बेपत्ता युवती एक महिनापछि भेटिइन्
दैलेख : बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर २ स्थित बानीयावार जोगीगाउँ निवासी २३ वर्षीया एक युवती बेपत्ता भएको एक महिनापछि भेटिएकी छिन्।
जिल्ला प्रहरी कार्यालय दैलेखको प्रहरी टोलीले उनलाई यहाँको लोहोरे खोला नजिकै एक्लै हिँडिरहेको अवस्थामा फेला पारेको हो। उनी गत चैत्र १ गते आफ्नै घरबाट बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ। उनि घरबाटै हराएपछि परिवारले खोजतलास समेत गरेका थिए। परिवारले नभेटेपछि उनलाई दैलेख प्रहरीले वैशाख ४ गते फेला पारेको हो।
उनलाई दुई दिनसम्म बाल हेल्पलाइन १०९८, महिला बालबालिका सेवा केन्द्रमा आवासीय सुविधा सहित संरक्षणमा राखिएको बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले बताइन्।
बर्दियामा रहेका उनका बुबा र मामा लगायत आफन्त दैलेख बोलाएर उनलाई परिवारको जिम्मा लगाइएको छ। संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापा, जिल्ला प्रहरी कार्यालय दैलेखको महिला सेलका प्रतिनीधि लगाएतको उपस्थितीमा ती युवतीलाई परिवारको जिम्मा लगाइएको हो।