मन्द मन्द छन्दको सुगन्ध
काठमाडौं : कोरोना महामारीका कारण लकडाउन नभएको भए सोमबार विभिन्न कार्यक्रम गरेर छन्द दिवस मनाइन्थ्यो। तर लकडाउनका कारण केही स्रष्टाले फेसबुकमा छन्द कविता पोस्ट र वाचन गरेर यसको औपचारिकता पूरा गरे।
छन्द दिवसको शुभकामना भन्दै संगीतकार तथा गायक सन्तोष श्रेष्ठले दामु मर्सिफुलको परदेशीको पीडा शीर्षकको रचना शार्दूलविक्रीडित छन्दमा वाचन गर्दै फेसबुकमा पोस्ट गरेका छन्। राधिका अधिकारीले छन्द कविता आफूलाई निकै मन पर्ने भन्दै दामु मर्सिफुलकै रचना वाचन गरेकी छन्।
उता भगवती पाण्डेले सूक्ष्म भाइरस शीर्षकको कविता तोटक छन्दमा वाचन गरेकी छन्। डा. रामप्रसाद ज्ञवाली, कृष्णसिंह पेला, कमलमणि देवकोटा, गोर्खे साइँलो, कलानिधि दाहाललगायतले पनि विभिन्न छन्दमा कविता पोस्ट गरेका छन्। निष्ठुरी चिजको कोरोनासम्बन्धी थारू कविता शार्दूलविक्रीडित छन्दमा कविता काव्यले वाचन गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। नेपाल संगीत नाट्य प्रतिष्ठानका प्राज्ञ धीरेन्द्र पे्रमर्षिले मैथिलीमा छन्द कविता लेख्न, वाचन गर्न मैथिल भाषीलाई अनुरोध गरेका छन्। यसले मातृभाषामा पनि छन्दले पाइला टेक्न थालेको देखिन्छ। यी केही प्रतिनिधि उदाहरण मात्र हुन्।
शक्तिवल्लभ अज्र्यालद्वारा १८३९ सालतिर रचिएको भनी अनुमान गरिएको कविता ‘तनहुँ भकुण्डो’ लाई प्रथम नेपाली छन्द कविता मानिँदै आएको छ।
कविता साहित्यमा छन्दको प्रयोग घट्दै गएका कारण पोखराका कवि माधव वियोगीले २०५३ साल वैशाख ८ मा छन्द बचाउ अभियान सुरु गरेका थिए। कवि वियोगीले घोषणापत्र सार्वजनिक गर्दै अभियान सुरु गरेकोमा सोही दिन हरेक वर्ष छन्द दिवसका मनाउन थालिएको हो। नेपाल सरकार पञ्चाङ्ग निर्णायक समितिले पनि वैशाख ८ लाई छन्द दिवसका रूपमा मनाउन सहमति दिएको थियो।
छन्द भनेको लय हो। सामान्य भाषामा छन्द लय मिलाएर कृति लेख्ने वा वाचन गर्ने तरिका हो। वर्ण र मात्राको गेय व्यवस्था छन्द हो। लय मिलाएर वाचन गरिएका कविता सुन्दा श्रोता मन्दमुग्ध हुन्छन्।
छन्द लेखन र वाचनमा रुचि राख्ने डा. रामप्रसाद ज्ञवालीका अनुसार नेपाली साहित्यमा पहिलो नेपाली छन्द कविका रूपमा शक्तिवल्लभ अज्र्याललाई मनिन्छ। उनीद्वारा १८३९ सालतिर रचिएको भनी अनुमान गरिएको कविता ‘तनहुँ भकुण्डो’ लाई प्रथम नेपाली छन्द कविता मानिँदै आएको छ। २०५० को दशकपछि यो शैलीको कविता लेखनमा पुनर्जागरण आएको देखिन्छ।
नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको रामायण पनि छन्दमा लेखिएको छ। रामायणमा शार्दुलविक्रीडित र शिखरिणी छन्दको प्रयोग अधिक छ। यी छन्दहरू संस्कृतका छन्द हुन्। पछि लेखनाथ पौड्याल, माधव घिमिरेलगायतले छन्दमा टेवा दिए।
छन्द कविताका अभियन्ता वियोगी छन्द नयाँ चिन्तन र नयाँ परिपाटीका लागि आधारशिला बनेको मान्दछन्। पुरानो वस्तु त्याग्ने वा छन्दलाई पुरानो मान्ने हो भने हामी बसेको घर र पृथ्वी पनि पुरानो भएको छ। जसरी पुरानो घर र पृथ्वी उपयोगी छन्। त्यसरी नै छन्द पनि आवश्यक छ भन्ने मान्यताको विकास अभियानले गरेको उनको ठम्याइँ छ।
वियोगीले छन्द जोगाउन २०६० सालबाट महाकाव्यलेखन अभियान पनि सुरु गरेका छन्। उनको एकल प्रयासबाट सुरु भएको आन्दोलन साझा आन्दोलन बनेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ देवी नेपाल छन्द प्रशिक्षणका विभिन्न कार्यक्रममा सहभागी हुन्छन्। उनले छन्द बचाउने अभियानसँग प्रज्ञा प्रतिष्ठान सहकार्य गरेर अघि बढ्ने बताए। प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष आफ्नो जन्मोत्सवमा आयोजना गर्ने टप पाँच कवितामा छन्द कवितालाई पनि समेट्ने गरेको छ।
अनिल पौडेलको संयोजनमा विभिन्न स्रष्टा तथा गायकको स्वरमा छन्दको सुगन्ध नामक एल्बम बजारमा आएको छ। रूपन्देहीका कवि बमबहादुर थारूले थारू स्रष्टाका लागि छन्दमा कसरी कविता लेख्ने भनेर छन्दकुमारी पुस्तक प्रकाशित गरेका छन्।
छन्द जोगाउने प्रयास भइरहे पनि समग्रमा छन्दको सुगन्ध मन्द भइरहेको छ। नेपाली संगीतमा ¥याप गीत आएपछि युवामाझ छन्द झन् ओझेलमा परेको छ।