बिमा कम्पनीलाई खर्च धान्न मुस्किल
काठमाडौं : कोरोनाका कारण नयाँ जीवन बिमा कम्पनीलाई खर्च धान्नै मुस्किल गर्ने अवस्था सिर्जना हुन थालेको बिमा कम्पनीका प्रमुख कार्यकारीले बताएका छन्। निर्जीवन बिमा व्यवसायका लागि सरकारले विभिन्न कानुनमा बाध्यात्मक व्यवस्था गरे पनि जीवन बिमा गर्नुपर्ने बाध्यात्मक कानुन छैन। त्यसले गर्दा अहिले जीवन बिमा ठप्प भएको छ।
‘बिमा हाम्रो समाजको प्राथमिकता सूचीमा निकै पछाडि पर्ने भएकाले अब केही समय व्यवसाय विस्तारमा समस्या हुने देखिन्छ’, आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रीचद्र भट्ट भन्छन्। उनले नयाँ कम्पनी तुलनात्मक रूपले बढी प्रभावित हुने बताए। सरकारले नै यो वर्षभन्दा आगामी आर्थिक वर्ष नेपाली अर्थतन्त्रका लागि बढी चूनौतिपूर्ण रहेको बताएको छ। बिमा कम्पनीले पनि अर्को वर्षदेखि समस्या देखिने बताउँछन्।
‘यो वर्ष त कम्पनीले साढे ८ महिना व्यवसाय गरिसकेकाले धेरै असर नपर्ला’, भट्ट भन्छन्, ‘अपेक्षा गरेजस्तो लाभांश दिन नसके पनि व्यवसाय धान्नै समस्या हुँदैन।’ तर आगामी वर्ष धने केही नयाँ बिमा कम्पनीलाई सञ्चालन खर्च धान्नै मुस्किल पर्ने जोखिम बढेको अर्को एक बिमा कम्पनीका प्रमुख कार्यकारी बताउँछन्। ‘यही अवस्था अझै ४–५ महिना लम्बिने हो भने पहिले नै बिमा गरिसकेकामध्ये धेरैले प्रिमियम तिर्न नसक्ने परिस्थिति बन्न सक्छ,’ उनी भन्छन्।
बिमा नवीकरण घट्न थाले अधिकांश नयाँ जीवन बिमा कम्पनी समस्यामा पर्नेछन्। सुरुवाति समयमा निकै सस्तो र लोकप्रिय ‘अफर’ अघि सारेर व्यवसायमा प्रतिस्पर्धा थालेका नयाँ कम्पनीले उल्लेख्य नाफा आर्जन गर्न सकेका छैनन्। त्यसमा पनि अधिकांश कम्पनीले आगामी वर्षको दायित्वलाई समेत वास्ता नगरेर बढी लाभांश वितरण गर्नेमा केन्द्रित भएको बिमा समतिका अधिकारीले बताउँदै आएका छन्।
समिति अध्यक्ष चिरञ्जीवी चापागाइँले सम्भावित जोखिमलाई नेपाली कम्पनीले बेवास्ता गरेको भन्दै गत वर्षदेखि जोखिम मूल्यांकन (एक्चुरिअल भ्याल्युएसन) गराएरमात्रै लाभांश बाँड्न पाउने प्रबन्ध गराएका थिए। आगामी आर्थिक वर्षदेखि जोखिममा आधारित सुपरिवेक्षण अघि बढाउन उनले कानूनी आधार तयार पारिसकेको बताएका छन्।
नयाँ बिमा कम्पनीको व्यवस्थापकीय नेतृत्व गर्न आएका प्रमुख कार्यकारीले पनि सुरुदेखि नै लाभांश दिने प्रतिस्पर्धा थालेका छन्। यसै कारण धेरै नयाँ जीवन बिमा कम्पनीले ‘बल्क अफर’ भनेर पहिलो वर्ष ठूलो रकम प्रिमियम लिने नीति अघि सारेका छन्। यसै पनि एक पटक बिमा गराएपछि दोस्रो वा तेस्रो पटकदेखि प्रिमियम नतिरेर बिमा त्याग्ने प्रवृत्ति नेपालमा उच्च छ।
बिमा कम्पनीका प्रमुख कार्यकारी हरेक वर्ष नयाँ बिमा गराउनेमध्ये करिब २० प्रतिशतले बिमा त्याग्ने गरेको बताउँछन्। यसरी बिमा त्याग्दा दोस्रो वर्षको किस्ता नै तिरेको छैन भने बिमा गराउने व्यक्तिले कुनै पनि प्रतिफल पाउँदैन। त्यो रकम बिमा कम्पनी र एजेन्ट मिलेर खान्छन्।
पहिलो वर्ष नै धेरै प्रिमियम लिएपछि सुरुको आम्दानी बढी हुने र कम्पनी तथा एजेन्टले ज्यादा लाभ पाउँछन्। बिमा समितिका एक अधिकृत यस्ता ‘तिकडम’ गरेर सुरुमै बढी लाभांश बाँड्न उत्प्रेरित बिमा कम्पनी अब समस्यामा पर्न सक्ने देखिएको छ। उनले बिमा समितिले अघि सारेको जोखिममा आधारित सुपरिवेक्षणको आवश्यकता यी घटनाबाट अझै टड्कारो भएको बताए। तर, आगामी वर्ष नै यस्ता नीतिगत सुधार गर्दा बिमा कम्पनीलाई भने निकै असहज परिस्थिति सिर्जना हुनसक्ने देखिएको छ।
‘एकातिर अहिले भइरहेका थुप्रै कमीकमजोरी र अनियमितता नीतिगत सुधारबाट रोकिनेछ’, ती बिमा समितिका अधिकारी भन्छन्, ‘सँगसँगै बिमा बजार पनि खुम्चिने जोखिम छ।’ यसबाट जीवन बिमा कम्पनीलाई व्यवसाय धान्न समस्या गर्नसक्ने उनले बताए। यद्यपि, पुराना कम्पनीलाई भने अहिले नै ठूलो क्षति नहुने व्यवसायी बताउँछन्। उनीहरूसँग पहिलेको आर्जन बढी छ। धेरै क्षेत्रमा लगानी गरेका कारण नियमित आम्दानीको स्रोत पनि भएकाले उनीहरूलाई तुलनात्मक रुपले कम असर पर्ने व्यवसायीले बताएका छन्।