उदयपुरमा मात्र कोरोना संक्रमितको संख्या १३ पुग्यो
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरे मस्जिदमा बसेका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबार विराटनगरस्थित कोशी अञ्चल अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा थप एक ६५ वर्षीय भारतीय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या १३ पुगेको छ।
संक्रमितसँगै बसेकाले थप एक जनामा कोरोना देखिनु स्वाभाविक भएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए। उनले क्वारेन्टाइनम राखिएका अन्य तीन जनामा उच्च जोखिम रहेको बताए।
मस्जिदमा बसेका १६ जनामध्ये शुक्रबार १२ जनामा कोरोना पोजेटिभ देखिएको थियो। मस्जिदमा बसेका १६ जनामध्ये १२ जना भारतीय र चार जना नेपाली रहेका छन्। त्यसमध्ये शुक्रबार ११ भारतीय र एक नेपालीमा कोरोना संक्रमण देखिएको थियो।
कोरोना संक्रमित १२ जनालाई शुक्रबार राति उदयपुरबाट मोरङको टाँडीस्थित क्वारेन्टाइनस्थलमा लगिएको थियो। शनिबार उदयपुरमा एकजनामा संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ।