मुस्ताङका स्वास्थ्यकर्मीलाई कोरोना शिक्षा
जोमसोम : गण्डकी प्रदेश पोखरामा कार्यरत ५ जना विशेषज्ञ चिकित्सक टोली शुक्रबार हिमालपारीको जिल्ला मुस्ताङ आएको छ । गण्डकी प्रदेश क्षेत्रीय स्वास्थ्य निर्देशनालयको समन्वयमा मुस्ताङ आएका चिकित्सक टोलीले जोमसोममा कोरोना विशेष कार्यक्रम गरे।
मुस्ताङ जिल्लामा कार्यरत मेडिकल चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना भाइरस ( कोभिड–१९) रोकथाम तथा नियन्त्रण र यसको सावधानी र उपचार पद्दतीमा योगदान पूर्याउने उद्देश्यले गण्डकी प्रदेशको चिकित्सक टोली मुस्ताङ आएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका फिजिसियन डा.बुद्धिसागर लामिछाने, डब्लु एचओ का डा. रामु शर्मा ,मणिपाल शिक्षण अस्पतालका डा. धर्मराज भट्ट, क्षेत्रीय स्वास्थ्य निर्देशनालयका शिवप्रसाद बडेल र ऋषिराम शर्मा मुस्ताङ आएका भण्डारीले बताए ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालको अध्यक्षतामा शनिबार आयोजित कोरोना भाइरस ( कोभिड–१९) रोकथाम तथा नियन्त्रण विशेष अभिमुखीकरण कार्यक्रममा डब्लुएचओ का डा. रामु शर्माले कोरोना रोकथाम तथा नियन्त्रणका बिषयमा ,गण्डकी अस्पतालका तर्फबाट फिजिसियन डा. बुद्धिसागर लामिछानेले कोरोना उपचार पद्धति सम्वन्धमा र मणिपाल शिक्षण अस्पतालका तर्फबाट डा. धर्मराज भट्टले ल्याब र स्याम्पल कलेक्सनका सम्वन्धमा अलग-अलग प्रस्तुतिकरण गरेका छन् ।
डब्लु एच ओ डा. रामु श्रेष्ठले विश्वमै माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रादेशिक सरकार र स्थानीय सरकारले हातेमालो गरेर कोरोनाविरुद्ध सहकार्य गरेको बताए । उनले प्रादेशिक चिकित्सकले स्थानीय तहका चिकित्सक र स्वास्थ्यकर्मीको दक्षता र क्षमता अभिबृद्धि गर्न कार्यक्रमले सहयोग पुर्याउने जानकारी दिए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पतालका चिकित्सक तथा नर्स, ५ वटै स्थानीय तहका स्वास्थ्यकर्मी र विभिन्न सरोकारवाला निकायको सहभागिता थियो ।