घर हिँडेका मजदुरलाई मध्यनेपालको सहयोग
बेंसीसहर : लकडाउन लम्बिँदै गएपछि कामबिहीन भएर घर हिँडेका २६ जना मजदुरलाई मध्यनेपाल नगरपालिकाले गाँस बासको व्यवस्था गरेको छ । रुकुम, सुर्खेत, सल्यानलगायतका जिल्लाका मजदुरलाई नगरपालिकाले गाँस बासको ब्यवस्था मिलाएको हो।
हिमाली जिल्ला मनाङ, लमजुङको राइनास नगरपालिका र दूधपोखरी गाउँपालिकाबाट गाउँ जान हिँडेका उनीहरु मध्यनेपाल नगरपालिकाको रामबजार पुगेका थिए । उनीहरुलाई उद्दार गरी बाँस र खानाको व्यवस्था गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर खड्काले बताए ।
गाउँ जान हिँडेका उनीहरु अलपत्र अवस्थामा देखेपछि जनप्रतिनिधि र स्थानीयले उद्दार गरेका हुन् । जिल्लाकै स्थानीय तहबाट आएपनि उनीहरुलाई कसैले रोकेका थिएनन् । उनीहरु हिँडेरै आउँदै गर्दा स्थानीय तहका विभिन्न ठाउँबाट ठूलो समूहमा नभई २÷३ जनाको समूहबाट हिँड्न भनेको बताएका छन् ।
पाँच दिन लगाएर मध्यनेपाल पुगेका उनीहरुले आफ्नै जिल्ला जाने इच्छा राखेपनि पालिकाले नै खानबस्न दिएर रोकिएको नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले बताए । रामबजारको एउटा खाली घरमा ती मजदुरलाई बास र खानाको व्यवस्था गरिएको छ ।
उनीहरु रुकुम, सुर्खेत, सल्यानलगायतका जिल्लाबाट कामका लागि लमजुङ र मनाङ आएका थिए । कामका लागि आएकोमा लकडाउन लम्बिँदै गएको र खानाको समस्या भएकाले हिँडेरै घर जाने सोचका साथ हिँडेको रुकुमका डिल्ली बस्नेतले बताए । नगरपालिकाले बस्ने, खाने व्यवस्था गरेकोमा आफूहरु खुसी भएको उनले बताए ।
जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले बाह्य जिल्लावाट आएका श्रमिकहरुको खाने वस्ने उचित व्यवस्थापन स्थानिय तहले मिलाउने निर्णय गरेको थियो । उक्त निर्णयसँगै मध्यनेपाल नगरपालिकाले उक्त व्यवस्था गरेको जनाएको छ ।
रुकुम, सुर्खेत र सल्यानका १० जना राइनास नगरपालिकाको माथिल्लो क्षेत्रमा काम गर्थे । सोही पालिकाको तल्लो क्षेत्रमा थप ८ जना कार्यरत थिए । मर्स्याङदी गाउँपालिकाका विभिन्न स्थानमा काम गर्ने ८ जना गरी २६ जनाको टोली पनि गाउँ जान लामो यात्रा तय गरि हिँडेका छन् ।
उनीहरु लमजुङको बेंसीसहर, सुन्दरबजार, भोर्लेटारहुँदै पोखराबाट बाग्लुङहुँदै रुकुम पुग्नेगरी यात्रा तय गरेका छन् । उनीहरुलाई यसअघि स्थानीय तहले राहत दिएको थियो । तर राहत सकिएपछि गाउँ हिँड्न बाध्य भएको उनीहरुले बताएका छन् ।