लकडाउनमा मर्निङ वाक गर्ने ११० जना कारबाहीमा
दमौली : लकडाउन उल्लंघन गर्दै मर्निङ वाक गर्ने दमौलीका एक सय १० जना कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले शनिबार र आइतबार गरेको कारवाहीका क्रममा ठूलो संख्याका स्थानीय बिहान पक्राउ परेका हुन् ।
दिउँसो र साँझ हिंडडुलमा कमी आए पनि बिहान भने मर्निङ वाक गर्नेको संख्या बढेपछि प्रहरीले कारवाही गरेको हो । शनिबार ४५ को हाराहारीका स्थानीयलाई प्रहरी कार्यालयमा केही समय नियन्त्रणमा राखेर छाडिएको थियो । तर आइतबार झन् धेरै निस्के पछि उनीहरुलाई करिब तीन घण्टा नियन्त्रणमा राखेपश्चात फेरि बाहिर ननिस्कने कबुलियतनामा गरेर मात्र छाडिएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए । 'मर्निङ वाकलाई हल्का रुपमा लिएर मानिस निस्कन नछाडेपछि कारवाही थालेका हौं,' उनले भने, 'अब तोड्नेको संख्या घट्ने आशा छ ।'
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि पछिल्लो समय तनहुँमा बढी कडाई थालिएको छ । राजमार्गमा आवतजावतमा कडाइ रहेकै बेला जिल्ला बाहिरबाट तरकारी र फलफूल आयातमा पनि प्रतिबन्ध घोषणा गरिएको छ ।
सहरी क्षेत्रमा बिहान र बेलुकी हिंड्ने माथि पनि प्रहरीबाट कडाई गरिएपछि लकडाउन उल्लंघनका घटना कम हुने ठानिएको छ । तर घर जानेहरु भने तनहुँस्थित पृथ्वी राजमार्गमा यदाकदा भेटिने गरेका छन् ।