पाँच कोरोना संक्रमितमध्ये पुन: परीक्षणमा एकको नेगेटिभ रिपोर्ट
धनगढी : सुदूरपश्चिमका पाँच जना कोरोना संक्रमितमध्ये एक जनाको रिपोर्ट नेगेटिभ आएको छ। त्यस्तै चार जनाको रिपोर्ट पुनः पोजेटिभ आएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका-५ का ३४ वर्षीय युवक, उनकी ३४ वर्षीय भाउजू, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ jर्षीय पुरुष र लम्कीचुहा नगरपालिका-१ की ६५ वर्षीय महिलाको कोरोना रिपोर्ट फेरि पोजेटिभ आएको छ।
सेती प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर जगदीश जोशीका अनुसार तीनजनाको तेस्रो र लम्कीचुहा नगरपालिका-१ की महिलाको दोस्रो रिपोर्ट पोजेटिभ आएको हो । एक जनाको नेगेटिभ संक्रमितमध्ये एक संक्रमितको दोस्रो रिपोर्ट भने नेगेटिभ आएको छ।
दोस्रो रिपोर्ट नेगेटिभ आउनेमा लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक रहेका छन् । उनको रिपोर्ट नेगेटिभ आएपनि अहिले उनलाई अस्पतालको आइसोलेसनमै राखिएको छ। डा. जोशीका अनुसार लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गरिन्छ। धनगढी उपमहानगरपालिका–५ का युवकको तेस्रो रिपोर्ट यसअघि नै आइसकेकोमा अब चौथो पटक परीक्षणको तयारी भइरहेकोसमेत डा. जोशीले जानकारी दिए । संक्रमित पाँच जना सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्। सबैको स्वास्थ्य सामान्य नै रहेको अस्पतालले जनाएको छ।