कोरोना जित्नेको संख्या बढ्दै : चारजना डिस्चार्ज
काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) जित्ने नेपालीको संख्या बढ्दै गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म चारजना डिस्चार्ज भएका छन्। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक युवक डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या चार पुगेको हो।
यसअघि शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २७ दिनदेखि उपचार गराइरहेकी १९ वर्षीया युवती र बागलुङको धौलागिरी अस्पतालमा १८ दिनदेखि उपचार
गराइरहेकी बागलुङ नगरपालिका–३ गौंडाकोटकी ६५ वर्षीया महिला डिस्चार्ज भएका थिए। यसअघि नेपालका पहिलो कोरोना बिरामी गत माघमा डिस्चार्ज भएका थिए।मन्त्रालयका अनुसार अहिलेसम्म देशभर पीसीआर विधिबाट ८ हजार ८१ जना र आरडीटी विधिबाट २१ हजार चार सय ८६ जना गरेर कुल २९ हजार ५ सय ९७ जनाको नमुना परीक्षण भएको छ। जसमध्ये ३१ जनामा कोरोना पोजिटिभ देखिएको छ। पछिल्लो २४ घण्टामा २१ सय ९८ नमुना परीक्षण हुँदा सबैको नतिजा नेगेटिभ आएको मन्त्रालयले जनाएको छ।
सरकारले ७७ जिल्लामै आरडीटी विधिबाट परीक्षण सुरु गरेको छ भने देशभरका १५ प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण भइरहेको छ। मन्त्रालयका अनुसार पछिल्ला दिनमा क्वारेन्टाइनमा बस्नेको संख्या घट्दै गएको छ। अहिले पाँच हजार १ सय ८० जना क्वारेन्टाइनमा छन्। उपत्यका ५ र उपत्यका बाहिर ९८ गरेर १०३ जना आइसोलेसनमा उपचार गराइरहेका छन्।
उदयपुरमा शुक्रबार १२ र शनिबार एक गरेर १३ जनामा कोरोना पुष्टि भएपछि सरकारले त्यहाँ नमुना संकलनलाई तिब्रता दिएको छ। आइतबार नेपाली सेनाको हेलिकप्टरबाट नमुना संकलनका लागि चिकित्सकको टोली उदयपुर पुगेको छ।
यसअघि काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट आएको पीसीआर रिपोर्टलाई मात्र आधिकारिक मान्दै आएको मन्त्रालयले भेरिफिकेसन दायर बढाएको छ।
‘मन्त्रालयले आजबाट पीसीआर परीक्षणपछिको भेरिफिकेसन दायर बढाएको छ’, मन्त्रालयका प्रवक्ता देवकोटाले भने, ‘पश्चिममा भेरी अस्पताल र पूर्वमा बिपी कोइराला स्वास्थ्य विज्ञापनमा भेरिफिकेसन भए निश्चित गरिने छ।’ यो सँगै अब पीसीआर परीक्षणको नतिजाका लागि काठमाडौंको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएको छ।