अर्घाखाँचीमा तरकारी, मासु र अण्डा आयातमा प्रतिबन्ध
सन्धिखर्क : अर्घाखाँचीमा बाहिरी जिल्लाबाट तरकारी, फलफुल, मासु र अण्डाको आयातमा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरस सक्रमण जोखिमबाट बच्न र बचाउन भन्दै अन्तर जिल्लाबाट हुने तरकारी, दूध जन्य पदार्थ, मासुजन्य पदार्थ खरिद तथा बिक्रीमा रोक लगाएको हो ।
व्यापारीहरुले तराईका जिल्लाको नाम दिँदै भारतबाट तरकारी, फलफुल, मासु र अण्डा जिल्ला भित्र्याएर बेच्ने गरेका कारण कोरोना भित्रने भएको भन्दै सन्धिखर्कमा बसेको सर्वपक्षीय बैठकले खरिदबिक्रीमा प्रतिबन्ध लगाएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासेले बताए ।
कृषि र खाद्यान्न लगायत अत्यावश्यक बस्तुको उत्पादन तथा सहजताको वातावरण सिर्जना गर्ने तर भारत तथा अन्य जिल्लाबाट आउने तरकारी, फलफुल, मासु र अण्डा आयातमा प्रतिबन्ध लगाएको हो ।
सामाजिक दुरी कायम राख्दै सुरक्षित रहेर जिल्ला भित्रका विकास निर्माणका आयोजना संचालन गर्ने पनि बैठकले निर्णय गरेको छ । जसका लागि निर्माण व्यवसायीलाई आग्रह गर्ने पनि निर्णय भएको छ ।
अर्घाखाँची जिल्लाका सांसदहरूले कोरोना भाइरस नियन्त्रण र जिल्लाको अवस्थाबारे जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरुसँग जिल्लाको पछिल्लो अबस्थाबारे अलगअलग बैठक तथा छलफल गरेर यस्ता निर्णयहरु गरिएको हो ।
छलफलमा जिल्लामा कोरोना भाइरस नियन्त्रणको निम्ति गरिएका प्रयासहरु, स्वास्थ्य सामग्रीको अवस्था,दैनिक उपभोग्य सामाग्रीको सहज आपूर्ति , विकास निर्माण लगायतका विषयमा छलफल भएको थियो ।
छलफलमा छिमेकी देश भारत र नेपालको सिमा नाकाहरुमा रहेका जिल्ला बासिहरुको स्वास्थ्य उपचार, गाँसबासको उचित प्रबन्ध गर्न तथा निजहरूलाई आवस्यक प्रक्रिया पूरा गरी जिल्लामा ल्याउने वातावरण सिर्जना गर्न सरकारलाई अग्रह गर्ने निर्णय गरेको छ ।
जिल्लामा क्रियाशील राजनितीक दलको बैठकले कोरोना भाइरस नियन्त्रणको निम्ति सरकारद्वारा गरिएका प्रयासहरु प्रसंसनीय रहेको बताउँदै सरकारद्वारा जारी लकडाउन लगायतका निर्णयहरु कडाइका साथ लागु गर्ने निर्णय गरेको छ ।
बैठकले कोरोना भाइरस नियन्त्रणको निम्ति ३ वटै तहका जनप्रतिनिधि ,सुरक्षा निकाय,स्वास्थ्यकर्मी,राष्ट्र सेवक कर्मचारी ,संचारकर्मी,नारिक समाजले खेलेको भुमिकाको उच्च सम्मान गर्दै अझै एकताबद्ध भइ व्यवस्थित रुपमा काम गर्न सबै निकायलाई आग्रह गरेको छ ।
छलफलमा प्रतिनिधिसभाका सदस्य टोपबहादुर रायमाझीले सरकारको निर्देशन ,स्वास्थ्य कर्मीहरुको सुझाव तथा आत्म अनुशासनमा रहेमा कोरोना भाइरसको संक्रमणबाट सहजै बच्न सकिने बताए । उनले जिल्ला स्थित राजनीतिक दलहरूको सोंच बुझ र उच्च कार्यदक्षताका कारण हरेक समस्यालाई सहजै पार गरेको बताउँदै सबैको एकताबाट कोरोनालाई पनि परास्त गर्न सकिने दावी गरे ।