कालिकोटमा सुपथ मुल्य पसल संचालनमा
कालिकोट : जिल्लाको रास्कोट नगरपालिकाले नागरिक सहायताका लागि सुपथ मुल्य पसल संचालनमा ल्याएको छ । विश्वभरी महामारीका रुपमा फैलिदै गएको कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउन अवधि बढाएपछि नगरले नागरिक सहायताका लागि सुपथ मुल्य पसल संचालनमा ल्याएको हो ।
नगरले लकडाउनका बेला खाद्यान्न तथा दैनिक उपभोग्य सामान अभाव हुन नदिन तथा स्थानीय बजारमा हुनसक्ने कालो बजारी तथा मुल्य वृद्धि नियन्त्रण गर्न सुपथ मुल्य पसल संचालनमा ल्याएको सूचना अधिकृत उमाकान्त न्यौपानेले जानकारी दिए ।
उनका अनुसार गाउँमा काम गरी खाने परिवारले बजारबाट महंगो मुल्यमा खाद्यान्न खरिद गर्न नसक्ने भएकाले नगरपालिकाले सबैको सहजताका लागि सुपथ मुल्य पसल खोलेको हो ।
दैनिक उपभोग्य सामानको सहज आपूर्ति तथा नागरिक सहायताका लागि सुपथ मुल्य पसल तत्काल सुरु गरिएको रास्कोट नगरपालिका प्रमुख कासीचन्द्र बरालले बताए । उनले भने,' गाउँमा दैनिक उपभोग्य वस्तुको अभावका साथै मुल्य निकै चर्को छ । नगरपालिकाले १ हजार ८० विपन्न परिवारलाई राहत वितरणसँगै न्यूनतम मुल्यमा सबै किसिमका दैनिक उपभोग्य सामानहरु पाउने पसल सुरुवात गरिएको हो ।'
यसले नगरपालिका भरीका २ हजार ८ सय घरधुरीलाई ठूलो राहत हुनेछ । उनले भने, 'रास्कोट नगरपालिका र हिम्चुली कृषि सहकारी संस्थाको साझेदारीमा पसलको सोमबारबाट सुरु भएको छ । यसमा नगरपालिकाले तय गरिदिएको मुल्यमा सामान बिक्री वितरण हुनेछ।'
यसलाई दीर्घकालिन रुपमा निरन्तरता दिने नगरपालिकाको तयारी छ।सुपथ मुल्य पसलमा मुल्य सूची पनि सार्बजानिक गरिएको हिम्चुली कृषि सहकारी संस्थाका बरिष्ठ प्रवन्धक रुपेन्द्र ऐडीले बताए । उनका अनुसार मोटो चामल प्रति बोरा १ हजार ४ सय ७५, मसिनो चामल प्रति बोरा १ हजार ८ सय ५०, दाल मसुरो प्रति किलो १ सय ५०, तेल तोरी प्रति पाकेट ९५ रुपैयाँ, तेल स्वायविन प्रति पाकेट ८५ रुपैयाँ, साबुन प्रति गोटा ३५ रुपैयाँ, साबुन लुगाधुने प्रति गोटा २० रुपैयाँका दरले मुल्य सूची सार्वजानिक गरिएको छ ।
जसअनुसार मोटो चामल प्रति किलो ५० रुपैयाँ पर्छ भने मसिनो चामल प्रति किलो ७४ रुपैयाँ पर्छ । स्थानीय बजारका पसलमा मोटो चामल ३० किलोको बेरा १ हजार ६ सय, मसिनो चामल २५ किलोको एक बोराको १ हजार ९ सय ५०, तेल १ सय २० रुपैयाँसम्म पर्छ । नगरले संचालन गरेको सुपथ मुल्य पसलका कारण स्थानीय बजारमा भएको मुल्य वृद्धि आफै नियन्त्रण हुने नगरपालिकाले जनाएको छ ।