएँ, अस्पताल भर्ना हुनुपर्ने थिएन होला। दोस्रो- प्रश्नको जवाफमा उहाँले केही दिन बस्नुपर्ने भन्नुभयो तर यति दिन भनी पूरा जानकारी दिनुभएन। मलाई ठूलो राहत महसुस भो, के भएर बिरामी भएको भन्ने कुराको जानकारी पाएँ। यसो बुझ्दा केही दिन बस्नुपर्ने होला जस्तो लाग्यो। म पूरा लकडाउनमा थिएँ। मलाई त्यतिबेलासम्म धेरै ठीक भएको अनुभव भएको थियो।
आफ्नो कार्यालय गएर काम गर्न सक्छु जस्तो लाग्यो त्यो सब मेरा लागिमात्र थियो भन्ने सोचेर म दुःखी भइनँ। म अब सुत्नु, उठ्नु, खाना खानु, टेलिभिजन हेर्नु र फोन गर्नुमै सीमित भएँ। त्यसको केही दिनमा मेरो विश्वविद्यालयमा नै अध्ययन गर्ने साथी रामेश्वर अधिकारी मलाई भेट्न आउनुभयो। मलाई एउटा किताब ल्याइदिनुभयो। यसरी मैले एक साताजति बिताएँ।
मलाई लाग्यो, अब त पूरा तन्दुरुस्त नै भएँ। कति दिनपो राख्छन् होला भन्ने भयो। त्यसैदिन एक जना नर्स आउनुभयो। आफ्नो काम सकेर पनि केही समय बसेर कुरा गर्नुभयो। उहाँले भन्नुभयो, ‘यस्तो सरुवा रोग लागेको मानिस अस्पतालबाट पूरा निको नभई भागेको रेकर्ड पनि छ तर त्यसो गरेमा इन्स्योरेन्सले त्यसको खर्च व्यहोर्दैन।’
मैले भनेँ, ‘म चाँडो जान चाहन्छु तर यहाँको नियम विपरीत होइन। सकेसम्म चाँडो घर जान पाए हुन्थ्यो मात्र भनेको।’ औषधि सुरु गरेको झन्डै तीन साताजति बल्ल त्यसको डोज घटाएर दिन थालियो। यही बीचमा मेरो डाक्टर बिदामा बस्नुभएको दिन अर्को डाक्टर आउनुभयो। उहाँ नेपाल आउनुभएको रहेछ। धेरै बेर कुरा गर्नुभयो। बनारस हुँदै नेपाल आएर ट्रेकिङ गएको कुरा सुनाउनु भयो। निकै रमाइलो लाग्यो मलाई। त्यहीबीचमा मलाई सरुवा रोग लागेको कुरा म पढ्ने कलेजमा थाहा भएर त्यो अफिसका सबै जनाको स्टुल (दिसा) जाँचेको रहेछ। उता, मसँगै इटलीमा अध्ययन गरेको ट्युनिसियाको साथी इमादलाई पनि मलाई जस्तै टाइफाइड भएर मृत्यु भएको खबर मैले सुनेँ। तर, म निको भइसकेकोले कत्ति पनि डराइनँ।
मार्चको पहिलो साता मेरो डाक्टरले भन्नुभो, ‘यो टाइफाइड हाम्रो देशमा हुँदैन र यहाँका एक/दुईवटा विश्वविद्यालयमा मात्र पढाइ हुन्छ। तर, हिजोआज अफ्रिका र भारतबाट यहाँ आउनेको संख्या बढेकाले यहाँ कहिलेकाहीँ यो रोग देखिन थालेको छ। हाम्रो यो ल्याप्जिग विश्वविद्यालयमा मेडिसिन पढ्ने विद्यार्थी तपाईंसँग कुरा गरेर यो रोगबारे केही बुझ्न चाहनुहुन्छ, सहयोग गर्न सक्नुहुन्छ ?’ मैले त्यसलाई सहर्ष स्वीकार गरेँ। कोठा सानो भएकाले एकदिनमा चार जनाजति मात्र बोलाउँछु भन्नुभयो। त्यसपछि दिउँसोतिर मेरो समयको राम्रो सदुपयोग भयो। त्यहाँ दैनिक चार जना विद्यार्थी आउँथे र म आफ्नो अनुभव सुनाउँथेँ।
यसरी मेरो दिनचर्या त्यही एउटा कोठामै सीमित रहेर ८० दिन बित्यो।
अब त औषधि पनि सकिएको थियो। हुनत त्यो कुनै एन्टिबायोटिक नभई थेरापी गरेको भन्दै दिनुहुन्थ्यो। मैले अस्पतालबाट बिदा पाउने दिन खोज्दै थिएँ। त्यहाँ त्यस्तो भएन। मलाई पूरा सन्चो भए पनि डाक्टर हरेक दिन आएर भेट्नुहुन्थ्यो। त्यसरी ८० दिनको आइसोलेसनपछि मात्र म त्यो अस्पतालको बेडबाट बाहिर निस्केँ। यसरी झन्डै तीन महिनापछि म मेरो विभागमा पुग्दा मेरो विभागीय प्रमुखले हात मिलाउँदै ‘आई एम ग्ल्याड टू सी यू अगेन’ भन्नुभयो। सरुवा रोग कति घातक हुन्छ, किताबमा त पढेको थिएँ, आफैंलाई परेपछि राम्ररी बुझेँ। स्वास्थ्य रहे जीवन रहन्छ।
होम क्वारेन्टिन वा आइसोलेसनपछि स्वस्थ भएर पछि थाँती रहेका सम्पूर्ण काम गर्न सकिन्छ। तर, होम क्वारेन्टिन वा आइसोलेसन मात्रै सबैथोक पनि होइन। देशको आपूर्ति र स्वास्थ्य सेवा भरपर्दो हुनुपर्छ। हामीलाई संक्रमण देखिइहालेमा उपचारका गरिने हस्पिटलका स्टाफहरूको व्यवहार मित्रवत् हुनुपर्छ।