विकास बजेटबाहेक सबै कोरोना नियन्त्रणमा खर्च गरिने

विकास बजेटबाहेक सबै कोरोना नियन्त्रणमा खर्च गरिने

बैतडी : बैतडीको पुर्चौंडी नगरपालिकाले विकास बजेटबाहेकका सबै बजेट कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गर्ने निर्णय गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण नगरस्तरीय समन्वय समितिले यस्तो निर्णय गरेको नगरपालिकाका प्रवक्ता दलबहादुर धामीले जानकारी दिए । उनले भने, ‘विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले हाम्रो देश पनि अछुतो छैन । त्यसैले यसको सम्भावित जोखिमबाट बच्नका लागि विकासका लागि छुट्याएको बाहेक अन्य शीर्षकको सबै रकम कोरोना भाइरस रोकथाम र नियन्त्रणमा खर्च गर्ने निर्णय गरेका छौं ।’

यस्तै नेपाल सरकारले पारित गरेको क्वारेन्टाइन निर्माण कार्यविधि २०७६ अनुसार ३ सय ५० बेडको क्वारेन्टाइन निर्माण गर्ने निर्णयसमेत भएको प्रवक्ता धामीले बताए । उनले भने, ‘सीमापारि रहेका धेरैजसो मजदुर पुर्चौंडी नगरपालिकाका छन् । उनीहरूलाई स्वदेश ल्याइएमा क्वारेन्टाइनमा राख्न सजिलो होस् भनेर हामीले हाटमा ३५० बेडका व्यवस्थित क्वारेन्टाइन बनाउने निर्णय गरेका छौं ।’

यस्तै कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि एक वडादेखि अर्को वडामा आवतजावतमा प्रतिबन्ध लगाउने निर्णयसमेत नगरपालिकाले जनाएको छ । 

दलित परिवारलाई राहत दिने 

जिल्लाको सुर्नया गाउँपालिकाले गाउँपालिकाभरिका प्रत्येक दलित परिवारलाई राहत वितरण गर्ने भएको छ । जारी लकडाउनका कारण दलित समुदायका परिवार अरुभन्दा समस्यामा परेको भन्दै गाउँपालिकाले यस्तो निर्णय गरेको हो । 

गाउँकार्यपालिकाको बैठकले कोरोना भाइरस(कोभिड १९) सङक्रमण रोकथाम तथा उपचार कोष सन्चालन सम्बन्धी कार्यविधि २०७७ पारित गरेको र सोही कार्यविधिमा टेकेर राहत वितरण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टले बताए । 

यस्तै लकडाउनका कारण समस्यामा परेका असंगठित क्षेत्रका मजदुर, घर भएका तर जग्गा नभएका परिवार, असहाय, अपांगता भएका व्यक्तिहरुलाई समेत राहत वितरण गर्ने निर्णय भएको उनले सुनाए । उनले भने, ‘जारी लकडाउनका कारण दैनिक छाक टार्न मुस्किल भएका नागरिकहरुलाई राहत वितरण गर्ने निर्णय गरेका छौं ।’

राहत वितरणका लागि वडाहरुको समन्वयमा तथ्यांक संकलन गरिने र कार्यविधिमा समेटिएकाहरुलाई राहत वितरण गरिने अध्यक्ष बिष्टले बताए । राहत पाउने प्रति परिवारलाई १० केजी चामल, २ केजी नुन, १ लिटर तेल र २ साबुन वितरण गरिने गाउँपालिकाले जनाएको छ । 

घरमै निशुल्क औषधि 

जिल्लाको डिलाशैनी गाउँपालिकाले गाउँपालिकाभरीका दीर्घरोगीहरुका लागि घरमै निशुल्क औषधि पुर्याउने भएको छ । जारी लकडाउनका कारण नियमित औषधि सेवन गर्नुपर्ने नागरिकलाई सहजताका लागि गाउँपालिकाले यस्तो निर्णय गरेको गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति पुरुषोत्तम नाथ योगीले बताए । 

दम, मधुमेह,मुटुरोग लगायत  लामो समयदेखि औषधि सेवन गरिरहेकाहरुलाई महिला स्वास्थ्य स्वयंसेविका मार्फत सम्बन्धित बिरामीको घरमा पुर्याउने व्यवस्था गर्न लागिएको उनले बताए । 

प्रत्येक वडामा नियमित औषधि सेवन गरिरहेका नागरिकहरुको तथ्यांक संकलन गरिने र त्यसपछि गाउँपालिकाले औषधि खरीद गरेर घरघरमा पुर्याउने योगीले बताए । लकडाउन अवधिभर नियमित औषधि सेवन गरीरहेकाका लागि यो व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.