भौगोलिक विकटताले र्यापिड टेष्टमा सकस
सुर्खेतः कर्णालीका हिमाली जिल्लामा कोरोनाको र्यापिड टेष्टमा समस्या भएको छ । भौगोलिक विकटता र छरिएका बस्तीका कारण द्रुत परीक्षण प्रभावित बनेको हो । विकटताका कारण हुम्ला, डोल्पा, मुगु, कालिकोट र जाजरकोटका बस्तीमा पुग्न कठिन हुँदा परीक्षण नै सुस्त बनेको स्वास्थ्यकर्मीले बताएका छन् ।
विकटताकै कारण द्रुत परीक्षणलाई गति दिन नसकिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।कर्णालीमा चैत २७ गतेबाट र्यापिड टेष्ट सुरु भएको हो । परीक्षण थालिएको दुई साता बितिसक्दा समेत प्रदेशभर करिब तीन हजार जनामा मात्रै र्यापिड टेष्ट भएको छ । यद्यपी कर्णालीमा बाहिरबाट करिब आठ हजारभन्दा धेरै नागरिक भित्रिएको सरकारी तथ्यांक छ ।
भौगोलिक विकटता, एकिन तथ्याकं नहुनु र किट अभावका कारण बाहिरबाट भित्रिएका सबैको र्यापिड टेष्टगर्ने कार्य प्रभावित भएको हो । किट अभावका कारण जाजरकोट र सल्यानमा हाल परीक्षण नै स्थगित गरिएको छ ।यस्तै जुम्ला, कालिकोट, दैलेख र मुगुमा खटिएका केही टोलीले परीक्षण रोकेका छन् ।
कोरोना परीक्षण गर्न कर्णाली प्रदेश अस्पतालमा स्थापना गरिएको प्रयोगशालाको पीसीआर मेसिनले भार थेग्न नसक्दा द्रूत परीक्षण प्रविधि अपनाइएको थियो । तर द्रुत परीक्षण नै सुस्त बनेपछि थप चुनौती बढेको हो । परीक्षण सुस्त हुँदा गाउँमा कोरोनाको जोखिम बढेको छ ।
'भौगोलिक विकटता मुख्य बाधक बन्यो, कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारीले भनिन्, 'मुगु, हुम्ला र डोल्पामा धेरै जटिलता छ, जहाँ एउटा टोलबाट अर्का टोलमा पुग्नै घण्टौं लाग्छ । दिनभरमा मुश्किलले ५० जनाको परीक्षण हुन्छ, अपेक्षाअनुसार काम हुन सकेको छैन ।'
विकटताकै कारण डोल्पा सदरमुकाममा किट पठाउनै एक साताभन्दा बढी समय लागेको उनको भनाइ छ । विकटताकै कारण कतिपय गाउँमा अहिले पनि किट र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् । बाहिरबाट भित्रिएका रातारात गाउँ पसेको भन्दै उनले बस्तीहरु छरिएका कारण अहिले शंकास्पदलाई खोज्नै समय लाग्ने गरेको सुनाइन् ।
निर्देशनालयका अनुसार सुगम जिल्लामा पनि बाहिरबाट आएकाको एकिन तथ्याकं छैन । उनले भनिन्, 'निर्देशनालयमा प्राप्त तथ्यांकमा एकजना मात्र भित्रिएको उल्लेख छ, तर गाउँमा पुग्दा बाहिरबाट भित्रिएका दुई÷तीन सयभन्दा धेरै मानिस भेटिन्छन् । एकिन तथ्याङक नहुँदा पनि समस्या भयो, यसले पनि केही जिल्लामा र्यापिड टेष्ट नै रोक्नु परेको हो ।'
जिल्लाले एकिन तथ्याङ्क नपठाउनु र जिल्लामा पुगेको किट पनि समानरुपले वितरण हुन नसक्दा द्रुत परीक्षण प्रभावकारी हुन सकेको छैन ।स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म सुर्खेतमा सबैभन्दा बढी अर्थात नौ सय ४८ जनाको र्यापिड टेष्ट गरिएको छ ।
किट अभाव हुँदासल्यानका चार स्थानीय तहमा र्यापिड टेष्ट भएको छैन । 'हामीलाई ६ सय किट आएको थियो, दुई दिनमै सकियो, जिल्ला अस्पतालका डाक्टर अर्जुनकुमार बुढाले भने, 'किट उपलब्ध नहुँदासम्म र्यापिड टेष्ट रोकेका छौं ।'
सल्यानका दश स्थानीय तहमध्ये चार पालिकामा र्यापिड टेष्ट गर्न बाँकी रहेको उनको भनाइ छ । जाजरकोटमा पनि दुई वटा स्थानीय तहमा र्यापिड टेष्ट गर्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । र्यापिड टेष्टका लागि कर्णालीमा थप तीन हजार किट मगाइएका निर्देशक भण्डारीले जानकारी दिइन् । विदेशबाट आएका नागरिकको एकीन तथ्यांक नहुँदा अझै पनि किट झिकाउनुपर्ने अवस्था आउनसक्ने निर्देशनालयको भनाइ छ ।