खेतमा जान वडाको सिफारिस
टीकापुर : कैलाली टीकापुर–८ का किसान जितबहादुर चौधरी आफ्नो खेतको गहुँ काट्न भनेर अघिल्लो साता सत्तीघाट पुल पुगे। श्रीलंका भन्ने ठाउँमा डेढ बिघामा गहुँ छरेका उनी बाली उठाउन चारपटक जान खोजे। सत्तीघाटको पूर्वी क्षेत्रमा खटिएका सुरक्षाकर्मीले चारै पटक फिर्ता पठायो।
‘हामी चारपटक गयौं। जति अनुरोध गर्दा पनि हामी खेतसम्म जान पाएनौं’, उनले भने, ‘जाऊँ सुरक्षाकर्मी छन्, फिर्ता पठाउँछन्। नजाऊँ त वर्षभरिलाई खानका लागि लगाइएको गहुँ बाली सखाप हुने। हामी निकै समस्यामा छौं।’
कर्णाली नदीले तीन दिशाबाट घेरिएको छ, श्रीलंका। दक्षिणमा भारतीय सीमा र पूर्वतर्फ बर्दियाको घना जंगल छ। टापुजस्तै भएकाले त्यो ठाउँको नाम श्रीलंका राखिएको हो। त्यहाँ टीकापुरका किसानले झन्डै ३ हजारभन्दा बढी बिघा जमिनमा खेती गर्छन्।
कुनै बेला बाक्लो बस्ती रहेको उक्त ठाउँ बर्सेनि कटानमा परेपछि त्यहाँ ५५ घर मात्रै बसोबास गर्छन्। ३ हजार बिघा जमिनमा किसानले गहुँ, तोरी, मसुरो, मेन्था र उखु खेती गरेका छन्।
सत्तीघाट पुल भएर त्यो ठाउँ जानुपर्छ। त्यहाँ बर्दियाको कुनै पनि बस्ती पर्दैन। बर्दिया र कैलालीको सिमानामा पर्ने सत्तीघाट पुलबाट दक्षिणतर्फ झन्डै ३० मिटरजति भूभाग बर्दियामा पर्छ। किसानलाई यही भूभागमा टेक्न सुरक्षाकर्मीले रोक लगाएपछि उनीहरूले आफ्नै खेतसम्म जान नपाएका हुन्।
वडा नम्बर ८ कै हर्क बुढालाई पनि सत्तीघाट पुलबाट सुरक्षाकर्मीले फिर्ता पठायो। उनी विकल्पका रूपमा कर्णाली नदीमा सानो डुंगा तरेर खेतमा पुगे। ‘चार बिघामा लगाएको गहुँ एक्लै काट्ने हिम्मत भएन। फेरि डुंगा चढेरै घर फर्किएँ’, उनले भने, ‘आफ्नै खेतमा जान समेत नपाएपछि हामी हैरान भयौं।’
चौधरी, बुढालगायत अन्य किसानले वडाध्यक्ष दीर्घ ठकुल्लालाई श्रीलंका जान नपाएको गुनासो गरे। ‘प्रहरीसँग छलफल गरौं’ भन्दै गएका वडाध्यक्ष ठकुल्लालाई सुरक्षाकर्मीले श्रीलंका टापु जान दिएनन्।
‘हामी जनप्रतिनिधिलाई त सुरक्षाकर्मीले जान दिएनन्, गहँु काट्ने किसानको के कुरा ? ’, उनले भने, ‘हामीले बर्दियाका सीडीओ, एसपी, राजापुर नगरपालिकाका मेयरसँग कुरा गर्दा पनि सहज हुन सकेन।’
पटक–पटक छलफल र आग्रह गरेपछि श्रीलंका जान किसानले वडाको सिफारिस लिनुपर्ने भएको छ। ‘विपद्का बेला सुरक्षित तवरले गहुँ खेती स्याहार्न जान्छौं भन्दा पनि रोकेपछि हामीले पटक–पटक छलफल गर्यौं’, उनले भने, ‘अहिले श्रीलंका जाने किसानलाई वडाबाट सिफारिस दिएका छौं। किसानले गहुँ काट्न जानका लागि सिफारिस लिएर जानुपर्छ।’
कैलालीमा कोरोना संक्रमित पुष्टि भएसँगै बर्दिया प्रवेशमा सुरक्षाकर्मीले कडाइ गरेका थिए। वडाबाट सिफारिस लिएर किसानहरू श्रीलंकामा रहेको गहुँ खेती स्याहार्न जान थालेका छन्।