कारागारबाट छुटेलगत्तै विप्लव जिल्ला सेक्रेटरी पक्राउ
नुवाकोट : कारागारबाट छुटेलगत्तै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नुवाकोट जिल्ला सेक्रेटरी पुनः पक्राउ परेका छन्। उनी अदालतको आदेश बमोजिम धरौटी राखेर नुवाकोट जिल्ला कारागारबाट रिहा भएका थिए। बिन्तोष उपनामले चिनिने अशोक सिलवाल कारागारबाट रिहा भएकलगत्तै प्रहरीले पक्राउ गरेको हो। उनी योसहित चौथोपटक पक्राउ परेका हुन्।
जवरजस्ती चन्दा असुली मुद्धा खेपेका सिलवाललाई सुनसरीको धरानमा हातहतियार सम्बन्धि मुद्धामा पक्राउ गरिएको हो। सुनसरीबाट उनलाई झिकाउनका लागि आदेश बमोजिम पक्राउ गरी सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक राजेश थापाले तीन महिना अगाडि उनलाई पक्राउ गरि हिरासतमा राखिएकोमा २० हजार रुपैयाँ धरौटी राखेर रिहा भएका थिए।
उनलाई गल्छी, चितवन हुँदै सुनसरी लगिएको छ। यसअघि पुस चौथो साता ककनी गाउँपालिका-४ बाट सिलवाल पक्राउ परेका थिए। त्यतिबेला उनलाई प्रहरी टोलीसँग अभद्र व्यवहार भनिए पनि चन्दा असुली तथा एनसेल टावरमा आगजनीको आरोप लगाइएको थियो। त्यसअघि उनलाई सार्वजनिक शान्ति सुरक्षा र नैतिकता विरुद्धको कसूरमा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट म्याद लिई हिरासतमा राखिएको थियो।
उनलाई कारागारबाट छुटेलगत्तै हातहतियार खरखजाना मुद्दामा प्रहरीले पुनः पक्राउ गरी सुनसरी पुर्याइएको छ। उनी तीन वर्षअघि विदुर नपा–२ बट्टारबजारमा पत्रकार सम्मेलन गर्दागर्दै पक्राउ परेका थिए। त्यतिबेला उनी जिल्ला जनपरिषद् नुवाकोटका जनसरकार प्रमुख थिए।