भोकमरीको चपेटामा चेपाङ बस्ती

भोकमरीको चपेटामा चेपाङ बस्ती

गजुरी : दुई छोराछोरीकी आमा सिर्जना चेपाङको पेटमा अर्को पनि बच्चा छ । १२ जनाको संगोलको परिवारमा बस्ने ६ महिनाकी गर्भवती सिर्जनाले पोषिलोकुरा खाने, नियमित आइरन चक्‍की खाने, पटक पटक स्वास्थ्य संस्थामा गएर चेकचाँज गराउने त परको कुरा, भोक मेटिने गरी मिठो खानेकुरा पेटभरी खान नपाएको महिनौ भइसक्यो । आफ्नो पाखो बारीमा फलेका अन्नमध्ये अहिले मकै मात्र बाँकी छ, त्यही मकैको खोले बनाएर बिहान बेलुकाको छाक टारिरहेकी छिन् सिर्जना चेपाङ ।

सिर्जनाको जस्तै यो समस्या धादिङको गजुरी गाउँपालिका ३ चिलाउनेखर्कका चेपाङको सामूहिक समस्या हो । महाभारत पहाड क्षेत्रमा बसोबास गर्ने अधिकांश चेपाङ समुदायका घरमा यतिबेला खाद्यान्न संकट देखिएको छ । धादिङको दक्षिणी क्षेत्रको महाभारत पहाड क्षेत्रमा रहेका चेपाङ गाउँमा भोकमरीको सिजन सुरु भएको छ । 

देशभर लकडाउन छ। दैनिक ज्यालादारीमा काम गर्न सक्नेले पनि काम गर्न पाएका छैनन् । आफ्नो पाखो बारीमा भएको उब्जनी पनि सकिएको र काम गर्न पनि नपाएकाले भोकभोकै पर्न थालेका छन् । सिर्जनाले भनिन्, 'पाएको दिन सागपात र कन्दमुल पकाएर ढिडोसँग खाने हो, नपाएको दिन नुन खुर्सानीसँग ढिडो खाने बाहेक अरु केही छैन ।'

चिलाउनेखर्कका चेपाङका धेरैथोरै पाखोबारी सबैको छ। भदौताका भित्रिएको मकै र दशैपछि भित्राएको कोदो पनि सकिसकेको छ । पाखोबारीमा भएको उब्जनीले ६ महिनापनि खान पुग्दैन । बाँकी छ महिना ज्याला मजदुरी गरी किनेर खाने चेपाङमा लकडाउनका कारण बजार क्षेत्रमा काम गर्न जान नपाउँदा भोकै पो मरिने हो कि भन्ने चिन्ता थपिएको छ । 
सिर्जनाका श्रीमान कृष्णबहादुर चेपाङले भने, 'हामी १२ जनाको परिवार सँगै छौँ। सबैले खेतीपातीको सिजनभन्दा बाहेकको समय विशेषगरी हिजोआज ज्याला मजदुरी नै गरेर बिहान बेलुकाको छाकको जोहो गर्ने हो, अहिले बन्द भएकाले झन समस्या पो थपिएको छ ।'

 सिर्जना चेपाङको घर।

फागुन महिनादेखि असारसम्म अधिकांश चेपाङ गाउँ बस्तीमा अनिकाल लाग्छ । यो बीचमा काम गर्नसक्नेहरु दैनिक ज्यालामजदुरी गरेर जसोतसो आफ्नो प्राण धानिरहेका हुन्छन् तर यस वर्ष खाद्यान्न संकट सुरु हुनैथालेपछि देशभर भएको लकडाउनले सबैभन्दा बढी मार यी विपन्न चेपाङहरुमा परेको छ । 

स्थानीय सोमबहादुर चेपाङले भने, 'चैत बैशाखको यो खडेरीमा बनजंगलमा गिठ्ठा भ्याकुर कन्दमुल पनि पाइँदैन, एकथरी अन्नमा पानी हालेर खोले खानु बाहेक अरु केही बाँकी छैन ।'

४ छोराछोरीकी आमा अस्मिता चेपाङले पनि लकडाउनका कारण किनेर खान समेत नपाइएको गुनासो गरेकी छिन् । 'घरको अन्नले ५ महिना खान पुग्छ, त्यसपछि श्रीमानले काम गरेर बेसाएर खाने गरेका थियौँ ।अस्मिताले भनिन्, 'अहिले त काम पनि बन्द छ, अब घरमा अन्न सकिएपछि के खाने हो, अत्यासमा छौँ ।'

गजुरी गाउँपालिकाले पनि यी र यस्तै समस्यामा परेका परिवारको लागि भनेर खाद्यान्न वितरण गर्नको लागि फुड बैंक संचालन गरेको छ । अहिले अति नै समस्यामा परेका घरधुरीहरुको वडा वडाबाट लगत संकलन गरिरहेकाले चुलो नै बल्न छाडेको परिवारलाई पहिलो प्राथमिकतामा राखेर खाद्यान्न वितरण भइरहेको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताए । 

उनले भने, 'लकडाउन र कोरोना संक्रमणका कारण अहिलेको भन्दा भयावह स्थिति आउन सक्छ भन्ने हिसाबले अहिले हामीले खाद्यान्न संकलन तथा जोगावटको काम गरिहेका छौँ, अति नै आवश्यक परेकालाई सूचनाको आधारमा गाउँमा पुगेर वितरण पनि गरिरहेका छौँ ।'

गजुरी गाउँपालिका भित्र दलित, चेपाङ र विपन्न समुदायका मानिस धेरै नै रहेपनि लकडाउनकै कारण गाउँपालिका भित्र रहेका कसैलाई पनि भोकै मर्न नदिने गजुरी गाउँपालिकाका अध्यक्ष बस्नेतले बताए ।

चेपाङ समुदायमा देखिने खाद्यान्न संकट प्रत्येक वर्ष दोहोरिने समस्या हो । यस वर्ष लकडाउनले गर्दा थप जटिल बनाएको छ । गाउँपालिकाले पनि तत्कालिन विपतको अवस्थामा राहत वितरण गर्ने मात्रै नभइ चेपाङहरुमा हरेक वर्ष देखिने खाद्यान्न संकटको निवारण गर्नको लागि गाउँपालिकाले दिर्घकालिन योजना बनाउनु पर्ने आवश्यकता रहेको खाद्यअधिकार कर्मी राजेन्द्र बस्नेतले बताए । 

उनले भने, 'सिजनेवल राहत वितरण मात्रै भन्दा पनि उनीहरुलाई उत्पादनशील बनाउन र भएको सीपमा निखारता ल्याउन विभिन्न दीर्घकालिन योजनाहरु बनाउनुपर्छ, जस्ले गर्दा चेपाङलाई आत्मनिर्भर बनाउन सहयोग गरोस्।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.