तनहुँमा बाहिरका तरकारी प्रतिबन्ध,
दमौली : तनहुँमा जिल्ला बाहिरबाट तरकारी प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ । कोरोनाको जोखिम बढेको निष्कर्ष निकाल्दै तहहरुले देशका विभिन्न भागबाट आउने तरकारी जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेका हुन् ।
व्यास नगरपालिकाको अगुवाईमा बसेको स्थानीय तहहरु, सुरक्षा अधिकारी तथा व्यवसायी समेतको बैठकले भारतको तरकारी समेत देशभित्रैको भनेर आउन थालेपछि जोखिमबाट जोगिन यस्तो निर्णय गर्ने सहमति गरेको हो । उनीहरुले जिल्लामा भारत र चीनबाट आउने फलफूल आयातमा समेत प्रतिबन्धको घोषणा गरेका छन् । गण्डकी प्रदेशको प्रमुख नाका तनहुँ भएकाले तनहुँले गर्ने यस्तो निर्णयले प्रदेशको आपूर्तिमा पनि प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ ।
बैठकमा सहभागी प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले स्थानीय तहहरुले आफ्नो क्षेत्रमा जोखिम कम गर्ने हिसाबले निर्णय गरेको बताए । ‘आफ्नो क्षेत्रमा सजगता अपनाउने हिसाबले तहहरुले बाहिरबाट तरकारी आउन नदिने निर्णय गरेका हुन्,’ उनले भने । जिल्लाका सबै तहको प्रतिनिधित्व रहेको स्थानीय संकट व्यवस्थापन समितिको नाममा यस्तो निर्णय गरिएको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेले जिल्लाभर नै जोखिमको अवस्थालाई मध्यनजर गरी यस्तो निर्णय गरिएको बताए ।
जिल्लाभित्रका किसानले बजार नपाएकाले तरकारी खेर गइरहेको गुनासो समेत गरिरहेका बेला यसले किसानलाई भने हौस्याएको छ । केही दिनअघि मात्र आँबुखैरेनी गाउँपालिकाका किसानले आफ्नो तरकारी बजारमा खपत नहुँदा खेर जाने अवस्था आएको गुनासो गरेका थिए । आँबुखैरेनीको मार्किचोकका तरकारी उत्पादक किसान शोलबहादुर चितौरेले तत्काल तरकारीको बजार व्यवस्था नगर्ने हो भने किसान ठूलो मार पर्ने अवस्था आएको बताए । उनले जिल्ला बाहिरका तरकारी नआउने भएपछि आफ्ना उत्पादन खपत हुने विश्वास गरे । ‘जिल्लाको माग हाम्रा उत्पादनले धान्न सक्छन्,’ उनले भने, ‘यो निर्णय सहि छ ।’ उनले दैनिक २० हजार किलो तरकारी आँबुखैरेनी गाउँपालिकाबाट मात्र आपूर्ति गर्न सकिने दाबी गरे । ‘जोखिम निराकरण र किसानको राहतका लागि यो निर्णय सहि छ,’ उनले भने ।
स्थानीय तहहरुले जिल्ला भित्र नै प्रवेशमा आउन नदिने भएकाले यसले प्रदेश राजधानी पोखरामा तरकारी अभाव हुने त होइन भन्ने आशंका गरिएको छ । स्थानीय तहबाट यस्तो निर्णय गर्न लागेको थाहा पाए पछि गण्डकी प्रदेश सरकारले पनि यस विषयमा चासो राखेको थियो । तर स्थानीय तहहरुले यो आफ्नो क्षेत्राधिकारमा पर्ने भन्दै जोखिम कम गर्न निर्णय गरेको बताएका थिए । सँगै, प्रदेश राजधानीका लागि तरकारी आपूर्ति गर्न आफूहरु तयार रहेको पनि किसान र व्यवसायीका प्रतिनिधिले बताएका थिए । ‘तनहुँमै प्रशस्त उत्पादन हुने भएकाले पोखराको माग धान्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष छ,’ तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ले भने,‘व्यवसायी र किसान आवश्यक आपूर्तिका लागि तयार छन् ।’
तरकारी र फलफूलमा प्रतिबन्ध लगाउँदै तनहुँका स्थानीय तहहरुको समितिले गरेको निर्णय ।