क्वारेन्टाइनबाट भागेका पर्यटक घोडेपानीमा
बेनी : पोखराको क्वारेन्टाइनबाट केही दिनअघि भागेका दुई जना पर्यटक म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीमा भेटिएका छन् । कोरोना रोकथामका लागि गरिएको लकडाउन (बन्दाबन्दी)को समयमा पदयात्रामा आएका एक पुरुष र एक जना महिलालाई घोडेपानीबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
स्थानीय होटल व्यवसायीले बन्दाबन्दीको समयमा आएका पर्यटकलाई घोडेपानी पर्यटक प्रहरी चौकीको जिम्मा लगाएका थिए । पि ०४०४३९५२ नम्बरको पासपोर्ट भएका गुसङ हुन (GUOSNG HUN) पुरुष र जि ५१५३५५७६ नम्बरको पासपोर्ट भएकी (सुनफिन लिअङ (SUANFEN LIANG) को उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिए ।
सन २०२० मार्च १० तारिकका दिन पोखरा प्रवेश गरेका उनीहरु कास्कीको घान्द्रुक हुँदै घोडेपानी आइपुगेका हुन् । उनीहरुलाई घोडेपानीबाट भुरुङ्ग तातोपानीको सर्वोदय माविको भवनमा अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइन (एकान्तबास)मा राखिएको छ ।
सोधपुछका क्रममा उनीहरु पोखराको क्वारेन्टाइनबाट भागेर पदयात्रामा आएका अन्नपूर्ण गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक समुन्द्र बरुवालले बताए । शुक्रबार साँझ भुरुङ तातोपानीको क्वारेन्टाइनमा राखिएका उनीहरुलाई शनिबार स्वास्थ्य परीक्षण गरेर जिल्ला प्रहरी कार्यालय बेनी पठाइएको छ।
उनीहरुलाई चिनियाँ राजदुतावासमा सम्पर्क गरेर जिम्मा लगाइने प्रहरीले जनाएको छ । लकडाउनकै अवधिमा रघुगंगा गाउँपालिका–१ बेगमा दुई जना चिनियाँ र बेनी नगरपालिका–६ गुफाबाट एक जना दक्षिण कोरियाका पर्यटकको उद्धार गरिएको थियो।