जमाती बसेको टोल शिल गरी सबैको परीक्षण
राजविराज : उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा फेला परेका कोरोना संक्रमितहरू सप्तरीको सप्तकोशी नगरपालिकाको मस्जिदमा बसेको खुलेपछि मस्जिद रहेको वडा नम्बर १, २ र ४ मा आवतजावत बन्द गरिएको छ ।
वडा नम्बर १ को मस्जिदमा फागुन १५ र १६ गते संक्रमित १२ जना बसेर गएको प्रत्यक्षदर्शीले बताएपछि मस्जिद रहेको मुस्लिम टोलहरूमा प्रवेश निषेध गर्दै आवतजावत बन्द गरिएको सप्तकोशी नगरपालिकाले जनाएको हो ।
धर्मप्रचारका क्रममा उनीहरू सप्तकोशीका अन्य मस्जिदमा पनि गएको हुन सक्ने अनुमानका आधारमा मस्जिद रहेको वडा नम्बर १ सँगै २ र ४ वडामा पनि आवतजावतमा रोक लगाइ स्थानीयवासीको आरडिटी किटबाट परीक्षण गर्न लागिएको छ । मस्जिदमा नमाज पढ्न जाने, मौलवी, भान्सेसहित संक्रमितको सम्पर्कमा आउने सम्भावित व्यक्तिलाई पहिलो चरणमा परीक्षण गर्न लागिएको नगर प्रमुख उत्तम शर्माले बताए ।
परीक्षणका लागि वडा नम्बर १ का ७० जना, वडा नम्बर २ का दुई सय जना र वडा नम्बर ३ का ८३ जनालाई छनौट गरिएको सप्तकोशी नगरपालिका वडा नम्बर २ का सदस्य जाहिर हुसेनले जानकारी दिए ।
कोरोना पुष्टि भएका १२ भारतीय नागरिक चर्खिया हुँदै सप्तकोशीको फत्तेपुरस्थित मस्जिदमा केही दिन बसेर उदयपुर प्रवेश गरेको खुलेपछि सप्तकोसी नगरपालिकावासी त्रसित बनेका छन् । ‘सप्तरीको वोदेबर्साइन नगरपालिका ५ जाँजरमा फागुन ३ देखि ५ गतेसम्म भएको धार्मिक सम्मेलन ‘इज्तिमा’पछि धेरै सङ्ख्यामा जमाती आएर बसेका थिए ।अहिले रेकर्ड छैन’, हुसेनले भने, ‘पछिल्लो पटक फागुन १५ र १६ गते धर्म प्रचारमा हिंडेका जमाती नै उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको मस्जिदमा भेटिएको मुस्लिम अगुवाहरूको अनुमान छ ।’ फागुन २५ गते उदयपुरको चौदण्डीगढी नगरपालिका ५ स्थित सिवाइ मस्जिद पुगेका उनीहरू त्यहाँ पाँच दिन बसेपछि त्रियुगा नगरपालिका प्रवेश गरेको वडाध्यक्ष देवनारायण चौधरीले बताए ।
त्यसअघि उनीहरू उदयपुरको चौदण्डीगढी र बेलका नगरपालिकासँग जोडिएको सप्तरीको सप्तकोसी नगरपालिका १ स्थित मस्जिदमा बसेर उदयपुरतर्फ लागेको स्थानीयवासीको भनाइ छ । सप्तरी हुँदै उदयपुर पुगेका उनीहरूमा कोरोना पोजिटिभ देखिएपछि राति नै मस्जिदमा पुगेर जानकारी लिएका नगर प्रमुख शर्माले शनिबार आपत व्यवस्थापन केन्द्रको बैठक बसेर मस्जिद क्षेत्रको मुस्लिम टोललाई कडा निगरानीमा राखेर आवतजावत बन्द गर्ने निर्णय भएको बताए ।
‘मुस्लिम टोलमा गएर घरबाट ननिस्कन र बाहिरबाट कसैलाई आउन नदिन भनेका छौं,’ शर्माले भने, ‘सप्तकोशीमा कार्यरत नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दक्षिण सीमामा कडाइ गर्न खटाइए पछि जनशक्ति अभावमा युवाहरूलाई स्वयसेवकका रुपमा खटाइएको छ ।’ आरडीटी परीक्षणले मात्र ढुक्क हुने अवस्था नभएकाले पिसिआर प्रविधिबाट समेत स्वाब परीक्षण गर्नुपर्ने शर्माको भनाइ छ ।
संक्रमितहरूले सप्तकोसीको मस्जिदमा केही समय बिताएको पाइएपछि सिङ्गो नगरवासी त्रसित भएका छन् । संक्रमित भएपछि उनीहरू सप्तकोसी प्रवेश गरेको भए धेरै जनामा संक्रमण फैलिएको हुन सक्ने अनुमानले स्थानीयवासी भयभित भएका छन् ।