हावाहुरीले घर भत्किँदा चारजना सुरक्षाकर्मी घाइते, बालीनालीमा क्षति
रौतहट : रौतहटमा शुक्रबार राति आएको हावाहुरीले सशस्त्र प्रहरी बस्ने अस्थायी घर भत्किँदा चारजना सुरक्षाकर्मीलाई चोटपटक लागेको छ । उनीहरूको बंकुलमा उपचार भइरहेको प्रहरी निरिक्षक दिपनरसिंह राईले जानकारी दिएप्रहरी निरिक्षक दिपनरसिंह राईले जानकारी दिए ।
भारतीय सीमानासँगै रहेको बंकुल स्थित पोस्ट हावाहुरीले भत्काउँदा सशस्त्र प्रहरी हवल्दार जंगबहादुर दराई, प्रहरी जवानहरु धिरेन्द्र साह कलवार, विरेन्द्र साह कानु र प्रथलाल श्रेष्ठलाई चोटपटक लागेको पोष्टका इन्चार्ज प्रहरी निरीक्षक राईले बताए ।
हावाहुरी र असिनाले चन्द्रपुर नपाको चन्द्रनिगाहपुर, बेतौना , बैजनाथपुर ,सन्तपुर ,अल्टोकी ,मरधर सिन्दुरेघारी नजरपुर ,चेतनगर , मरिनटोल लगायतका गाउँमा पनि धेरै क्षति गरेको नजरपुरका स्थानीय मदन सापकोटाले बताए ।
यस्तै चन्द्रपुर नपा ९ चेचनगरस्थित मुसहर बस्तीका झुपडीका छानाहरु उडाएकोले बिचल्ली भएको स्थानीय इन्दल माझीले बताएका छन् । हजारौँ बिगाहमा लगाएको हाइब्रिड मकै असिनाले नष्ट गरेको छ । यस्तै दलहन र तरकारी बाली, आँप, केरा, लिच्ची फूलमा क्षति पुगेको छ ।
खपटा र टायलले छाएका घरका खपटा, टायल फुटेका छन् । जस्ता उडाएको छ । चन्द्रपुर ६ को नयाँबस्ती, नागिनटोलमा घरहरू भत्किएका छन्।
चन्द्रपुर ६ को मोथीयाही टोलमा रहेको अधिकांश घरको खपटा उडाएको स्थानीय बलिराम चौधरीले जानकारी दिए । यस्तै सोही वडाको थोकर टोल, बेल्डी , झन्झनेटोल, गैरीगाउँ, जल्दामा खेतीबाली र घरमा क्षति गरेको स्थानीय युवा सहदेव केसीले जानकारी दिए।
रौतहटका विभिन्न स्थानमा विद्युत अवरुद्ध भएको छ । बिजुलीका पोल ढलेका छन । केही स्थानमा रुख भाँच्चिएर तार चुँडिएका छन् । इन्टरनेटका तार चुँडिएका छन् । मौलापुर नपा ५ का एकदर्जन बढी घरको छाना उडाएको छ । बौधीमाई नाको सरमुजुवाटोलमा ५० भन्दा बढी घर तथा गोठको छाना उडाएको स्थानीयले जनाएका छन् ।
हावाहुरी तथा असिनाले गहुबाली, मकै, फलफुलमा धेरै क्षति भएको देवाहीगोनाही नपाकी उपमेयर परनिया देवी पटेलले जानकारी दिएकी छिन् । यस्तै नेकपाका जिल्ला इन्चार्ज युवराज भट्टराईले पिडित किसानलाई राहात उपलब्ध गराउन तथ्याङ्क संकलन गर्न स्थानीय प्रशासन तथा स्थानीय तहसँग आग्रह गरेका छन् ।