ओली-प्रचण्ड भेटवार्ता
काठमाडौं : नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। दुई अध्यक्षबीच अविश्वास चुलिँदै गइरहेका बेला मन माझामाझ गर्ने प्रयासस्वरूप ओली–दाहालको भेटवार्ता भएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच शनिबार बिहान ११ बजेदेखि झन्डै अढाई घण्टा कुराकानी भएको थियो। नेकपाभित्र दुई अध्यक्षबीच चर्किएको अन्तरसंघर्षले सत्तारुढ दलका नेता–कार्यकर्ताबीच धु्रवीकरण बढ्दै जान थालेको छ।
पार्टीभित्र देखा परेको शक्ति संघर्ष, वामदेव प्रकरणदेखि स्वास्थ्य सामग्री खरिद प्रकरण र सर्वदलीय संयन्त्रसम्मका विषयले दुई अध्यक्षबीच प्रतिदिन अविश्वास झांगिँदै गएको थियो। यही विषयमा खुलेरै कुराकानी गर्ने र विश्वासको वातावरण निर्माणका लागि दुवै अध्यक्षले एक्लाएक्लै छलफल आवश्यक महसुस गरेका थिए।
२६ चैतको सचिवालय बैठकमा समेत नेताहरूले दुई अध्यक्षलाई छलफल बाक्लो बनाउन र आपसी विश्वासको वातावरण निर्माणका लागि सुझाव दिएका थिए। तर त्यसयता ओली र दाहालबीच छलफल भएको थिएन। प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गरेर फर्केदेखि नै ओली–दाहाल दुवैले एक्लाएक्लै छलफल गरी देखिएका समस्याका विषयमा खुलेर कुराकानी गर्ने निचोड निकालेका थिए। त्यसैको सुरुवातीका रूपमा शनिबारको छलफल भएको बालुवाटार स्रोतको भनाइ छ।
ओली र दाहालको ४ मंसिरमा कार्यविभाजन भएयता नै सम्बन्धमा खटपट देखिँदै आएको थियो। दाहालले पूर्व एमाले समूहभित्र खेलेर आफूलाई घेराबन्दीमा पार्न खोजेको भन्दै ओली दाहालसँग असन्तुष्ट छन् भने दाहाल ओलीले सरकार सञ्चालन एकलौटी गरेको र पार्टीमा पनि आफूलाई सहज काम गर्न असहज पार्न खोजेको भन्दै सन्तुष्ट हुन सकिरहेका छैनन्।
सत्तारुढ दलका पछिल्ला निर्णयमा समेत ओली–दाहालबीच मत मिल्न नसक्दा पार्टीभित्रको विवाद झांगिँदै गएको छ। ‘उहाँहरूबीच झन्डै अढाई घण्टाजति कुराकानी भएको छ तर छलफलका विषय दुई अध्यक्ष मात्रको भेटवार्ता भएकाले जानकारी हुन सकेको छैन’, दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले भने।